चक्कु प्रहारबाट पोखरामा एक जनाको मृत्यु, आरोपित पक्राउ

समाधान संवाददाता २०८२ कार्तिक ८ गते १४:३४

पोखरा ।

पोखरा महानगरपालिका–५, चिल्ड्रेन पार्क नजिकै चक्कु प्रहारबाट ४५ वर्षीय अनिल पराजुलीको मृत्यु भएको छ। घटनामा संलग्न रहेको आरोपमा २४ वर्षीय किशोर तिमिल्सिनालाई प्रहरीले पक्राउ गरेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले दिएको जानकारी अनुसार, ८ कात्तिक बिहान करिब ३:०५ बजे पराजुली अचेत अवस्थामा रहेको सूचना प्राप्त भएपछि वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरी टोली घटनास्थल पुगेको थियो। घाइते पराजुलीलाई तत्काल पश्चिम क्षेत्रीय अस्पताल पोखरा लगिएकोमा बिहान ३:४० बजे चिकित्सकले मृत घोषणा गरे।

Advertisement

प्रारम्भिक अनुसन्धानबाट पोखरा–५ मालेपाटन बस्ने तिमिल्सिना र मृतक पराजुलीबीच सामान्य विवाद हुँदा चक्कु प्रहार भएको खुलेको प्रहरीले जनाएको छ। पोखरा–१८ सराङकोटका स्थायी बासिन्दा तिमिल्सिना मालेपाटनमा बस्दै आएका थिए।

घटनामा प्रयोग भएको एक थान चक्कुसहित तिमिल्सिनालाई नियन्त्रणमा लिइएको कास्कीका प्रहरी प्रवक्ता तथा सूचना अधिकारी प्रहरी नायब उपरीक्षक हरिबहादुर बस्नेतले बताए। तिमिल्सिना उपर कर्तव्य ज्यान सम्बन्धी मुद्दामा थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको छ।

Advertisement

घटनास्थल वरपरको सुरक्षा व्यवस्था कडा पारिएको छ र प्रहरीले थप प्रमाणहरू संकलन गरिरहेको छ। यो घटनाले पोखरामा सुरक्षा चुनौती थपिएको भन्दै स्थानीय बासिन्दाले चिन्ता व्यक्त गरेका छन्।

तपाईको प्रतिक्रिया