स्याङ्जाको गल्याङस्थित शिशुकल्याण माविको कम्प्युटर खरिद र कोष हिनामिनामा ३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

समाधान संवाददाता २०८२ कार्तिक ९ गते १७:००

पोखरा ।

स्याङ्जाको गल्याङ नगरपालिका–४ स्थित शिशुकल्याण माध्यमिक विद्यालयमा कम्प्युटर, प्रिन्टर र प्रोजेक्टर खरिदमा नक्कली दाखिला प्रतिवेदन तयार पारी विद्यालय कोषको रकम हिनामिना गरेको आरोपमा तीन जनाविरुद्ध विशेष अदालत, काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राम थापा, तत्कालीन प्रधानाध्यापक रविलाल लुईटेल र लेखापाल छविलाल गाहाविरुद्ध आरोपपत्र दायर गरेको जानकारी दिएको हो ।

आयोगमा परेको उजुरीका आधारमा भएको अनुसन्धानबाट शिशुकल्याण माध्यमिक विद्यालयका तत्कालीन प्रधानाध्यापक रविलाल लुईटेल, लेखापाल छविलाल गाहा र विद्यालय व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष राम थापाले आपसी मिलेमतोमा भ्रष्टाचार गरेको पाइएको छ । आर्थिक वर्ष ०७८/०७९ मा विद्यालयलाई आइसीटी कार्यक्रमअन्तर्गत प्राप्त भएको ६ लाख ५० हजार रुपैयाँबाट २०७९ असार २३ गते ७ थान डेस्कटप कम्प्युटर, १ थान प्रोजेक्टर, १ थान ल्यापटप र १ थान प्रिन्टर ६ लाख ७४ हजार ४५ रुपैयाँमा खरिद गरिएको थियो ।

Advertisement

खरिद गरिएका सामानमध्ये २ थान कम्प्युटर, १ थान प्रिन्टर र १ थान प्रोजेक्टर विद्यालयमा नलगी नक्कली दाखिला प्रतिवेदन तयार पारेको अनुसन्धानबाट खुलेको छ । यसरी २ थान कम्प्युटरबापत १ लाख २३ हजार रुपैयाँ (प्रति थान ६१ हजार ५ सय रुपैयाँ), प्रोजेक्टरको ५८ हजार रुपैयाँ र प्रिन्टरको ३६ हजार रुपैयाँ गरी जम्मा २ लाख १७ हजार रुपैयाँ बराबरको विद्यालयको रकम हिनामिना गरिएको छ ।

यसका साथै प्रतिवादीहरूले एक आपसमा मिलेमतो गरी विद्यालय व्यवस्थापन समितिको निर्णयबिना प्रधानाध्यापकको नाममा २ लाख ५४ हजार ६ सय ६७ रुपैयाँ २६ पैसा बराबरको चेक काटी विद्यालयको कोषबाट रकम निकालेको र सो रकम विद्यालयमा फिर्ता नगरी हिनामिना गरेको पनि देखिएको छ । गल्याङ नगरपालिकाबाट भएको स्थलगत प्रतिवेदन र आयोगबाट भएको स्थलगत अनुगमनबाट पनि यो पुष्टि भएको छ ।

Advertisement

कुल ४ लाख ७१ हजार ६ सय ६७ रुपैयाँ २६ पैसा बराबरको रकम हिनामिना तथा हानिनोक्सानी गरेको देखिएकाले उक्त भ्रष्टाचारजन्य कसुरमा संलग्न प्रतिवादीहरूविरुद्ध कानुनबमोजिमको सजाय मागदाबी लिई विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए ।

तपाईको प्रतिक्रिया