फेवाताल बचाउने पहल

समाधान संवाददाता २०७६ असोज १० गते १४:०९

हरि बास्तोला
पोखरा

पर्यटकीय नगरी पोखरास्थित फेवातालमा फैलिएको जलकुम्भी झारले ताललाई कुरुप बनाइरहेका अवस्थामा यसलाई बचाउन बृहत् सरसफाइ अभियान सुरु गरिएको छ । वर्षासँगै विभिन्न खोलाले बगाएर ल्याएको जलकुम्भी र करौँते झारका कारण कुरुप बनेको फेवाताललाई सफा र शुद्ध बनाउने लक्ष्यका साथ अभियान थालिएको हो । फेवातालको बीच भागमा अवस्थित तालबाराही मन्दिर जाने बाराहीघाटबाट जलकुम्भी झार निकालेर महानगर प्रमुख मानबहादुर जिसीले अभियानको शुभारम्भ गरे । फेवाताल सरसफाइ महानगरको प्राथमिकतामा रहेको बताउँदै उनले यतिखेर सिरानबाट अध्यधिक जलकुम्भी झार आएर तालको भू–भाग ढाकेपछि बृहत् अभियान सुरु गरिएको जानकारी दिए । उनका अनुसार पहिलो चरणमा यही १३ गतेसम्मको कार्यक्रम तयार भइसकेको छ । प्रत्येक दिन बिहान ७ देखि ९ बजेसम्म जलकुम्भी झिकिने योजना छ । अभियानमा सुरक्षा निकाय, जनप्रतिनिधि एवं कर्मचारी, पर्यटन व्यवसायी, डुंगा व्यवसायी, नागरिक समाजसहित ४ सय जनाको सहभागिता थियो ।

पोखरा महानगरपालिकाद्वारा सञ्चालित तालबाट झार झिक्ने अत्याधुनिक मेसिनसहित २ वटा जेसिभी प्रयोग गरी ३० टनभन्दा बढी जलकुम्भी झार निकालिएको जलकुम्भी झार सरसफाइ समितिका संयोजक पुण्य पौडेलले जानकारी दिए ।

Advertisement

तालबाट जलकुम्भी झारलाई निकालेर सफा बनाउने अभियानमा सहभागी बन्न पोखरेलीलाई आह्वान गर्दै उनले सबैको सहयोगबाट नै ताल सुन्दर र कञ्चन बन्ने विश्वास व्यक्त गरे । हिउँदको फागुन, चैत र वैशाख महिनामा जलकुम्भी झारको उर्वरस्थान विभिन्न खोलाका मुहानमा नै नष्ट गरी तालको सफाइमा उचित ध्यान दिइने उनको भनाइ छ । पोखरा महानगरपालिका ६ बैदामका स्थानीय एवं फेवा डुंगा व्यावसायिक समितिका सदस्य ७० वर्षीय वेदनिधि पहारीका अनुसार तालमा यसअघि यति धेरै जलकुम्भी आएको थिएन । फेवातालमा पैmलिएको जलकुम्भी झार निकाल्न र ताललाई सधैं सफा र सुन्दर राख्न विभिन्न ८ वटा डुंगाघाट र जलाहारी समुदायलाई परिचालन गरी स्थायी समाधान खोजिनुपर्नेमा उनको जोड छ ।

अभियानअन्तर्गत बिहीबार बाराही घाटभन्दा उत्तरपट्टिको क्षेत्रमा बृहत् सरसफाइ कार्यक्रममा १ सयभन्दा बढी डुंगा परिचालन गरिएको फेवा डुंगा व्यवसायी संगठनका अध्यक्ष बुद्धिबहादुर नेपालीले जानकारी दिए । फेवाताल सरसफाइमा हेभी इक्युमेन्ट व्यवसायी संघ कास्की र बिसिसि कन्ट्रक्सनद्वारा दैनिक २ वटा जेसिभी उपलब्ध गराएको संघका अध्यक्ष निश्चल पोखरेलले जानकारी दिए । कार्यक्रममा पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसी, उपपमुख मञ्जुदेवी गुरुङ, विभिन्न वडाका वडाध्यक्ष एवं सदस्य, नेपाली सेना, सशस्त्र प्रहरी, जनपथ प्रहरी, नागरिक समाज र बृटिस, भारत, सिंगापुरमा भर्ती हुनका लागि तयारी गरिरहेको युवाको उल्येख्य सहभागिता थियो । फेवाताललाई जलकुम्भी झारले ढपक्कै ढाकेपछि पोखरा महानगरपालिकाको आह्वानमा मंगलबार बसेको आकस्मिक बैठकले ३ वटै सुरक्षा निकाय, पर्यटन व्यवसायी, फेवा डुंगा व्यवसायी, नागरिक समाजसहित विभिन्न संघसंस्थाको सहभागितामा ताल सरसफाइ गर्ने निर्णय भएको थियो । नेपालमा कृषि र ग्रामीण क्षेत्रमा काम गरिरहेको जापानी संस्था जाइकाले विसं २०६३ र २०६४ मा फेवातालको अध्ययन गरी प्रतिवेदन तयार पारेको थियो । जाइकाको प्रतिवेदनमा युरिया र अन्य रासायनिक मलका कारण फेवातालमा जलकुम्भी फैलिएको उल्लेख छ ।

Advertisement

प्रतिवेदनका अनुसार ताल वरिपरिको खेतीमा रासायनिक मलको प्रयोग, तालमा मिसिने ढल, तालमा हुने फोहोर, तालको मुहानमा हुने भू–क्षयका कारण फेवातालमा जलकुम्भी बढेको हो ।

फेवातालमा ४० वर्षअघिदेखि देखिएको जलकुम्भी झार नियन्त्रण गर्न तालका अन्य वनस्पति र जीवजन्तुको प्रजनन् नबिगार्ने गरी यसको व्यवस्थापन हुनुपर्ने विज्ञको धारणा छ । झारलाई यसै पुर्ने वा फाल्नेभन्दा पनि ताल क्षेत्रबाट कम्तीमा ३ किलोमिटर पर लगी जलाएर नष्ट गरिनुपर्ने विज्ञ बताउँछन् ।

तपाईको प्रतिक्रिया