राष्ट्रिय औद्योगिक व्यापार मेलामा जडिबुटीदेखि सुकुटीसम्म

पोखरा । पोखरा ३१, सुन्दरीडाँडा क्षेत्र जैविक विविधताले भरिपूर्ण छ । त्यहाँ विभिन्न प्रकारका जडीबुटी पाइन्छन् । स्थानीय जयबहादुर थापा वरपर पाइने जडीबुटी संकलन गर्छन् र तिनलाई बजारसम्म पुर्याउँछन् । सितल जडीबुटीको नामबाट उनले यो व्यवसाय गर्न थालेको लामै समय भयो ।
कतै मेला/महोत्सव आयोजना भयो भने उनी गुदरगानोदेखि विभिन्न खाले जडीबुटी प्रदर्शन र बिक्री गर्छन् । पोखराको नयाँबजारमा जारी ३३ औं संस्करणको राष्ट्रिय औद्योगिक व्यापार मेलामा उनी भन्दै थिए, ‘यी जडीबुटीले तपाईंलाई केही बेफाइदा गर्दैन । खाँदा साडइ इफेक्ट पनि हुँदैन । स्वस्थ रहन जडीबुटी खानुहोस् ।’
राष्ट्रिय औद्योगिक व्यापार मेलामा कृषिसँग सम्बन्धित २५ वटा स्टल छन् । तीमध्ये धेरैजसोलाई निःशुल्क प्रदर्शनी एवं बिक्रीको व्यवस्था मिलाइएको छ
उनको स्टलमा रहेका थरिथरीका जडीबुटीप्रति अवलोकनकर्ताले विशेष चासो राखेका छन् । ‘सबैले जडीबुटी चिन्दैनन्, त्यसको उपयोगिता के हो भन्ने पनि जान्दैनन्, हामी उहाँहरुलाई महत्व बुझाउँछौँ,’ उनले भने । त्यसो त, नेपालको १ हजारदेखि १५ सय मिटरसम्मको उचाइमा पाइने १ हजार ९ सय ५० प्रकारका जडीबुटी औषधिको रुपमा प्रयोग हुँदै आएका छन् ।
तीमध्ये १ सय ४३ लाई व्यावसायिक औषधि उत्पादनमा प्रयोग हुने गरी वर्गीकरण गरिएको छ । परम्परागत रुपले प्रयोग हुने औषधीय गुणसहितका धेरै जडीबुटीहरु हराउँदै गएका छन् । जति छन्, त्यसको पनि समुचित प्रयोग भएकै छैन । खल गरेर औषधि बनाउने वैद्यहरु घट्दैछन् । परम्परा धानिरहेका आम्चीहरुले जडीबुटीको उपयोग गरिरहे पनि आधुनिक चिकित्सा विज्ञानको अगाडि हाम्रा अमूल्य सम्पत्ति र सभ्यता लोप हुँदै गएको छ ।
पोखरा उद्योग वाणिज्य संघका कार्यसमिति सदस्य तथा कृषि व्यवस्थापन उपसमिति संयोजक रामचन्द्र तिमिल्सिना पोखरा महानगरपालिका कृषि विकास महाशाखा,कृषि विकास निर्देशनालय गण्डकी प्रदेशलगायतसँगको सहकार्यमा मेलामा जडीबुटी तथा कृषि उत्पादनको प्रदर्शनी गरिएको बताउँछन् । मेलामा कृषिसँग सम्बन्धित २५ वटा स्टल छन् । तीमध्ये धेरैजसोलाई निःशुल्क रुपले प्रदर्शनी एवं बिक्रीको व्यवस्था मिलाइएको छ ।
संघले शिक्षा, स्वास्थ्य, पर्यटन तथा कृषिको व्यावसायिकरणको लागि काम गर्दै आएको छ । तिमिल्सिनाले भने, ‘कृषकलाई आफ्ना उत्पादन प्रदर्शनी, बिक्री र बजारीकरणमा सघाउनका लागि मेला उपयोगी भएको छ ।’ पर्वत फलेबासको सामुदायिक खाद्य प्रशोधन केन्द्रबाट उत्पादित अमलाको अचार, चितवनको चेपाङ समुदायले उत्पादन गरेका च्यूरीको साबुन, चितवनको कालिका ६ को अर्जुृन व्यावसायिक मौरी फर्मको मह,स्मार्ट कृषि बहुउद्देश्यी फार्मको गुन्द्रुक र मस्यौरा, जय देउराली फर्मको किबी, हेमजामा उत्पादित तरकारी, बागलुङ काठेखोलाको उत्पादन कोदोको बिस्कुट, ढोंडबेसीको खुँदो, चितवन रामनगरको मह, मनखुसी खाद्य उद्योगको सिरम्लासम्म राखिएको छ ।
पोखराकै अतिथि भान्साघरको उत्पादन भैंसीको सुकुटी, जुजुधौसम्मलाई मेलामा स्थान दिइएको छ । त्यसो त, क्यान कास्कीसँगको सहकार्यमा आयोजित १२ औं क्यान इन्फोटेक एवं चौथो मोवाइल मेलामा सूचना प्रविधिसम्बन्धी प्रदर्शनीले पनि अवलोकनकर्ताको ध्यान खिचेको छ । मेला अन्तर्गत मंगलबार मोवाइल एप्स डेभलपर विश्वराज पौडेल, आइटी सुरक्षा विज्ञ रुपेश आचार्य तथा यार्सा टे्रडका इञ्जिनियर रोशन श्रेष्ठले विद्यार्थीलाई करिअरसम्बन्धी प्रशिक्षण दिने प्रचारप्रसार उपसमिति संयोजक मनोहरि पौडेलले बताए ।
पोखरा उद्योग वाणिज्य संघको आयोजनामा माघ १० देखि सुरु मेलाको नेपाल उद्योग वािणज्य महासंघ तथा महासंघ गण्डकी प्रदेश संरक्षक हो भने गण्डकी प्रदेश सरकार,पोखरा महानगपालिका र नेपाल पर्यटन बोर्डले यसको प्रवद्र्धन गरेका छन् । ‘लगानीको सम्वद्र्धन : उद्योग व्यवसायको प्रवद्र्धन’ भन्ने मुल नाराका साथ आयोजित मेलामा संघले पोखरा औद्योगिक क्षेत्र उद्योग संघ, क्यान कास्की, नेपाल मोवाइल वितरक संघ गण्डकी र सिएसआइटी एसोसियसनसँग सहकार्य गरेको छ ।
मधेस प्रदेश सरकार, नेपालस्थित भारतीय राजदूतावास, स्वामी विवेकानन्द कल्चरल सेन्टर, पोखरा महानगरपालिका आर्थिक विकास महाशाखा, कृषि विकास निर्देशनालय गण्डकीसँग पनि सहकार्य गरिएको संघका उपमहासचिव सुदीप श्रेष्ठले जाबताए । नकारी दिए ।
सोमबार कलाकारहरु जीवन दाहाल, शंकरविरही गुरुङ, सुनिता नेपाली, कृष्णा गुरुङ लगायतको प्रस्तुति रह्यो भने मंगलबार पशुपति शर्मा, चोलेन्द्र पौडेल, मधु थापामगर, डिप्लम खाती, तुलसा क्षेत्री लगायतको सांस्कृतिक उपसमितिका संयोजक ललित कुँवरले जानकारी दिए । मेलामा हरेक दिन प्रवेश टिकटमा गोलाप्रथाबाट ५ जनालाई मोवाइल उपहार दिइने व्यवस्था मिलाइएको छ भने आइटी महोत्सव अन्तर्गत पनि विभिन्न उपहार प्रदान गर्ने गरिएको छ ।
तपाईको प्रतिक्रिया