रित्तिँदै तेताङ गाउँ

सुन्दरकुमार थकाली २०८१ मंसिर ७ गते १६:४७
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ३ को तेताङ गाउँ ।

जोमसोम ।
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र ३ तेताङ गाउँमा जलवायु परिवर्तनका विभिन्न असर देखिएका छन् । विश्वमा बढ्दै गएको कार्बन उत्सर्जनका कारण मुस्ताङको तेताङ गाउँमा जलवायु परिवर्तनको असर परेको छ ।

Advertisement


मुस्ताङमा जलवायु संकटका कारण वातावरणीय क्षेत्रमा परेको प्रभावले प्राकृतिक स्रोत, साधन लगायत विभिन्न क्षेत्रमा प्रतिकूल असर परेको छ । एक दशकअघि मुस्ताङको लोमान्थाङ गाउँपालिकाको समजुङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकाको ध्ये गाउँ जलवायु परिवर्तनको असरकै कारण विस्थापित भएका थिए ।


ती दुई गाउँ जस्तै तेताङमा पनि जलवायु परिवर्तनकै प्रभावले गर्दा एक तिहाईले बस्ती छाडिसकेका छन् । एक दशकअघि तेताङमा ४६ घरधुरीको बसोबास थियो । तर, पछिल्लो समय तेताङमा ३० घरधुरीको मात्रै बसोबास छ ।


तेताङका अधिकांश बासिन्दा खेतीपातीकै भरमा बाँचिरहेका छन् । जलवायु परिवर्तनका कारण पर्यावरणीय क्षेत्रमा परेको प्रभावले गर्दा त्यहाँको सिँचाइ गर्ने पानीका मुहानसमेत सुक्दै जान थालेपछि त्यहाँका नागरिकले चलाउँदै आएको कृषि कर्मसमेत संकटमा पर्न थालेको हो ।


तेताङमा गुरुङ समुदायको बस्ती छ । भिरालो पहाडको खोंचमा खेती गर्ने जमिन छ । त्यही जमिनमा खेतीपाती गर्दै वर्षभरीको छाक टार्नुपर्ने तेताङ गाउँका बासिन्दाको बाध्यता छ । ३ दशकअघि गाउँ माथिको लेंकको मुहानबाट आउने पानीले गाउँको सबै खेतीयोग्य जमिनलाई सिञ्चित गर्न पुग्थ्यो ।

Advertisement

दशकअघि लोमान्थाङका समजुङ र लोघेकर दामोदरकुण्डको ध्ये गाउँ विस्थापित भएका थिए । अहिले तेताङबासी गाउँ छाड्दै छन् ।


पछिल्लो समय भने लेकको मुहान पानी घट्दै जान थालेको छ । तेताङमा पर्याप्त मात्रामा खेतीपाती गर्न सिंचाईको अभाव हुन थालेको हो । वारागुङ ३ तेताङका वडा सदस्य धवा गुरुङले जलवायु परिवर्तनको असरले बस्ती स्थान्तरण गर्ने क्रम सुरु हुन थालेको बताए । ‘केही वर्षअघि हाम्रो गाउँमा ४६ भन्दा बढी घरधुरी थिए, अहिले ३० घरधुरीमात्रै छन्’, वडा सदस्य गुरुङले भने, ‘बाँकी ३० घरधुरी पनि घट्दै जान क्रममा छ, यस्तै भयो भने गाउँ पूरै विस्थापित हुने चिन्ता छ ।’


तेताङमा गाउँ माथिको लेंकको मुहानको पानी सुक्दै गएपछि मुहानको पानी संकलन गरी सिंचाइ गर्न थालेको स्थानीय थर्चेन गुरुङले जानकारी दिए । तेताङबासीले खेतमा सिंचाइ गर्न पानी संकलनका लागि पोखरी निर्माण गरेका छन् । रातभरि पोखरीमा मुहानको पानी संकलन गर्ने र दिनमा पालैपालो गरेर खेतमा सिंचाई गर्ने गरिएको स्थानीय थर्चेनको भनाइ छ ।


पोखरीमा संकलन गरिएको पानीले सबै खेतमा पुर्‍याउन मुस्किल हुने गरेको छ । त्यसो त संघीयताअघि साबिक जिल्ला विकास समितिबाट प्राप्त बजेटले नरसिंह खोलाबाट सिंचाइका लागि खोलाको पानी ल्याइएको थियो । करिब ३ किमी टाढाबाट नरसिंह खोलाको पानी कुलोबाट ल्याएर तेताङ बस्तीको खेत खेतमा सिंचाइ गरिएको थियो ।


केही वर्ष अघिको नरसिंह खोलाको बाढीले कुलो क्षति गरेपछि सिंचाइमा समस्या आएको हो । जोमसोम कोरला राजमार्ग अन्तर्गत एउटै वडाको छुसाङ गाउँदेखि पूर्वमा अवस्थित तेताङ गाउँमा अधिकांश प्राचीन शैलीमा निर्माण गरिएको ढुंगा र माटोले निर्मित घर छन् । सडक जोडिएपछि २ क्रंकिट घर बनेका छन् ।


तेताङका कतिपय वैकल्पिक व्यवसायका लागि छुसाङ, कागबेनी, जोमसोम लगायतका स्थानमा सरेका छन् । बस्ती छाडेकाहरुले अन्यत्र खेतापाती अधिया कमाउने, होटल, रेस्टुरेन्ट चलाउने देखि सामान्य ज्याला मजदुरी गर्ने गरेका छन् ।


संघीयतापछि छुसाङदेखि तेताङसम्म कच्ची सडक बनेको छ । हालै गण्डकी प्रदेश सरकारले तेताङदेखि झाङ हुँदै मुक्तिनाथ जोड्ने सडक स्तरोन्नति गरिरहेको छ । उपल्लो मुस्ताङ पुगेर फर्किएका पर्यटक तेताङको पर्यटक पदमार्ग प्रयोग गरी झोङ हुँदै मुक्तिनाथ निस्किन्छन् । तेताङ गाउँबाट मुक्तिनाथ जोड्ने सडक बनिरहेकाले विदेशी पर्यटकले प्रयोग गर्ने वैकल्पिक पदमार्ग मासिने निश्चत भएको छ ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया