‘झंकार’को चर्चा

समाधान संवाददाता २०८२ असोज ५ गते १२:२५

पोखरा ।
सिर्जनशील लोकतान्त्रिक प्रतिष्ठान पोखराले असोज महिनाको नियमित मासिक कार्यक्रम संस्थाका आजीवन सदस्य कवि झलक अधिकारीद्वारा रचित ‘झंकार’ कविता संग्रहको लोकार्पण तथा परिचर्चा गरेको छ । शुक्रबार भएको कार्यक्रममा साहित्यकार सरुभक्तले कृति लोकार्पण तथा प्राडा जगन्नाथ रेग्मीले कृतिमाथि परिचर्चा गरे ।


कार्यक्रममा साहित्यकार सरुभक्तले पोखराले एउटा छन्दकवि जन्माएको उल्लेख गर्दै जीवन नै भ्रम र भ्रम नै जीवन भएको विचार राखे । उनले भने, ‘भ्रमकै बिचबाट छन्दमय फूलको बगैँचामा एउटा सुन्दर फूलको बोट भएर कवि झलक देखा परेका छन् ।’


परिचर्चाकार रेग्मीले कवि झलकका कविताले सहृदयीहरूको हृदयमा झंकार प्रदान गर्ने टिप्पणी गरे । उनले स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैलीशिल्पमा कवि अधिकारीले दुई दर्जन शास्त्रीय छन्द र नेपाली मौलिक लोक छन्द झ्याउरेको सफल प्रयोग गरेको जनाए । प्रेमप्रणय, राष्ट्रभक्ति, जन्मभूमिप्रतिको आस्था, पूर्वजहरूको गौरव अनि मानवतावादी चेत र जागरणको सन्देश कविता संग्रहको मूल स्वर रहेको उनको ठम्याइ छ ।

Advertisement


एकेएन् गोगनेले एसियाकै सुन्दर नगरी पोखरामा बसेर काव्य उपासना गरेका कवि झलकलाई बधाई तथा शुभकामना दिए । कवि डा ईश्वरमणि अधिकारीले कवि झलकलाई चिनाउँदै स्वस्थ जीवनप्रति अत्यन्त सचेत व्यक्तिका रुपमा चिनाए । कवि झलकले कृति पठनपछि सुझावको अपेक्षा राख्दै सबैलाई धन्यवाद दिए ।


कार्यक्रममा शिव त्रिपाठी, वसन्त चालिसे र मैन शिखाले झंकार कवितासंग्रहबाट कविता वाचन गरेका थिए । संस्थाका अध्यक्ष सुरज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष डा श्रीधर न्यौपाने, सचिव डा पिताम्बर पौडेलले पनि बोलेका थिए । कार्यक्रममा कार्यसमिति सदस्य पुण्यप्रसाद भट्टराईका छोराबुहारी विजय/भावना भट्टराईले बुवाआमाका नाममा ‘सीतापुण्य सिर्जनशील पुरस्कार’ स्थापनाका लागि १ लाखको अक्षयकोष स्थापना गरेकोमा बधाई ज्ञापनसमेत गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया