व्यवसायमा जिम्मेवारी र जवाफदेहिता आवश्यक

समाधान संवाददाता २०८१ माघ २८ गते २०:१३

पोखरा । नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेशले व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना कार्यान्वयनबारे सोमबार परामर्श कार्यशाला आयोजना गरेको छ । कार्यशालामा नेपाल उद्योग वाणिज्य महासंघका परामर्शदाता हंसराज पाण्डेले निजी क्षेत्रले जिम्मेवार र जवाफदेही व्यवसायको अवधारणालाई आत्मसाथ गर्दै मानव अधिकारको परिपालना गर्नुपर्ने बताए ।

Advertisement

उनले मानव अधिकारसम्बन्धी पाँचौ राष्ट्रिय कार्ययोजनाले तोकेको व्यवस्था अनुसार व्यवसाय र मानव अधिकारसम्बन्धी राष्ट्रिय कार्ययोजना (२०८०/०८१ २०८४/०८५) निर्माण गरेर लागू गरेको जानकारी दिए । उनले उद्योग व्यवसाय र प्रतिष्ठानमा मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्र संघीय मार्गदर्शक सिद्धान्तले समेत छुट्टै कार्ययोजना निर्माण गरी लागू गर्ने व्यवस्था गरेको उल्लेख गरे ।

व्यवसाय र मानव अधिकार सम्बन्धित ५ वर्षे राष्ट्रिय कार्ययोजनाको कार्यान्वयन र निजी क्षेत्रका लागि मार्गदर्शन पुस्तिकाको बारेका कार्यपत्र पेश गर्दै उनले श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कार्ययोजना स्वीकृत गरी कार्यान्वयनको सुरुवात गरेको बताए । उनले कार्ययोजनामा मानव अधिकारको पालना, व्यवसायिक क्रियाकलाप गर्दा मानव अधिकार उल्लघंनको रोकथामसम्बन्धी क्रियाकलाप समेटिएको बताए ।

संयुक्त राष्ट्र संघीय मार्गदर्शक सिद्धान्त बमोजिम मानव अधिकारको संरक्षण र सम्मान गर्ने दायित्व राज्यको हुने उल्लेख गर्दै उनले राज्य भित्रका अंगको रुपमा रहेका व्यवसाय क्षेत्रको जिम्मेवारी मानव अधिकारको सम्मान गर्ने भएको टिप्पणी गरे । ‘सबै व्यवसायीले जिम्मेवार, जवाफदेही र दायित्व बोध गरेर मानव अधिकार उल्लघंनका घटना हुन दिनु हँुदैन,’ उनले भने, ‘मानव अधिकार उल्लंघन भएको अवस्थामा न्यायिक वाहेकका संयन्त्रमार्फत सहज उपचार र क्षतिपूर्ति प्राप्त हुन व्यवस्था कार्ययोजनामा छ ।’

उनले व्यवसायिक प्रतिष्ठानले मानव अधिकारको हनन भएको अवस्थामा विवादको निरुपण तथा गुनासो सुन्ने सयन्त्रको व्यवस्था गर्नुपर्ने सुझाव दिए । कतिपय देशले मानव अधिकार र व्यवसायजन्य कानुन बनाएको जानकारी दिँदै उनले मानव अधिकार उल्लघंन गरेको व्यवसायिक प्रतिष्ठानले उत्पादन गरेको सामग्री बहिस्कार हुन सक्ने संकेत गरे ।

Advertisement

राष्ट्रिय कार्ययोजनाको प्रभावकारी कार्यान्वयनबाट सबै व्यवसायिक गतिविधिलाई व्यवस्थित र मानव अधिकारमैत्री बनाउन सहयोग पुग्ने चर्चा गर्दै उनले नेपालले अन्तर्राष्ट्रिय क्षेत्रमा गरेको प्रतिबद्धता पूरा गर्नसमेत कार्ययोजनाको सफल कार्यान्वयन आवश्यक रहेको बताए । उनले कार्यायोजनाको कार्यान्वयनबाट सार्वजनिक, निजी र समाजका सबै क्षेत्रमा मानव अधिकारको सम्मान गर्ने संस्कृतिको विकास हुने विश्वास व्यक्त गरे । उनले राष्ट्रिय कार्ययोजनाको ५ १देखि ८७ सम्म उद्योग व्यवसायले गर्नुपर्ने जिम्मेवारी तोकिएको बताए ।

नेपाल उद्योग वाणिज्य महासंघको सहायक निर्देशक सीता घिमिरेले व्यवसायिक क्षेत्रले मानव अधिकारको पालना सम्बन्धमा मापदण्ड बनाई कार्यान्वयन गर्नुपर्ने बताइन् । उनले निजी क्षेत्रले नाफा कमाउन मात्र नभई समुदाय र समाज विकासको सहयोगी बन्न मानव अधिकारको पालना गर्नुपर्ने उल्लेख गरिन् । मानव अधिकारको सम्मानमा निजी क्षेत्र महत्वपूर्ण चालक भएको जानकारी दिँदै उनले मानव अधिकारको पालनालाई बोझभन्दा अवसरको रुपमा लिन आग्रह गरिन् ।

कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष सुरकृष्ण वैद्यले श्रम सम्बन्धी सबै नीति लागू गर्न महासंघ सहमत भए पनि उद्योगी व्यवसायीले सबै जिम्मेवारी पूरा गर्न नसक्ने बताए । कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ गण्डकी प्रदेश अध्यक्ष अमृत भट्टचन, उपाध्यक्ष सूर्यबहादुर भुजेल, उद्योगी व्यवसायी हरि शर्मा गैरे, रामकली खड्का, झलकलाल श्रेष्ठ, राष्ट्रिय अपांग महासंघ कास्की पूर्व अध्यक्ष हेमबहादुर गुरुङ लगायतले व्यवसाय र मानव अधिकारको विषयमा बोलेका थिए ।

तपाईको प्रतिक्रिया