घलेल ल्होछार उत्सव सकियो, घान्द्रुक किम्चेलाई भलिबलको उपाधि

समाधान संवाददाता २०८१ पुष २३ गते २१:०८

पोखरा। तमु समुदायको मुख्य पर्व ल्होछारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८÷९ स्थित घलेलमा सम्पन्न २६औं घलेल ल्होछार उत्सवमा पुरुषतर्फको भलिबलको उपाधि घान्द्रुक किम्चेले जितेको छ।

Advertisement

आज भएको फाइनल खेलमा धम्पुसलाई ३–० को सोझो सेटले पराजित गर्दै घान्द्रुक किम्चेले उपाधि जितेको हो।
उपाधिसँगै घान्द्रुक किम्चेले नगद रु. ६५ हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे।

यस्तै, उपविजेता बनेको धम्पुसलाई नगद रु. ४५ हजार पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए।

उक्त प्रतियोगिताबाट किम्चेका सचिन नेपाली सर्वश्रेष्ठ खेलाडी घोषित भए। उनले गो बन्जी नेपालबाट बन्जी जम्पको अवसर प्राप्त गरे।

यस्तै, महिलातर्फ एलिट भलिबल प्रशिक्षण केन्द्र नदीपुरले हर्स राइडर समूह छोम्रोङलाई २–० को सोझो सेटमा पराजित गर्दै एलिट च्याम्पियन बन्यो।

Advertisement

उनीहरूले क्रमशः ३० हजार, २० हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरे। सो खेलबाट एलिट भलिबलकी पूजा सेन ठकुरी सर्वश्रेष्ठ खेलाडीका रुपमा पुरस्कृत बनिन्।

यस्तै, प्रौढतर्फ युनाइटेड किङ्स क्लबले छारमेन्दो तक्रोलाई २–१ को सेटले हराउँदै किङ्स विजयी बन्यो। उनीहरूले क्रमशः बोका (ठुलो) र उपविजेताले बोका (सानो)सँगै ट्रफी, मेडल र प्रमाणपत्र हात पारे।

उक्त विधामा किङ्सका राम छन्त्याल सर्वश्रेष्ठ खेलाडीका रुपमा पुरस्कृत भए।

घोडा दौडतर्फ घान्द्रुकका हितमान गुरुङ च्याम्पियन बने। लुम्रेको पाउँखोलादेखि घलेलसम्मको दूरी घान्द्रुकका गुरुङले ८ मिनेट २७.७४ सेकेन्डमा पार गरे।

यस्तै गरी विवेक पुन (८ मिनेट ३१.५७ सेकेन्ड) द्वितीय बने। भने, घान्द्रुकका विनोद थापा (८ मिनेट ५०.५० सेकेन्ड) तृतीय बने।
प्रथम, द्वितीय र तृतीय बनेका उनीहरूले क्रमशः नगद रु. ४० हजार, २० हजार र १० हजारसहित प्रमाणपत्र प्राप्त गरे।

यस्तै, सामूहिक नृत्यतर्फ डिडी नृत्य प्रशिक्षण केन्द्र बगर विजयी बन्यो भने, पूर्णीमा साँस्कृतिक कला केन्द्र उपविजयी बन्दै क्रमशः ३० हजार र २० हजार तथा प्रमाणपत्रसहित पुरस्कृत भए।

उनीहरूलाई समापन समारोहका प्रमुख अतिथिसमेत रहेका माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष मिनबहादुर गुरुङ, वडा ८ का वडाध्यक्ष राम गुरुङ, वडा ९ का वडाध्यक्ष राजेन्द्र क्षेत्री, वडा ६ का वडाध्यक्ष टेकनाथ गौतम, समाजसेवी बमबहादुर गुरुङ (नगद रु. १ लाख सहयोग), क्लबका सल्लाहकारहरू, सहयोगी दाताहरू लगायतले पुरस्कार वितरण गरे।

बौद्ध सृजना युवा क्लबको आयोजनामा गत १५ गतेबाट सुरु भएको उत्सवमा यसअघि खुला सामूहिक नृत्य प्रतियोगिता, घोडा दौड लगायतका प्रतियोगिता सम्पन्न भइसकेका छन्। भने, चर्चित लोक तथा दोहोरी गायक चिज गुरुङ, गायिका मधु थापामगर तथा बालकाशी गुरुङ लगायतले सांगीतिक प्रस्तुति दिएका थिए।

तपाईको प्रतिक्रिया