दामोदरकुण्ड पदमार्ग र गुरुसाङ्वो गुफा जोड्ने २ झोलुंगे पुलको सर्भे
भर्सा खोलामा झोलुंगे पुल स्थापना भएमा करिब ४ घण्टाको पैदल यात्रा दुरी छोटिने

जोमसोम ।
मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको दामोदरकुण्ड पदमार्ग र थासाङको गुरुसाङ्वो गुफा जाने पदमार्ग २ वटा झोलुंगे पुलको बुधबार डिपिआर सर्भे गरिएको छ । सहरी विकास मन्त्रालय अन्तर्गत स्थानीय पूर्वाधार विभाग सस्पेन्सन ब्रिज डिभिजनका प्राविधिक इन्जिनियर लगायतको टोली उक्त स्थानमा पुगेर २ झोलुंगे पुलको डिपिआर सर्भे गरेको हो ।
प्रतिनिधि सभा सदस्य देवीप्रकाश भट्टचन, पूर्व प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचन र लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टको पहलमा ब्रिज डिभिजनको प्राविधिक टोली मुस्ताङ आएको हो ।
पुल डिपिआर सर्भेका लागि काठमाडौंबाट प्रभुको हेलिकोप्टरमार्फत प्रतिनिधि सभा सदस्य भट्टचनसहित डिभिजन प्रमुख कुमार थापा, इन्जिनियर प्रवेश रेग्मी र इन्जिनियर गोपालबहादुर थापा मुस्ताङ आएका थिए ।
ब्रिज डिभिजनको प्राविधिक टोली मुस्ताङको उच्चस्थानमा रहेको मुस्ताङको पवित्र धार्मिकस्थल दामोदरकुुण्ड जाने पदमार्ग सडकमा पुल सर्भे गर्न हेलीमार्फत त्यहाँ पुग्यो । उनीहरुले उक्त पखमार्गको भर्सा खोलामा झोलुंगे पुलको डिपिआर सर्भे गरेका हुन् ।
दामोदर कुण्ड तीर्थयात्राका लागि त्यस पदमार्गको भर्सा खोलामा झोलुंगे पुल स्थापना भएमा करिब ४ घण्टाको पैदल यात्रा दुरी छोटिने जनाइएको छ । दामोदरकुण्डको भर्सा खोला समुन्द्री सतहदेखि करिव ५ हजार १०७ मिटरको अग्लो उचाइमा रहेको र त्यहाँ पुल निर्माणका लागि प्रारम्भिक गृहकार्य भईरहेकाले डिपिआर सर्भे अघि बढाइएको सस्पेन्स ब्रिज डिभिजन प्रमुख कुमार थापाले जानकारी दिए ।
‘यो सर्भे र डिपिआर दुबै हो, डिपिआर फाइनल भएपछि योजना छनोटका लागि अघि बढ्छ,’ डिभिजन प्रमुख थापाले भने, ‘आगामी आर्थिक वर्ष पुलको योजना रातो कितावमा समावेश हुने र त्यसपछि अर्थ मन्त्रालयले स्रोत सुनिश्चित गरेपछि पुल निर्माणको ठेक्का अघि बढ्ने छ ।’
दामोदरकुण्ड पदमार्गको भर्सा खोलामा करिव ४६० मिटर लामो पुलको आवश्यकता पर्ने अर्को इन्जिनियर प्रवेश रेग्मीले बताए । उनले समुद्री सतहको उच्च उचाईको क्षेत्रमा पुल निर्माणका लागि डिपिआर सर्वे भएको जनाए । ‘डिपिआर सर्भे भयो, यसको डिपिआर बन्न ३ महिना लाग्छ,’ उनले भने, ‘त्यसपछि योजना अघि बढाउन सहज हुन्छ, हामीले यस योजनालाई निकै महत्वका साथ लिएका छौं ।
भगवान विष्णुको वासस्थानको रुपमा रहेको प्रसिद्ध धार्मिकस्थल दामोदरकुण्ड जोमसोम—कोरला राजमार्ग हुँदै चराङ पुगेर तल झर्नुपर्छ । यारा हुँदै पैदलमार्ग हुँदै दामोदरकुण्ड पुग्न करिब ९ घण्टाको समय लाग्छ । भर्सा खोलामा पुल नहुँदा दामोदकुण्ड जाने धार्मिक पदयात्री उकालो र आरोलो झर्नु पर्ने हुँदा दुरी लम्बिएको हो ।
पुल बनेपछि ९ घण्टाको पदयात्रा ५ घण्टामा पूरा गर्न सकिने लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उल्लेख गरे । उनले दामोदकुण्ड जाने भर्सा खोलामा झोलुंगे पुलको आवश्यकता रहेको सुनाए ।
यसै गरी मुस्ताङको थासाङ गाउँपालिका—२ नाउरिकोट—गुरुसाङ्वो जोड्ने अर्को एक झोलुंगे पुलको पनि डिपिआर सर्भे भएको प्रतिनिधि सभा सदस्य देवीप्रकाश भट्टचनले जानकारी दिए । उनका अनुसार गुरु पद्मसम्भव ध्यान गरेर बसेको धार्मिक गुफा जाने पदयात्रीको सहजताका लागि त्यहाँ पुल निर्माणको प्रक्रिया अघि बढेको बताए । उनका अनुसार सस्पेन्स ब्रिज टोलीका प्राविधिक इन्जिनियरले त्यसस्थानमा पुगेर डिपिआर सर्भे गरेका हुन् ।
थासाङको नाउरिकोट—गुरुसाङ्वो गुफा जोड्ने पुल निर्माणको डिपिआरका लागि प्रतिनिधिसभा सदस्य देवीप्रकाश भट्टचनसहित पूर्व प्रतिनिधि सभा सदस्य प्रेमप्रसाद तुलाचन, लोघेकर दामोदरकुुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्ट र थासाङ—२ का वडाध्यक्ष गौतम शेरचनसहित प्राविधिक ईन्जिनीयरको टोली त्यसक्षेत्रमा पुगेको थियो । त्यहाँको प्रारम्भिक सर्वेमा करिव ४७० मिटर लामो झोलुंगे पुलको आवश्यकता महसुस गरिएको छ ।
थासाङको नाउरिकोट—गुरुसाङ्वो जोड्ने झोलुङ्गे पुल निर्माणका लागि यसअघि नै रातो किताबमा योजना समावेश भइसकेको छ । डिपिआर फाइनल भएपछि पुल निर्माणका लागि बजेट सुनिश्चिताको प्रक्रिया अघि बढ्ने सस्पेन्सन ब्रिज डिभिजनले बताएको छ ।
डिभिजन टोलीले दुबै स्थानमा पुल निर्माणको प्रक्रिया आगामी आर्थिक वर्षदेखि कार्यान्वयनमा ल्याउने गरी प्रक्रिया अघि बढाइने बताइएको छ । नाउरिकोट—गुरुसाङ्वो जोड्ने झोलुंगे पुल निर्माण भएमा करिब आधा घण्टाको पैदल उकालो दुरी छोटिने जनाइएको छ ।
मुस्ताङको दामोदरकुण्ड र थासाङमा झोलुंगे पुलको डिपिआर सर्भेका लागि प्रतिनिधि सभा सदस्य देवीप्रकाश भट्टनको हेली प्रयोग गरिएको थियो । प्रतिनिधि सभा सदस्य भट्टचनले आफ्नो जन्म मुस्ताङमै भएको र यहाँको विकासमा आफ्नो सक्दो सहयोग रहने बताए ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया