कृषि आधुनिकीकरण कार्यक्रम कास्की प्रमुख लम्सालको मोटरसाइकल दुर्घटनामा निधन

समाधान संवाददाता २०८२ कार्तिक ९ गते १६:१२

पोखरा ।

राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, कास्कीका प्रमुख माधवप्रसाद लम्सालको पुतलीबजार नगरपालिका-१४, स्याङ्जामा मोटरसाइकल दुर्घटनामा परी निधन भएको छ। ४५ वर्षका लम्सालको कात्तिक ७ गते सतौंचण्डीस्थान जाने सडक आम्बोटमा लु ५९ प ३७९७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा मृत्यु भएको हो। उनी आफैँले मोटरसाइकल चलाएका थिए।

जिल्ला प्रहरी उपरीक्षक दधिराम न्यौपानेले दिएको जानकारी अनुसार, आम्बोटबाट करिब १०० मिटर तल मोटरसाइकलसहित लम्साल खसेका थिए। सतौंबाट आफ्नो निवास लामागेतर्फ फर्कदै गर्दा उनी दुर्घटनामा परेका थिए। दुर्घटनापछि उनलाई उद्धार गरी जिल्ला अस्पताल स्याङ्जा पुर्‍याइएको थियो, तर चिकित्सकले मृत घोषणा गरेका थिए।

Advertisement

लम्सालको स्थायी घर पुतलीबजार नगरपालिका-१४ लामागे हो। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ, कास्कीको प्रमुख हुनुअघि उनी सुन्तला सुपरजोन परियोजना कार्यान्वयन एकाइ कार्यालय स्याङ्जाका प्रमुखका रूपमा कार्यरत थिए। उनले स्याङ्जामा सुन्तला खेती विस्तारमा महत्त्वपूर्ण योगदान दिएका छन्।

लम्सालका बुवा-आमा, पत्नी, एक छोरा र एक छोरी छन्। पारिवारिक स्रोतका अनुसार, उनको शनिबार बिहान पोस्टमार्टमपछि अन्तिम संस्कार गरिएको छ। प्रहरी प्रमुख न्यौपानेले दुर्घटनाबारे अनुसन्धान भइरहेको बताएका छन्।

Advertisement

तपाईको प्रतिक्रिया