जनप्रिय क्याम्पसको प्रशासनिक भवनको तेस्रो तल्ला हस्तान्तरण

समाधान संवाददाता २०८२ वैशाख १८ गते १८:०५

पोखरा । विश्वविद्यालय अनुदान आयोग (युजिसी) को आर्थिक सहयोगमा जनप्रिय बुहुमुखी क्याम्पसको प्रशासनिक भवनको तेस्रो तल्ला निर्माण सम्पन्न भई विहीबार हस्तारन्तरण भएको छ ।

Advertisement

क्याम्पस सञ्चालक समितिका अध्यक्ष वीरेन्द्रनारायण विजुक्छेले गुणस्तरीय उच्चशिक्षा र भौतिक पूर्वाधार विस्तारलाई निरन्तरता दिने क्याम्पसको योजनालाई युजिसीको आर्थिक अनुदानले टेवा पुगेको बताउँदै धन्यवाद र आभार व्यक्त गरे । विजुक्छेले जनप्रियलाई पूर्णतय डिजिटल क्याम्पसका रूपमा विकास गर्ने उद्धेश्य भएकाले डिजिटल ल्याब, स्टुडियो, डकुमेन्ट्री हल, ई लर्निङ क्लास आदिका लागि निर्माण सम्पन्न तेस्रो तल्लालाई प्रयोग गर्ने बताए ।

क्याम्पस प्रमुख कृष्णबाबु बरालले स्वागत मन्तव्य राख्दै युजिसीको आर्थिक सहयोग १ करोड भएपनि ९२ लाख ७० हजार ५ सय १५ रुपैयाँको लागत खर्चमा भवन निर्माण सम्पन्न भएको जानकारी दिए । भवन निर्माण कार्यमा सुशासन र पारदर्शिताको मर्मलाई आत्मसात गर्दै आगामी दिनमा आयोगबाट प्राप्त अनुदानलाई थप प्रभावकारी बनाउने बताए ।
फ्रस्ट ग्रुप अफ कन्ट्रक्सन प्रा.लि.का विजयनाथ उपाध्यायले विद्युतीय टेन्डरमाफर्त समय सिमाभित्रै निर्माण कार्य सम्पन्न गरी भवन हस्तान्तरण गर्दा क्याम्पस प्रशासनबाट प्राप्त पूर्ण सहयोगले कुनै झमेला व्यहोर्न नपरेकोले खुशी व्यक्त गरे ।

क्याम्पस सञ्चालक सञ्चालक समितिका उपाध्यक्ष ध्रुवराज चालिसे, कोषाध्यक्ष गणेशबहादुर अधिकारी, सदस्य परशुराम बराल, युवराज पराजुली, रंगिला आचार्य, पुष्पराज सिग्देल, रामप्रसाद बस्ताकोटी, विजयराज आचार्य, देवी पनेरु, उपप्रशासक एकनारायण अर्याल लगायतका व्यक्तिले युजिसीको आर्थिक अनुदानप्रति आभार व्यक्त गर्दै सामुदायिक क्याम्पसको भौतिक पूर्वाधार विस्तारले शैक्षिक गुणस्तर अभिवृद्धिमा महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।

Advertisement

तपाईको प्रतिक्रिया