पोखराका सरकारी अस्पतालका नर्स पनि निजी अस्पतालकाे आन्दाेलनमा एकजुट

समाधान संवाददाता २०८२ कार्तिक १२ गते १३:५०
तस्बीर युटुभ:Nepal Health News

पोखरा ।
निजी अस्पताल र मेडिकल कलेजका नर्सहरूले तलब र सुविधा बराबरीको माग गर्दै सुरु गरेको आन्दोलनमा अहिले पोखराको सरकारी पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नर्सहरू पनि सहभागी भएका छन् ।


बुधबार बिहान १० बजेदेखि १२ बजेसम्म अस्पतालका नर्सहरूले आपतकालीन र आईसीयू बाहेकका सेवा रोक्दै ऐक्यबद्धता प्रदर्शन गरेका हुन् । करिब दुई सय जना नर्स अस्पताल परिसरमा भेला भई नारा लगाउँदै आन्दोलनमा समर्थन जनाए ।


नेपाल मणिपाल शिक्षण अस्पताल हुँदै सुरु भएको आन्दोलन अहिले देशभरी चलिरहेको छ । पोखरामा पनि मणिपालपछि गण्डकी मेडिकल कलेज, चरक मेमोरियल अस्पताल हुँदै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका नर्स पनि आन्दोलनमा उत्रेका हुन् । उनीहरुले श्रम शोषण गर्न पाइँदैन, नर्सको तलब वृद्धि सर, सरकारी दर रेट अनुसार तलब दिउ लगायतका नारा लगाउँदै अस्पताल परिसरमा आन्दोलन गरेका हुन् ।

Advertisement


यसअघि नेपाल नर्सिङ संघले आन्दोलनको नेतृत्व लिँदै सरकारलाई कात्तिक १८ गतेभित्र माग सम्बोधन गर्न चेतावनी दिएको छ ।


संघको निर्णयअनुसार हाल दैनिक बिहान १० बजेदेखि दिउँसो १२ बजेसम्म अत्यावश्यकबाहेकका सेवा बन्द राख्ने कार्यक्रम सञ्चालन भइरहेको छ । बुधबार देशभरका विभिन्न अस्पतालका नर्सहरूले सो समयमा सेवामार्फत दबाब सिर्जना गरेका थिए ।

Advertisement


निजी क्षेत्रका नर्सहरू सरकारी अस्पतालका नर्सको बराबर पारिश्रमिक र सुविधा चाहन्छन् । तर, निजी अस्पताल सञ्चालकहरूले भने आर्थिक अवस्थाका कारण तत्काल त्यस्तो सुविधा दिन नसकिने बताएका छन् ।


यसैबीच, नर्सहरूको मागबारे अध्ययन गर्न सरकारले उच्चस्तरीय समिति गठन गरेको छ । समितिले सातै प्रदेशमा कार्यदल बनाएर अवस्थाको मूल्यांकन गर्न र दीर्घकालीन समाधानका सिफारिससहित प्रतिवेदन पेश गर्ने तयारी गरेको बताइएको छ ।


संघले चेतावनी दिँदै भनेको छ, ‘यदि कात्तिक १८ भित्र माग सम्बोधन भएन भने, देशभरका नर्सहरूले सेवा पूर्णरूपमा बन्द गर्नेछन् ।’

तपाईको प्रतिक्रिया