लोककवि अलि मियाँको १९ औं स्मृति दिवस

समाधान संवाददाता २०८२ साउन २० गते ११:३५

पोखरा ।
लोककवि अलि मियाँको उन्नाइसौं स्मृति दिवसका अवसरमा पोखरा वडा नम्बर ११, फूलबारीमा रहेको भानुपार्कमा शनिबार वृक्षरोपण, सरसफाइ र सम्मान कार्यक्रम आयोजना गरियो ।


सोही कार्यक्रममा अलि मियाँ लोक वाङ्मय प्रतिष्ठानकी उपाध्यक्ष हरिदेवी कोइराला, सचिव पदमराज ढकाल, सहसचिव धर्मराज अल्पायु र साहित्यकार भरत आचार्यलाई सम्मान गरियो । उनीहरुलाई लोककवि अलि मियाँको परिवारले सम्मान गरेको हो ।


कार्यक्रममा भानु वाङ्मय प्रतिष्ठान पोखराका अध्यक्ष प्राज्ञ सरुभक्तले अलि मियाँको सम्मान उनको जीवित छँदै तीसको दशकदेखि पोखरामा हुन थालेको स्मरण गरे । मियाँका गीतहरुले ग्रामीण जीवनको स्वर बोकेको विचार उनले व्यक्त गरे ।

Advertisement

पोखरा वडा नम्बर ११ का वडाध्यक्ष प्रेमप्रसाद कर्माचार्यले मियाँमा रहेको राष्ट्रिय भावनाको कदर हुनुपर्ने आवश्यकता औंल्याए ।
धार्मिक द्वन्द्वको अन्त्य र भाषाको शुद्ध प्रयोग गर्न सके मात्र अलि मियाँको आत्माले शान्ति पाउने धारणा लोकसंस्कृतिका अनुसन्धाता प्राडा कुसुमाकर न्यौपानेले राखे । अलि मियाँलाई एक धार्मिक सहिष्णु साहित्यकारका रुपमा पूर्ववडाध्यक्ष निर्मल कर्माचार्यले सम्झिए ।


गीत तथा कविता लेखन कार्य सहज नभएको विचार गण्डकी प्रज्ञा–प्रतिष्ठानका निवर्तमान कुलपति सूर्य खड्का ‘विखर्ची’ले व्यक्त गरे । उनले ५० वर्ष पहिले अलि मियाँले पुर्‍याएको योगदानलाई सामान्य मान्न नसकिने पनि उल्लेख गरे । पत्रकार कृष्णप्रसाद बास्तोलाले मियाँलाई नेपाली लोकसाहित्यको प्रतीकका रुपमा चित्रण गरे ।

Advertisement


अलि मियाँका माहिला छोरापट्टिका नाति अफजल हुसेन मियाँले आफ्नो परिवारले उनको सम्झनामा उल्लेख्य काम गर्न नसकेकोमा दुःख व्यक्त गरे । उनलाई अमर राख्न क्रियाशील प्रतिष्ठानका पदाधिकारी र साहित्यकारहरुलाई आफ्नो परिवार सम्मान गर्न इच्छुक रहेको कुरा पनि उनले जनाए ।


कार्यक्रमको अध्यक्षता गरेकी अलि मियाँ लोक वाङ्मय प्रतिष्ठानकी उपाध्यक्ष प्राज्ञ हरिदेवी कोइरालाले अलि मियाँलाई प्रेरणाको स्रोतका रुपमा उल्लेख गरिन् । उनले मियाँको नाममा स्थापित पुरस्कार सर्वप्रथम आफैंले पाएको प्रसंग पनि स्मरण गरिन् ।

प्रतिष्ठानका सचिव तथा लोकगायक पदमराज ढकालले उक्त अवसरमा अलि मियाँद्वारा रचित दुईवटा गीत प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमको सञ्चालन प्रतिष्ठानका सल्लाहकार अम्बिकाप्रसाद अधिकारीले गरेका थिए । त्यसैगरी, प्रतिष्ठानका सहसचिव धर्मराज अल्पायुले स्वागत मन्तव्य व्यक्त गरेका थिए ।

तपाईको प्रतिक्रिया