कास्की–२ को उपनिर्वाचनः साझाकी उम्मेदवारमा रजनी केसी, संयोजकमा अर्जुन, महानगरमा मनकाजी

समाधान संवाददाता २०७६ भदौ २९ गते १२:३७

अमृत सुवेदी
पोखरा

मंसिर १४ मा हुने उपनिर्वाचनको गर्मी बढिरहेका बेला साझा पार्टीले पोखरामा कार्यक्रम गर्‍यो । कास्की जिल्ला तथा पोखरा महानगर संयोजकको घोषणा भनिए पनि मुख्य उद्देश्य कास्की क्षेत्र नम्बर २ मा हुने निर्वाचनतिरै थियो ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारी दिवंगत भएपछि कास्की क्षेत्र नम्बर २ रिक्त छ । प्रतिनिधि सभाका लागि देशकै १ क्षेत्रमा मात्रै उपनिर्वाचन हुने भएकाले पनि यो क्षेत्रमा सबैको चासो छ । त्यसैमाथि नेकपाका उपाध्यक्ष वामदेव गौतम उम्मेदवार बन्ने चर्चाले माहोल अझै तातिरहेका बेला साझा पार्टीले शनिबार उपनिर्वाचन लक्षित कार्यक्रम गर्‍यो ।

Advertisement

यही कार्यक्रममा क्षेत्र नम्बर २ को उम्मेदवार पनि घोषणा गर्ने साझा पार्टीले यसअघि नै घोषणा गरेको थियो । तर, विशेष कारण देखाउँदै घोषणा नगरे पनि सम्भावित उम्मेदवारको छनक दिएको छ । साझाकी अबको उम्मेदवार हुन्, शनिबारमात्र कांग्रेस परित्याग गरी साझा प्रवेश गरेकी रजनी केसी ।

उनलाई उपनिर्वाचनमा टिकट दिने सर्तमै ल्याइएको साझा पार्टीका एक नेताले बताए । रजनी कांग्रेस पार्टीभित्र ‘स्मार्ट नेतृ’का रुपमा चिनिन्थिन् । मिस पोखरामा सहभागी हुँदादेखि नै चर्चामा आएकी रजनी लामो समय नेपाल विद्यार्थी संघमा क्रियाशील बनिन् । नेविसंघ, महिला संघको राजनीति हुँदै कांग्रेसमा चिनिएकी रजनी प्रखर नेतृ मानिन्छिन् ।

Advertisement

उनी नै क्षेत्र नम्बर २ को उम्मेदवार भएको औपचारिक घोषणा नगरे पनि साझा पार्टीकै नेताहरुले रजनीलाई उठाउने पक्का गरेरै प्रवेश गराइएको बताइएको छ । उनी नै अबको बलियो उम्मेदवार भएको पार्टी संयोजक रवीन्द्र मिश्रले पनि संकेत दिए । मिश्रले सम्बोधन गर्नुअघि रजनीलाई पार्टी प्रवेश गर्नेहरुमध्येबाट मन्तव्य राख्न दिइएको थियो । मिश्रले कास्कीकै व्यक्तिलाई उम्मेदवार बनाउने घोषणामात्रै गरेनन्, शनिबारै घोषणा भएका र आफूभन्दा अघि मन्तव्य राख्नेहरु नै प्रभावशाली भएको बताए । ‘कास्कीमा म उठ्नेबारे चर्चा चल्यो । सामाजिक सञ्जालमा पनि फैलियो,’ मिश्रले भने, ‘आजमात्र पार्टी प्रवेश गर्ने र संयोजक घोषणा हुने साथीहरु नै यति शसक्त र ऊर्जाशील हुनुहुन्छ ।’

रजनीलाई शनिबार साधारण सदस्यको रुपमा भित्र्याउने र उम्मेदवारको रुपमा पछि सार्वजनिक गर्ने साझा पार्टीको रणनीति छ । रजनीले पुरानो पार्टीको राजनीतिमा व्यतित गरेको समयको अनुभव सुनाउँदै वैकल्पिक राजनीतिबारे तार्किक मन्तव्य राखेकी थिइन् । कांग्रेसमा लामो समय व्यतित गरे पनि कहिल्यै पद लोलुप नभएको बताउँदै साझा पार्टीबाट पनि कुनै पदका बार्गेनिङ नगरी साधारण सदस्यको रुपमा प्रवेश गरेको रजनीको उद्घोष थियो ।

विभिन्न संस्था र संगठनमा नेतृत्व गरेको अनुभवलाई हेरेर साझा पार्टीले टिकट दिए उम्मेदवार हुने सम्भावना रहने रजनीले समाधानलाई प्रतिक्रिया दिइन् । ‘टिकटबारे अहिलेसम्म कुरा भएको छैन । विभिन्न संस्थामा रहेर काम गरेको अनुभव छ । पार्टीमा निर्णय गरेर उठाइहाले सम्भावनालाई नकार्न सकिन्न,’ उनको प्रतिक्रिया थियो ।

उनी पोखरा विश्वविद्यालयमा उपप्रशासकको रुपमा कार्यरत थिइन् । रजनीले टिकटबारे पार्टीमा छलफल नभएको बताए पनि पेन्सन पाक्ने गरी निर्वाचनलाई नै लक्ष्य गरेर पोखरा विश्वविद्यालयबाट राजीनामा पनि दिइसकेकी छन् । २० वर्ष पोखरा विद्यालयमा सेवा गरेकी रजनीको राजीनामा कात्तिक १ गतेबाट लागु हुने गरी स्वीकृत भइसकेको छ ।

‘म समाज सेवामा अझै कसरी लाग्न सकिन्छ भनेर खोजिरहेकी थिएँ । त्यसैले पनि पोखरा विश्वविद्यालयबाट राजीनामा दिएकी हुँ,’ उनले भनिन् । अहिले साधारण सदस्यको रुपमा भित्र्याएर अझ चर्चामा ल्याउने र अर्कोपटक उम्मेदवार घोषणा कार्यक्रम गर्ने साझाको भित्री रणनीति रहेको बुझिएको छ ।

रजनीले कांग्रेस निकट प्रजातान्त्रिक कर्मचारीहरुको संगठनमा २ पटक नेतृत्व गरिसकेकी थिइन् । उनले नेपाल महिला संघको क्षेत्रीय सभापति भएर पनि काम गरिन् ।

केसी २०५३ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियु निर्वाचनमा नेविसंघबाट सदस्यकी उम्मेदवार थिइन् । त्यतिबेला अखिलका दिलीपविक्रम शाही स्ववियु सभापति निर्वाचित भएका थिए । पराजितमध्ये केसीले सर्वाधिक मत ल्याएकी थिइन् ।

कास्कीमा अर्जुन, महानगर संयोजकमा मनकाजी
साझा पार्टीले कास्की जिल्ला र पोखरा महानगर संयोजक घोषणा गरेको छ । पार्टीको कास्की जिल्ला संयोजकमा अर्जुनप्रसाद खनाल र पोखरा महानगर संयोजकमा मनकाजी गुरुङलाई जिम्मेवारी दिइएको छ ।

साझाले शनिबार गरेको कार्यक्रममा केन्द्रीय संयोजक रवीन्द्र मिश्र र गण्डकी प्रदेश संयोजक महेश भण्डारीले संयुक्त रुपमा माटोको टीका लगाएर जिल्ला र महानगर संयोजक घोषणा गरेका थिए ।

साझा पार्टीको जिल्ला संयोजकको जिम्मेवारी पाएपछि खनालले पुराना राजनीतिक दलका क्रियाकलापबाट वाक्क भएर वैकल्पिक राजनीतिलाई रोजेको बताए । उनी पहिले अखिलका नेता थिए । पुराना राजनीतिक दल र तीनले चलाएको सरकारबाट आजीत भएर गाली गर्दै बस्नुको साटो फोहोरी राजनीतिलाई सफा गर्न आफैं राजनीतिमा लाग्नुपर्ने निष्कर्ष निकाल्दै साझा पार्टीमा लागेको उनको भनाइ थियो ।

साझा पार्टीको कास्की जिल्ला संयोजक खनाल राजनीतिशास्त्रमा स्नातकोत्तर हुन् । कानुनको विद्यार्थी समेत रहेका खनाल युवा व्यवसायी पनि हुन् । पोखरा महानगर संयोजक गुरुङले नजिकिँदै गरेको उपनिर्वाचनभन्दा युवाले राजनीति गर्ने होइन भन्दाभन्दै देश पछाडि परेको बताए । राजनीतिमा अब युवा नै आउनुपर्छ र निष्ठाको वैकल्पिक राजनीति गर्नुपर्छ भनेर साझा प्रवेश गरेको गुरुङको भनाइ थियो । गुरुङ निजी विद्यालय सञ्चालक हुन् ।

कास्की–२ को उपनिर्वाचनमा जित्ने गरी आउँछौंः मिश्र
कार्यक्रममा बोल्ने अधिकांश नेता कास्की–२ को उपनिर्वाचनमै केन्द्रित रहे । पोखरा र कास्कीको संयोजकको जिम्मेवारी पाएका राजन खनाल र मनकाजी गुरुङदेखि गण्डकी प्रदेश संयोजक महेश भण्डारी हुँदै संयोजक मिश्रसम्मले कास्की–२ को उपनिर्वाचनमा हस्तक्षेपकारी रुपमा साझा पार्टी आउने दाबी गरे ।

संयोजक मिश्रले जित्ने गरी र अहिलेको सरकारलाई पाठ सिकाउने गरी उपनिर्वाचनमा सहभागी हुने बताए । मुख्य प्रतिद्वन्द्वी नै साझा पार्टी हुने मिश्रको दाबी थियो । ‘यो उपनिर्वाचनमा कास्कीका जनताले वैकल्पिक शक्तिको रुपमा उदाएको साझा पार्टीलाई जिताएर एउटा गतिलो सन्देश दिनेछन् । दुई तिहाईको यो सरकारलाई गतिलो झापड दिनेछन्,’ उनले भने, ‘अझै पनि मेरो या तेरो पार्टी भनेर उही पुरानै दललाई जिताउने हो भने विकास र सवृद्धिको बाटोमा देश अगाडि बढ्न सक्दैन ।’

पार्टीका संगठन विभाग प्रमुख केशव दाहाले यो देशलाई यहाँसम्म ल्याउने पुस्ताको योगदान र त्यागलाई सम्मान गर्दै अब नयाँ वैकल्पिक राजनीति सुरु भएको बताए । गण्डकी संयोजक महेश भण्डारीले उपनिर्वाचन लक्ष्य गर्दै कास्की र महानगरमा संगठन विस्तार भएको बताए ।

तपाईको प्रतिक्रिया