वालिङमा सहकारी गोष्ठी

समाधान संवाददाता २०८१ माघ २६ गते ४:१९

पोखरा । स्याङ्जाको वालिङमा सहकारी सम्बन्धी अन्तक्र्रिया गोष्ठी सम्पन्न भएको छ । सहकारी रजिष्ट्रारको कार्यालय, गण्डकी प्रदेश, पोखराको आयोजना तथा जिल्ला सहकारी संघ स्याङ्जा, जिल्ला बचत तथा ऋण सहकारी संघ स्याङ्जा र वालिङ नगरपालिकाको समन्वयमा माघ २३ गते वालिङ नगरपालिकामा सहकारिता, सहकारी ऐन, नियम तथा समसामयिक विषयमा अन्तक्र्रिया भएको हो ।

Advertisement

सहकारी रजिष्ट्रार भेषराज रिजालको अध्यक्षता र वालिङ नगरपालिकाका नगरप्रमुख कृष्ण खाँणको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गंगालाल सुवेदी, बचत तथा ऋण सहकारी संघका अध्यक्ष रवीन्द्रप्रसाद श्रेष्ठ, जिल्ला सहकारी संघका पूर्व अध्यक्ष पुण्यप्रसाद अर्याल विशेष अतिथिका रूपमा उपस्थित थिए । वालिङ नगरपालिकाका सहकारी शाखा प्रमुख भुवानी तिवारी, जिल्ला सहकारी संघ र बचत तथा ऋण सहकारी संघका विभिन्न पदाधिकारीहरू पनि सहभागी भएका थिए ।

कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि नगरप्रमुख खाँडले यस क्षेत्रका सहकारीका सबल–दुर्बल पक्ष र चुनौतीहरू पहिचान गर्नुपर्ने आवश्यकता औंल्याएका थिए । उनले सहकारीलाई सुशासनयुक्त तवरले अघि बढाउन अन्तक्र्रिया गोष्ठी फलदायी हुने विश्वास व्यक्त गर्दै कार्यक्रमको सफलताको शुभकामना दिएका थिए । सहकारी रजिष्ट्रार रिजालले सहकारी संस्थालाई कानुनसम्मत रूपमा सञ्चालन गर्नुपर्ने, सदस्य केन्द्रित एवं कार्यक्षेत्र केन्द्रित भएर संस्था सञ्चालन तथा व्यवस्थापन गर्नुपर्नेमा जोड दिएका थिए ।

तथ्यांक अधिकृत सूर्यप्रसाद आचार्यको सञ्चालनमा सम्पन्न कार्यक्रममा बचत तथा ऋण सहकारी संघका अध्यक्ष श्रेष्ठले स्वागत मन्तव्य राख्दै स्याङ्जा जिल्लामा भाखा नाघेको ऋणको मात्र नभई खराब ऋणको प्रतिशत समेत बढिरहेको उल्लेख गर्दै यसतर्फ सम्बन्धित पक्ष सचेत रहँदै कारोबार गर्नुपर्ने धारणा राखेका थिए ।

सो कार्यक्रममा सहकारी रजिष्ट्रार रिजाल, शाखा अधिकृत ईश्वरी ढकाल र वालिङ नगरपालिका सहकारी शाखा प्रमुख तिवारीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा वालिङ नगरपालिका, भीरकोट गाउँपालिका र गल्याङ नगरपालिकाका विभिन्न सहकारी संस्थाका ८२ जना अध्यक्षलगायतका पदाधिकारीहरूको सहभागिता थियो । कार्यपत्र प्रस्तोताहरूले नयाँ अध्यादेशका विषय, सम्पत्ति शुद्धीकरण, सहकारी कानुन तथा वालिङ क्षेत्रका सहकारी संस्थाहरूको अवस्थाबारे प्रस्तुति दिएका थिए ।

Advertisement

कार्यक्रममा साधारणसभा सम्पन्न गर्ने सहकारीहरूको संख्या कम रहेको, कोपोमिसमा आबद्धता न्यून रहेको, कतिपय सहकारी संस्थाले कर दाखिला नगर्ने वा ढिला गर्ने प्रवृत्ति रहेको, सञ्चालकहरू आफ्नै विनियम प्रति अनभिज्ञ रहेको, पदाधिकारीबीच कार्यविभाजनमा समस्या रहेको, अस्वाभाविक खर्च गरिने, संरक्षित पुँजी फिर्ता कोषको रकम उत्पादनसँग तादाम्यता हुने गरी वितरण नगरिने, भाखा नाघेको ऋणको गणना त्रुटिपूर्ण हुने लगायतका विषयमा छलफल भएको थियो ।

डिल्लीराम चापागाईं, खगेन्द्रप्रसाद अर्याल, भूपाल बराल, विद्या श्रेष्ठ, नेत्रप्रसाद पाण्डे र पुण्यप्रसाद अर्यालले खराब ऋण असुली प्रक्रियामा नियमनकारी निकायको सहयोग, समन्वय र मार्गदर्शन आवश्यक रहेको बताएका थिए । दीपेन्द्र पराजुलीले वालिङ क्षेत्रमा समस्या देखिन थालेका केही सहकारीका कारण छिमेकी सहकारी संस्थाहरू समेत प्रभावित हुन सक्ने भन्दै यसबारे नगरपालिकाले विशेष पहल गर्नुपर्ने धारणा राखे । यज्ञप्रसाद अधिकारीले बचतको सीमा राख्न नहुने तर्क गरे भने मुक्तिप्रसाद पाण्डेले नयाँ अध्यादेशले बचत तथा ऋण सहकारीको सञ्चालक कार्यकाल अत्यधिक छोटो बनाएको भन्दै सुधार आवश्यक रहेको विचार व्यक्त गरे ।

कृष्णप्रसाद पंगेनीले कानुन पालना नगर्ने सहकारीहरूलाई कारबाही गर्नुपर्नेमा जोड दिएका थिए । सहभागीहरूले उठाएका ऋण असुली, धितो मूल्यांकन, लिलाम प्रक्रिया, सहकारीका अपचलन तथा कसूरजन्य कार्य जस्ता विषयमा सहकारी रजिष्ट्रार र अधिकृतहरूले समाधानका उपायबारे चर्चा गरेका थिए ।

तपाईको प्रतिक्रिया