पोखरामा बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु

समाधान संवाददाता २०८१ माघ २२ गते १९:३९

पोखरा । पोखरामा मंगलबारदेखि आठौं वीरेन स्मृति एवं १८ औं बिटी कप सेभेन ए साइड फुटबल प्रतियोगिता सुरु भएको छ । ‘हामी एक हौं’ भन्ने नारासहित क्रियाशील बुद्धटोल युवा क्लबको आयोजनामा पोखराको टुँडिखेल मैदानमा सुरु भएको प्रतियोगिता उद्घाटन गृहमन्त्री रमेश लेखकले गरे ।

Advertisement

उद्घाटन खेलमा आयोजक बुद्धटोल युवा क्लबले क्याफे अमेरिकानो बारिस्टा ट्रेनिङ सेन्टरलाई २–० गोल अन्तरले पराजित गर्दै आयोजक दोस्रो चरणमा प्रवेश गरेको छ । क्लबका अध्यक्ष आसीम थापाले बुद्धटोलको जीतमा विपिन मगर र रिनिस तामाङले समान १ गोल गरेको जनाए ।

दोस्रो खेलमा एन टु क्याफेले मसिना बगरलाई १–० गोलले पराजित गर्‍यो । एन टु क्याफेको जीतमा विशाल गुरुङले निर्णायक गोल गरे । मंगलबार पनि पहिलो चरणकै खेल हुने छन् ।

कार्यक्रममा गृहमन्त्री लेखकले राजनीतिकर्मीले खेलकुदबाट अनुशासन सिक्नु आवश्यक रहेको बताए । ‘खेलकुदले सबैलाई अनुशासनमा राख्छ । अहिले राजनीतिकर्मीले खेलकुदबाट अनुशासन सिक्न जरुरी देखिएको छ,’ गृहमन्त्री लेखकले भने, ‘खेलकुदले आपसी सद्भाव कायम गर्छ । खेलकुद राष्ट्र र स्वास्थ्यका लागि अनिवार्य छ ।’

उनले अहिले युवा कुलतमा फसिरहेकाले क्लबहरुले जनचेतनामूलक कार्यक्रम अगाडि बढाउन आवश्यक रहेको औंल्याए । बुद्धटोल युवा क्लबको आयोजनामा भएको प्रतियोगितामा ४८ टिमको सहभागिता छ ।

Advertisement

प्रतियोगिताका विजेताले १ लाख ८१ हजार १ सय ११ र उपविजेताले १ लाख ११ हजार १ सय ११ रुपैयाँसहित ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । क्लबका सचिव रेशम सापकोटाले प्रतियोगितामा विधागतर्फ सर्वोकृष्ट खेलाडी, गोलरक्षक, डिफेन्डर र मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही ७ हजार पाउने छन् । प्रतियोगितामा अनुशासित टिमलाई ९ हजार प्रदान गरिनेछ ।

तपाईको प्रतिक्रिया