हुलाक सेवालाई समयसापेक्ष बनाउन जोड

समाधान संवाददाता २०८२ कार्तिक २१ गते १७:०९

पोखरा ।

हुलाक सेवा विभागको आयोजना तथा हुलाक निर्देशनालय, पोखराको समन्वयमा आज पोखरामा आयोजित द्रुत डाँक सेवासम्बन्धी अन्तरक्रियामा हुलाक सेवालाई समयसापेक्ष बनाउनुपर्नेमा जोड दिइएको छ ।

हुलाक सेवा आफैँमा विशिष्ट महत्त्व बोकेको सेवा क्षेत्र भएको बताउँदै कार्यक्रमका वक्ताले यसलाई समयसापेक्ष र प्रभावकारी बनाउँदै जनताले प्रत्यक्ष अनुभूति गर्ने किसिमको हुनुपर्नेमा दिइएको हो ।

जिल्ला समन्वय समिति कास्कीका प्रमुख लीलाधर पौडेलले हुलाक सेवालाई युगअनुसारको वैज्ञानिक बनाउनुपर्ने आवश्यकता औँल्याए । हुलाक सेवाको लामो इतिहास रहेको बताउँदै उनले प्रविधिको विकासँगै यसको समयसापेक्ष रुपान्तरण हुनुपर्नेमा जोड दिए । निजी कुरियरले कतिसम्म शुल्क लिनसक्ने हो त्यसको नियामक निकायबाट नियमन हुनुपर्ने उनको भनाइ छ ।

हुलाक सेवा विभागका महानिर्देशक मनमाया भट्टराई पँगेनीले यस सेवालाई प्रभावकारी बनाउँदै यसलाई आमनागरिकसँग नजिकमा जोड्ने गरी पहल भइरहेको बताइन् । नागरिकसँग जोडिनकै लागि द्रुत डाँक सेवालाई प्रभावकारी बनाउने गरी विभाग लागिरहेको उनले जानकारी दिइन् । सेवा प्रवाहमा हामीहरू आफू नागरिक भएर सोच्नु आवश्यक हरेको उनले बताइन् ।

विभागका निर्देशक लिलाराज पौडेलले नेपालमा १४७ वर्ष पहिलेदेखि हुलाक सेवाले काम थालेको बताए । यसलाई प्रभावकारी बनाउन पहल भइरहे पनि अपेक्षित रुपमा आधुनिकीकरण एवं व्यावसायिक बनाउन नसकिएको उनको भनाइ छ ।

हुलाक सेवा विभागका अधिकृत शालिकराम बस्यालले समयको माग र ग्राहकको चाहना अनुसार चाँडो, छरितो, भरपर्दो तथा अत्याधुनिक रुपमा कागजात एवं मालसमान आदानप्रदान गर्न नेपाल सरकारको हुलाक सेवा विभागअन्तर्गत सञ्चालित व्यावसायिक सार्वजनिक सेवा द्रुत डाँक सेवा भएको जानकारी गराए ।

यसमार्फत हुलाक सेवालाई विश्वसनीय र भरपर्दो सेवा प्रवाह गर्ने लक्ष्य राखिएको उनले बताए । निजी सेवा प्रदायकको भन्दा विभागले प्रदान गरेको द्रुत डाँक सेवा लागतमा सस्तो र समयसीमाबद्ध रहेको उनको भनाइ छ ।

जिल्ला समन्वय अधिकारी नवराज बरालले हुलाक सेवाको प्रभावकारिताका लागि जिल्ला समन्वय समितिले समन्वयतात्मक भूमिका खेल्ने बताए । कार्यक्रममा सङ्घीय लोकसेवा आयोग पोखराका प्रमुख ज्ञानेन्द्र पराजुली, हुलाक निर्देशनालय पोखराका निर्देशक नारायणप्रसाद आचार्यलगायतले हुलाक सेवालाई नागरिकसँग जोड्दै सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने आवश्यकता औँल्याए । 

Advertisement

तपाईको प्रतिक्रिया