निर्वाचन आउन ८२ दिन बाँकी, समानुपातिकतर्फ ९३ दललाई चुनाव चिह्न

समाधान संवाददाता २०८२ मंसिर २७ गते ७:२५

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन आउन अब ८२ दिन बाँकी छ । निर्वाचनको मिति नजिकिँदै गर्दा निर्वाचन आयोगले समानुपातिक प्रणालीतर्फ सहभागी हुने राजनीतिक दललाई चुनाव चिह्न प्रदान गरेको छ । आयोगले शुक्रबार दलहरूलाई चिह्न उपलब्ध गराएको हो ।

समानुपातिकतर्फको निर्वाचनमा भाग लिन १०० वटा दलले आवेदन दिएका थिए । तर, दुई वा दुईभन्दा बढी दलले एकल चुनाव चिह्न लिएर संयुक्त रूपमा लड्ने निर्णय गरेकाले कुल ९३ वटा निर्वाचन चिह्न कायम भएको सहायक निर्वाचन अधिकृत यज्ञप्रसाद भट्टराईले जानकारी दिए । दलहरूले मंसिर २१ देखि २३ गतेसम्म आवेदन बुझाएका थिए ।

Advertisement

आयोगले २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा प्राप्त समानुपातिक मतका आधारमा ठूला दलहरूको चिह्नको वरीयता निर्धारण गरेको छ । जसअनुसार पहिलो नम्बरमा सूर्य, दोस्रोमा रुख, तेस्रोमा पाँचकुने तारा, चौथोमा घण्टी, पाँचौंमा हलो, छैटौंमा ढल्केको छाता र सातौंमा लाउड स्पिकर परेका छन् । नयाँ तथा अन्य दलका हकमा भने दर्ता क्रमका आधारमा चिह्न प्रदान गरिएको छ ।

केही दलले मोर्चाबन्दी गर्दै साझा चिह्न लिएका छन् । आयोगका अनुसार नेपाल संघीय समाजवादी पार्टी, बहुजन एकता पार्टी नेपाल र नेपाल जनजागृति पार्टीले एकल चुनाव चिह्न ‘बस’ पाएका छन् । राष्ट्रिय मुक्ति पार्टी नेपाल, जनता समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टी नेपालले ‘चकिया’ (जाँतो) चिह्न रोजेका छन् ।

Advertisement

त्यस्तै, नेपाल कम्युनिस्ट पार्टी (मार्क्सवादी) र नेपाल कम्युनिस्ट पार्टीले ‘कोदालो’ तथा सचेत नेपाली पार्टी र नागरिक सर्वोच्चता पार्टी नेपालले ‘जगर भएको सिंह’ चिह्न पाएका छन् ।

आयोगले अन्य दलहरूलाई पिँध भएको सादा ढकिया, साइकल, मादल, गिलास, लौरो, खुलेको एकल आँखा, जरायो, दुई हात जोडेको नमस्कार, कुखुराको भाले, जग, पन्जा छाप, इनार, डोको, हँसिया र तारा, कमलको फूल, गितार, घरलगायतका चुनाव चिह्न प्रदान गरेको छ ।

तपाईको प्रतिक्रिया