ल्होछार शुभकामना दौडमा ताङतिङ दूधपोखरी प्रथम

पोखरा । तमु समुदायको अग्रणी सामाजिक संस्था तमु धिं नेपालले सप्ह्री ल्हो (सर्प वर्ग) तमु ल्होछार आगमनको क्रममा पोखरामा पुस १३ गते आयोजित ल्होछार शुभकामना सडक दौड प्रतियोगितामा ताङतिङ दूधपोखरी, सोनम, अनिता र क्या. भक्तराज गुरुङ प्रथम भएका छन् ।
तमु धिं नेपालद्वारा आयोजित ३ दिने ल्होछार कार्यक्रम अन्तर्गत पहिलो दिन तमु धिं नेपाल केन्द्रिय युवा समितिको संयोजनमा सम्पन्न दौडमा अन्तरसमाजमा ताङतिङ दुधपोखरी तमु समाज प्रथम हुँदै २० हजार, रनिङ सिल्ड, दोस्रो भएको चिउली पाचे तमु समाजले १५ हजार र तेस्रो हुँदै नौलो सम्झना तमु समाज १० हजार रुपैयासहित पुरस्कृत भएको छ ।
यसरी नै १० किमी खुलामा सोनम गुरुङ प्रथम, सायल गुरुङ र सुजन गुरुङ दोस्रो, रामकुमार गुरुङ र केभिन गुरुङ तेस्रो र दिलप्रसाद गुरुङ चौथो हुँदै १५, १०, ७ र ३ हजार रुपैयाँसहित पुरस्कृत भए ।
यस्तै गरी ५ किमि महिलामा अनिता गुरुङ प्रथम, बियन्का गुरुङ दोस्रो, सरस्वती गुरुङ तेस्रो र अरुणा गुरुङ चौथो हुँदै ७, ५, ३, २ हजार रुपैयासहित पुरस्कृत बनेको छ । ५ किमि भेट्रान्सतर्फ क्याप्टेन भक्तराज गुरुङ प्रथम, भीमसेन गुरुङ दोस्रो, दिलीप गुरुङ तेस्रो र दिलु गुरुङ चौथो हुँदै ७, ५, ३, २ हजारसहित पुरस्कृत भए ।
मुह्री ल्हो (गिद्ध वर्ग)को विदाईसँगै सप्ह्री ल्हो (सर्प वर्ग) आगमनको अवसरमा आयोजित ल्होछार शुभकामना दौडमा १४ देखि ८० वर्षका धावकहरुको सहभागिता रहेको प्रतियोगिता संयोजक चोकबहादुर गुरुङले जानकारी दिए ।
कार्यक्रममा प्रदेससभा सदस्य सरस्वती गुरुङले ल्होछारको शुभकामना ब्यक्त गरिन् । कार्यक्रम तमु धिं नेपालका कार्यवाहक अध्यक्ष सुमे श्रीप्रसाद गुरुङको अध्यक्षता, प्रथम उपाध्यक्ष गीमाया गुरुङको स्वागत र केन्द्रीय युवा समिति अध्यक्ष रमेश गुरुङको सञ्चालनमा भएको थियो ।
तपाईको प्रतिक्रिया