
जोमसोम ।
बिहीबार राति परेको अविरल वर्षाले अवरुद्ध कोरलानाका जोड्ने (कागबेनी—छुसाङ) ९ किलोमिटर सडक भर्खरै सञ्चालनमा आएको छ । शनिबारदेखि विभिन्न स्थानमा उपकरण प्रयोग गरेर सुरु गरिएको कागबेनी—छुसाङ सडक आवश्यक मर्मतपछि भर्खरै सञ्चालनमा आएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ ।
जिल्ला प्रशासन कार्यालयको पहलमा वारागुङ मुक्तिक्षेत्र गाउँपालिका, सुरक्षा निकाय र कालिगण्डकी करिडोर (बेनी—जोमसोम—कोरला) सडक आयोजनाको सहकार्यमा तीन वटा सडक उपकरण प्रयोग गरेर भर्खरै सञ्चालनमा ल्याएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रनाउ छिरिङ किप्पा लामाले जानकारी दिए । प्रनाउ लामाले कागबेनी—छुसाङ अवरुद्ध सडक सञ्चालनमा आएसँगै वारागुङ मुक्तिक्षेत्र—३ छुसाङमा फसेका झन्डै ३५० बढी सवारी साधन गन्तव्यतर्फ प्रस्थान गरेको बताए ।
‘छुसाङमा कति संख्यामा सवारी साधन अड्किएका रहेछन् भनी प्रहरी चौकी कागबेनीलाई विवरण संकलन गर्न भनेका छौँ, जीप, कार, मोटरसाइकल र मालबाहक गरी ३५० बढी साधन अड्किएको भन्ने छ, छुसाङमा रोकिएका सबै सवारी साधन जोमसोम झर्दै गरेका छन्,’ प्रनाउ लामाले भने ।
त्यसो त कागबेनी—छुसाङसम्मको सडक सञ्चालनमा आए पनि कोरलानाका जोड्ने वारागुङ मुक्तिक्षेत्र—३ चैलेमा अवरुद्ध सडकको मर्मतका लागि उपकरणसहितको टोली त्यसतर्फ प्रस्थान गरेको प्रनाउ लामाले उल्लेख गरे । ’कागबेनीदेखि छुसाङसम्मको ९ किलोमिटर सडक क्लियर भैसक्यो, चैलेमा मात्रै समस्या छ,’ प्रनाउ लामाले थपे, ’त्यहाँ पर्खाल निर्माण गरी फिलिङ गरिएको करिब ३५ मिटर सडक पहिरोले भासिएको छ, त्यहाँ पनि साँझसम्ममा सडक मर्मत गरी सडक खुलाउने प्रयास भइरहेको छ ।’ अवरुद्ध चैले सडक मर्मतका लागि लोघेकर दामोदरकुण्ड गाउँपालिकाबाट पनि टोली सडक मर्मतका लागि त्यसतर्फ आइसकेकाले चाँडै नै सडक सूचारु हुने अपेक्षा गरिएको प्रनाउ लामाको भनाइ छ ।
वारागुङ मुक्तिक्षेत्र—३ छुसाङमा फसेका झन्डै ३५० बढी सवारी साधन गन्तव्य प्रस्थान
जिल्ला प्रहरी कार्यालय मुस्ताङले छुसाङबाहेक अन्य स्थानमा पर्यटक सवार गाडीहरु अलपत्र परेको अवस्था नरहेको जनाएको छ । मुस्ताङमा अविरल वर्षाका कारण बिहीबार रातिदेखि सडक अवरुद्ध भएको थियो । भासिएको स्थान र पहिरो गएको स्थानमा सडक उपकरण प्रयोग गरी पहिरो पन्छाएर अस्थायी रुपमा सडक सञ्चालनमा आएको वारागुङ—१ का वडाध्यक्ष प्रमेश गुरुङले जानकारी दिए ।
कागबेनी—छुसाङलाई तीव्र गतिमा सडक मर्मत गर्न प्रशासन, प्रहरी, पालिका र आयोजना कार्यालयले योगदान गरेको वडाध्यक्ष गुरुङको भनाइ छ । यहाँको कागबेनी—छुसाङ सडक खण्ड मर्मतपछि सञ्चालनमा आए पनि कागबेनी—कोरला सडक पूर्ण रुपमा सञ्चालनमा आइनसकेको वडाध्यक्ष गुरुङले जानकारी दिए ।
मौसम प्रतिकूलताका कारण भन्सार सेवा प्रभावित
हिमपात र प्रतिकूल मौसमका कारण लोमान्थाङ—२ छोसेर न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयका कार्यसम्पादन प्रभावित बनेको छ । मंगलबारको हिमपात र त्यसपछिको अविरल वर्षाका कारण मुस्ताङ भन्सार कार्यालयको सेवा अवरुद्ध बनेको मुस्ताङ भन्सार कार्यालयका अधिकृत डिल्लीराम सुवेदीले जानकारी दिए । भन्सार जाँचपासका लागि विद्युत र इन्टरनेट सुविधा आवश्यक पर्ने भए पनि केही दिन यता उपल्लो मुस्ताङमा विद्युत र इन्टरनेट सुविधा अवरुद्ध भएकाले भन्सार कार्यालयमा नेपाल—चीन आयात निर्यातका मालवस्तु जाँचपास हुन नसकेको भन्सार अधिकृत सुवेदीको भनाइ छ ।
तिहारपछि कुनै पनि आयात निर्यात मालवस्तुको भन्सार जाँचपास नभएको अधिकृत सुवेदीको भनाइ छ । जोमसोम—कोरला सडक अवरुद्ध भएका कारण पनि भन्सारका केही कर्मचारीहरु कार्यस्थलमा आउन नसकेको तर भन्सार एजेन्टहरु पहिले नै यहाँ आएर बसेको अधिकृत सुवेदीले जनाए ।
मौसम प्रतिकूलताका कारण विद्युत र इन्टरनेट सेवा अवरुद्ध हुँदा कोरलानाकाबाट आयात गरिएका चिनियाँ सामान ढुवानी गरिएको झन्डै ५० भन्दा बढी मालबाहक कन्टेनर भन्सार कार्यालयमा रोकिएको भन्सार अधिकृत सुवेदीले बताए । ‘यहाँ भन्सार जाँचपास हुन बाँकी ५० भन्दा बढी कन्टेनर जम्मा भएका छन्, कोरलानाका र चिनियाँ भन्सार पनि ५० भन्दा बढी कन्टेनर पुगेका छन्,’ भन्सार अधिकृत सुवेदीले भने, ‘उपल्लो मुस्ताङमा विद्युत र इन्टरनेट सुविधा सहज बनाउन छिटो पहल गर्नुपर्यो, यस्तै रह्यो भने भन्सारको काम गर्न समस्या हुन्छ ।’
यता, कागबेनी—कोरला सडक अवरुद्ध हुँदा झन्डै एक सय बढी मालबाहक ढुवानीका साधन दुई दिनदेखि कोरलानाका जान नसकी जोमसोम र कागबेनीमै रोकिएका छन् ।

सुन्दरकुमार थकाली
थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया