प्रेमराजको ‘अन्तिम प्रयास’

समाधान संवाददाता २०८२ असोज ५ गते १२:३२

पोखरा ।
आध्यात्मिक चिन्तक एवं साहित्यकार प्रेमराज अधिकारीको पुस्तक ‘अन्तिम प्रयास’ शुक्रबार सार्वजनिक भएको छ । पूर्व कर्मचारी सेवा परिषद नेपाल, कास्की शाखाको आयोजनामा भएको कार्यक्रममा ८६ वर्षीय लेखक अधिकारीको दोस्रो कृति लोकार्पण भएको हो ।


कार्यक्रममा विन्ध्यवासिनी संस्कृत पाठशालाका निवर्तमान प्राचार्य प्राडा जगन्नाथ रेग्मीले यो कृतिले पनि समाजलाई नैतिक दिशामा डोहोर्‍याउने विश्वास व्यक्त गरे । समीक्षक प्राडा यामबहादुर क्षत्रीले कृतिले अध्यात्म र समाजका धेरै विषयलाई सम्बोधन गरेको प्रष्ट पारे ।


सिद्धि सेतुली प्रतिष्ठानका संस्थापक विश्व शाक्यले पुस्तकको नामले मानिसले हरेक दिनलाई आज अन्तिम हो भन्ने सोचेर अरूसँग व्यवहार गर्नुपर्ने विचार राखे । नेपाल सरकारका सहसचिव विनोद कुँवरले लेखक सबैको प्रेरणाको स्रोत रहेको जनाए । कृतिकारका छोरा ओमकारले पुस्तक तयार हुनुको पृष्ठभूमि र त्यसका लागि गरिएका प्रयत्नबारे जानकारी दिए ।

Advertisement


गण्डकी विश्वविद्यालयका कुलपति प्राडा ईन्द्रप्रसाद तिवारीले लेखकका अनुभव र ज्ञानको संगालो रहेको यो पुस्तक सबैलाई उपयोगी हुने जनाए । परिषद अध्यक्ष गिरीधारी सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा उपाध्यक्ष सूर्य बराल, लघुकथाकार कल्याण पन्त लगायतले बोलेका थिए । प्रेमराजको यसअघि ‘आत्मानुसंधान’ प्रकाशित भएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया