गण्डकी बोर्डिङ स्कुलले जित्यो इन्टर स्कुल व्याण्ड कम्पिटिसनको उपाधि

समाधान संवाददाता २०८२ भदौ १४ गते २०:४५

पोखरा ।

 पोखरा सांगीतिक कलाकार संघ नेपालले आयोजना गरेको तेस्रो इन्टर स्कुल ब्यान्ड कम्पिटिसनको उपाधि गण्डकी बोर्डिङ स्कुलले जितेको छ। पोखरा सभागृह हलमा भदौ १३ र १४ गते दुई दिनसम्म चलेको यो प्रतियोगितामा गण्डकी बोर्डिङ स्कुलले उत्कृष्ट प्रदर्शन गर्दै १ लाख रुपैयाँ नगद, ट्रफी र प्रमाणपत्र प्राप्त गरेको छ।

गण्डकी बोर्डिङ स्कुलले समग्रमा प्रथम हुनुका साथै वेस्ट भोकल, वेस्ट ड्रमर र बेस गिटारवादकको विधागत पुरस्कारहरू पनि जित्न सफल भयो।

Advertisement

प्रतियोगितामा प्रतिभा मावि ‘ए’ ले दोस्रो स्थान हासिल गर्दै ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्‍यो भने डायमन्ड बोर्डिङ स्कुलले तेस्रो स्थान प्राप्त गरी २५ हजार रुपैयाँ नगद पुरस्कार सहित ट्रफी र प्रमाणपत्र हात पार्यो। लिड गिटारवादकको पुरस्कार भने कास्की मोडर्नाइज्ड स्कुलले जित्यो।

संघका सचिव अमित गुरुङले दिएको जानकारीअनुसार, उत्कृष्ट गायन गर्ने विद्यार्थीलाई ५ हजार रुपैयाँ, ट्रफी, प्रमाणपत्र र एक वर्षका लागि निःशुल्क इन्टरनेट सेवा प्रदान गरिएको थियो। अन्य विधाका उत्कृष्ट खेलाडीहरूलाई पनि जनही ५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र दिइएको थियो।

Advertisement

‘शिक्षासँगै संगीत’ भन्ने नाराका साथ आयोजना गरिएको यस प्रतियोगितामा कुल १७ वटा विद्यालयका टिम सहभागी थिए। सहभागी विद्यालयहरूमा डायमन्ड बोर्डिङ स्कुल, कास्की मोडर्नाइज्ड स्कुलका दुई टिम, मदरल्यान्ड सेकेन्डरी स्कुल, ग्लोबल कलेजियट स्कुल, पोखरा एकेडेमी, गण्डकी बोर्डिङ स्कुल, प्रतिभा माविका दुई टिम, हिमालयन बोर्डिङ स्कुल, लाभिन्स रेसिडेन्सियल स्कुल, सगरमाथा मावि, न्यु ग्यालेक्सी मावि, कालिका मावि, गुरुकुल विद्यासदन, पश्चिमाञ्चल मावि र फिस्टेल आइबी वल्ड स्कुल सामेल थिए।

भदौ १३ गतेको प्रारम्भिक प्रस्तुतिको आधारमा १० वटा टिमलाई फाइनलका लागि छानिएको थियो। यी १० टिमबीच शनिबार भएको कडा प्रतिस्पर्धामा गण्डकी बोर्डिङ स्कुलले आफ्नो उत्कृष्ट प्रस्तुति दिँदै उपाधि हात पार्यो।

प्रतियोगिताका निर्णायकहरूमा असिम शेरचन, विनोद बानियाँ र अमित गुरुङ रहेका थिए। विजेताहरूलाई पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य, संघका अध्यक्ष हर्कराज गुरुङ (भाइ), कार्यक्रम संयोजक तेज केसी, पोखरा प्रज्ञा प्रतिष्ठानका संस्थापक कुलपति पदमराज ढकाल, गण्डकीका पर्यटनमन्त्रीका स्वकीय सचिव जीवन उच्चै ठकुरी, गण्डकी प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य सचिव मनकुमार श्रेष्ठ लगायतका व्यक्तित्वहरूले पुरस्कार वितरण गरे।

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले कार्यक्रमको आयोजनाले नयाँ पुस्तालाई सांगीतिक क्षेत्रमा अगाडि बढ्न उत्प्रेरित गरेको बताए। उनले यो प्रतियोगिताले पोखराको कला र संगीतको विकासमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे।

प्रतियोगिताको उद्घाटन शुक्रबार गण्डकी प्रदेशका उद्योग तथा पर्यटन मन्त्री मित्रलाल बस्यालले गरेका थिए। उनले यस्ता कार्यक्रमको आयोजनाले लुकेर रहेका प्रतिभाहरूलाई बाहिर ल्याउन मद्दत पुग्ने बताए। पर्यटनको राजधानी पोखरामा आयोजना गरिएको यस कार्यक्रमले पर्यटन प्रवर्द्धनमा समेत सघाउने उनको भनाइ थियो।

तपाईको प्रतिक्रिया