लेकसाइडमा कोटिहोम नगर्न पर्यटन संस्थाहरुको आग्रह

पोखरा ।
पोखरा पर्यटन परिषदसहितका संस्थाहरूले बाराही खेल मैदान र क्याम्पिङ साइटको मैदानमा हुने भनिएको कोटिहोम महायज्ञबारे ध्यानाकर्षण गराएका छन् ।
पर्यटन मैत्री वातावरणका निम्ति उचित स्थान र समयमा मात्र धार्मिक कार्यक्रमहरू आयोजना गर्न ती संस्थाले ध्यानाकर्षण गराएका हुन् । ती संस्थाद्वारा बुधबार जारी विज्ञप्तिमा पर्यटकहरूको प्रमुख आवास क्षेत्रहरूमा पर्यावरणीय प्रभाव पार्ने कुनै पनि गतिविधि नगर्न आग्रह गरिएको छ ।
‘फागुनदेखि जेठ महिनासम्म विदेशी पर्यटकहरूको सिजनमा, पोखराको वातावरण शान्त र सफा राख्नुपर्ने आवश्यकता छ,’ विज्ञप्तिमा भनिएको छ । लामो समयदेखि संरक्षण गरिएको रुखहरूको कटान र वायु तथा ध्वनि प्रदूषणको समस्याबारे पनि ध्यानाकर्षण गराइएको छ ।
पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ पहारी, होटल संघ पोखरा, नेपालका अध्यक्ष लक्ष्मण सुवेदी, नेपाल एशोसियसन अफ टुर एण्ड ट्राभल्स एजेन्टस् (नाट्टा) गण्डकीका अध्यक्ष किशोर दाहाल, ट्रेकिङ एजेन्सिज् एसोसियसन अफ नेपाल (टान) गण्डकीका अध्यक्ष कृष्णप्रसाद आचार्य, रेष्टुरेण्ट एण्ड वार एशोसियसन (रेबान) पोखराका अध्यक्ष विश्वराज पौडैल, पोखरेली ट्याक्सी सेवा प्रालिका अध्यक्ष शोभाकान्त पौडेल, नेपाल हवाई खेलकुद संस्था पोखराका अध्यक्ष अनिल केसी, ट्रेकिङ इक्युपमेन्ट सप एसोसियसन (टेसा) पोखराका कोषाध्यक्ष रमेश अधिकारी, इम्ब्रोडरी गार्मेट एसोसियसन (एगा) पोखराका अध्यक्ष गोकर्ण लम्साल, नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेशका अध्यक्ष दुगार्दत्त दाहाल, नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेशका अध्यक्ष विकास गुरुङ, गाँउ पर्यटन प्रवद्र्धन मञ्च–नेपाल, गण्डकीका अध्यक्ष लक्ष्मण पहारी र नारा पोखराका अध्यक्ष वीरेन्द्र लामा लगायतले विज्ञप्ति जारी गरेका हुन् ।
प्रेस विज्ञप्ति
पोखरा पर्यटन परिषद लगायतका पर्यटन व्यवसायी सङ्ग संस्थाहरू सबै प्रकारका धार्मिक, सांस्कृतिक, प्राकृतिक, साहसिक पर्यटकहरूको प्रवर्द्धन र विकासमा प्रतिबद्ध छौँ। पोखरालाई संसारमा Pokhara Paradise को ब्रान्डबाट चिनिन्छ, अर्थात पोखरा प्राकृतिक रूपमा सुन्दर र शान्त गन्तव्य रहेको कुरा पर्यटन बजारमा प्रसिद्ध नै छ।
पोखरा पर्यटन परिषद लगायतका पर्यटन व्यवसायी संस्थाहरू उपयुक्त प्रकारका धार्मिक पर्यटकहरूको प्रवर्द्धन गर्ने विषयमा स्पष्ट भएता पनि कुनै पनि धार्मिक गतिविधिहरू उपयुक्त समयमा, उपयुक्त स्थानमा र उपयुक्त तरिकाबाट आयोजना गर्नुपर्ने भन्ने धारणा राख्दछ। पर्यटकीय राजधानी घोषणा भइसकेको पोखरामा पोखरा महानगरपालिका र स्थानीय प्रशासनबाट स्वीकृति नलिईकन आयोजना गरिने कार्यक्रमहरूको पोखरा पर्यटन परिषदले समर्थन गर्न सक्दैन।
श्री मानव सेवा फाउन्डेशन नेपालको आयोजनामा मुख्य पर्यटकीय स्थानमा रहेका पोखरा ६ मा पर्ने नेपाल ट्रस्टको स्वामित्वमा रहेको बाराही खेल मैदान र उद्योग तथा पर्यटन मन्त्रालयको स्वामित्वमा रहेको क्याम्पिङ्ग साइटको मैदानमा श्री गण्डकी शत(सय) कुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञ २०८१ को आयोजना गरिएको कुरा प्रति सम्पूर्ण पर्यटन व्यवसायी संस्थाहरूको गम्भीर ध्यानाकर्षण भएको छ।
सामान्यतया फागुनदेखि जेठसम्मको समयलाई विदेशी पर्यटकहरूको सिजनको समय मानिन्छ। यस समयमा यहाँको वातावरण शान्त, सुन्दर र सफा हुनुपर्दछ। सुख्खा याममा दिन–रात दाउरा वालेर अग्नी हवन गर्ने र माइक्रोफोन प्रयोग गरी निरन्तर भजन कृतन गर्ने कार्यले वायु तथा ध्वनि प्रदूषण हुने देखिन्छ।
यस कार्यको पूर्व सन्ध्यामा वर्षैदेखि संरक्षण गरी राखिएका रुखहरूको निर्मम कटान गरिएको कुराले पोखरा वासीलाइ झस्काएको अवस्था छ। यिनै विषयमा छलफल गर्न पोखरा पर्यटन परिषद्मा आवद्ध सम्बै संस्थाहरूको संयुक्त बैठक मिति २०८१।१०।२३ मा बसेर देहाय बमोजिमका निर्णयहरू गरिएको कुरा अवगत गराउन चाहन्छौँ।
१. पर्यटकहरूको मुख्य आवास क्षेत्रमा रहेका खुल्ला स्थानहरूको प्रयोग पर्यटन मैत्री वातावरण निर्माणका लागि मात्र हुनुपर्दछ। तसर्थ, पोखरा पर्यटन परिषद् लगायतका पर्यटन व्यवसायी संस्थाहरू सङ्ग समन्वय गरेर मात्र उपयोगको अनुमति दिनुपर्ने देखिन्छ। प्रस्तावित कोटीहोम महायज्ञका आयोजकहरूले पर्यटन क्षेत्रसँग समन्वय नगरी प्रस्तावित गरिएको र सो कोटीहोमका लागि प्रस्तावित क्षेत्र उपयुक्त नहुने भएकोले उल्लेखित स्थानमा सो कोटीहोमको आयोजना नगर्नुहोस् भन्ने निर्णय गरिएको छ।
२. लामो समयदेखि संरक्षण गरी राखिएका रुखहरूको निर्मम कटान गर्ने कार्य तत्काल रोक्न र नियमविपरीत वातावरण बिगार्ने गरी रुख कटान गर्नेलाई नियमानुसार कारबाही गर्नका लागि सम्बन्धित पक्षको ध्यानाकर्षण गर्ने निर्णय गरिएको छ।
३. नेपाल ट्रस्ट र पर्यटन मन्त्रालयको स्वामित्वमा रहेका माथि उल्लेखित स्थानहरूको उपयोगको अनुमति दिँदा पोखरा महानगरपालिका र स्थानीय प्रशासनको सहमति लिएर मात्र सो स्थान उपयोग गर्ने व्यवस्था मिलाउनको लागि अनुरोध गर्ने निर्णय गरिएको छ।
४. पर्यटन क्षेत्रमा रहेका उल्लेखित स्थानहरूको व्यवस्थापन, उपयोग र संरक्षण गर्न पोखरा पर्यटन परिषद्को सहभागिता हुने गरी स्थानीय व्यवस्थापन समिति गठन गरी सोही समितिको निर्णय तथा सिफारिसमार्फत मात्र उपयोगको अनुमति दिने व्यवस्था गर्नका लागि सम्बन्धित पक्षलाई अनुरोध गर्ने निर्णय गरिएको छ।
तारानाथ पहारी, अध्यक्ष पोखरा पर्यटन परिषद्
लक्ष्मण सुवेदी, अध्यक्ष होटल संघ पोखरा, नेपाल
किशोर दाहाल, अध्यक्ष नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल्स एजेण्टस् (नाट्टा) गण्डकी
कृष्ण प्रसाद आचार्य, अध्यक्ष ट्रेकिङ एजेन्सीज् एशोसिएशन अफ नेपाल (टान) गण्डकी
विश्वराज पौडैल, अध्यक्ष रेष्टुरेण्ट एण्ड बार एशोसिएसन (रेवान) पोखरा
शोभाकान्त पौडेल, अध्यक्ष पोखरेली ट्याक्सी सेवा प्रालि
अनिल के.सि, अध्यक्ष नेपाल हवाई खेलकुद संस्था पोखरा
रमेश अधिकारी, कोषाध्यक्ष ट्रेकिङ इक्युपमेन्ट सप एशोसिएसन (टेसा) पोखरा
गोकर्ण लम्साल, अध्यक्ष इम्ब्रॉयडरी गार्मेट एशोसिएसन (एगा) पोखरा
दुगार्दत्त दाहाल, अध्यक्ष नेपाल पर्यटक यातायात व्यवसायी संघ गण्डकी प्रदेश
विकास गुरुङ, अध्यक्ष नेपाल पर्वतारोहण संघ गण्डकी प्रदेश
लक्ष्मण पहारी, अध्यक्ष गाँउ पर्यटन प्रवद्र्धन मञ्च–नेपाल, गण्डकी
वीरेन्द्र लामा, अध्यक्ष नारा पोखरा
तपाईको प्रतिक्रिया