चीनको युनासँग सहकार्य गर्न गण्डकी तयार

समाधान संवाददाता २०७६ मंसिर ११ गते १३:१२

समाधान संवाददाता, पोखरा

गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ र चीनको युनान प्रान्तका गभर्नर रुआन छेङफाबीच भेटवार्ता भएको छ । सोमबार पोखरामा भएको भेटमा २ पक्षीय हित र सहयोग आदानप्रदानका विषयमा छलफल भएको मुख्यमन्त्रीका स्वकीय सचिव सूर्यप्रसाद गुरुङले जानकारी दिए ।

मुख्यमन्त्री गुरुङ सुरुआतमा प्रदेशको भौगिलिक, सास्कृतिक र प्रसिद्ध स्थान बारे जानकारी गराएका थिए । उनले गण्डकी प्रदेश पर्यटन र जलविद्युतको सम्भावनायुक्त प्रदेश भएकोले यसमा युनान प्रान्तसँग सहकार्य गर्न इच्छुक रहेको बताएका थिए । बुढी गण्डकी, कालीगण्डकी जस्ता जलविद्युतका सम्भावनायुक्त नदीहरु प्रदेशमा रहेको जानकारी गराउँदै उनले यसमा लगानी गर्न गभर्नर सहितको टोलीसँग आग्रह गरे ।

Advertisement

गण्डकी प्रदेशले सन २०२२ सम्ममा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको भन्दै चीन र विशेष युनान प्रान्तले प्रचार प्रसारमा सहयोग गर्ने विश्वास व्यक्त गरे । जवाफमा गभर्नर छेङफाले युनान प्रान्त पनि जलविद्युतको धनी भएकोले यसमा सहयोग र सहकार्यका लागि आफूहरु तयार बताए । जलविद्युत लगायत क्षेत्रमा सहयोग आदानप्रदानका लागि आफू नेपाल भ्रमणका आएको भन्दै उनले जलविद्युत क्षेत्रमा चीन सरकार र आफ्नो प्रान्तले सहयोग गर्ने प्रतिबद्धता जनाए । युनान प्रान्तमा गत वर्ष करिब १ अर्ब पर्यटकले भ्रमण गरेको दृष्टान्त दिँदै उनले नेपाल र गण्डकी प्रदेशको प्रचार÷प्रसारमा सहयोग गर्ने वचन दिएका थिए । उनले पोखरा सहर युनानबासीका लागि निकै मनपर्ने सहर भएको भन्दै आफू पोखरा आउन पाउँदा निकै खुसी लागेको प्रतिक्रिया दिए ।

भेटमा मुख्यमन्त्री गुरुङले प्रदेशमा चीनसँग जोड्ने ३ वटा नाका भएको जानकारी दिँदै कोराला नाका खोल्ने विषयमा हालै भएको चिनिया राष्ट्रपति भ्रमणको क्रममा सहमति भएको बताए । उनले यो नाका खुल्ला गरिएमा चीनसँग व्यापारमा बृद्धि हुने विश्वास व्यक्त गरे । जवाफमा गभर्नरले चाँडै नाका खुल्ने विश्वास व्यक्त गरे ।

Advertisement

छिट्टै मितेर साइनो
युनान प्रान्त गभर्नर छेङफाले २ प्रदेशबीच मितेरी सम्बन्ध बनाएर अगाडि बढ्न आफूहरु इच्छुक रहेको प्रस्ताव राखेका छन् । मितेरी साइनो गाँसेर अगाडि बढ्दा धेरै विषयमा सहयोग आदान प्रदान गर्न र अनुभव साट्न सहज हुने उनले बताए । दुवै प्रदेशका विदेश मामिला हेर्ने प्रतिनिधिबीच छलफल गराएर यसलाई अगामी दिनमा मितेरी सम्बन्धका लागि आधार बनाउन सकिने चिनिया पक्षले राखेको थियो । जवाफमा मुख्यमन्त्री गुरुङले दुवै प्रदेशको भौगोलिक बनावट एकै प्रकारको भएकाले विभिन्न विषयमा अनुभव आदान प्रदान गर्न सकिने भएकोले यसमा गण्डकी प्रदेश सकारात्मक भएको बताएका थिए । गभर्नर छेङफाले ढिला भए पनि मितेरी साइनो गासिने आशा व्यक्त गरे ।

तपाईको प्रतिक्रिया