साग महिला क्रिकेट आजदेखि

समाधान संवाददाता २०७६ मंसिर १६ गते १३:२१

विकास रोकामगर
पोखरा

१३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत सोमबार पोखरास्थित क्रिकेट रंगशालामा महिला क्रिकेट प्रतियोगिता हुँदैछ । प्रतियोगिताको पहिलो खेलमा नेपालले माल्दिभ्सको सामना गर्नेछन् । नेपाली टिमको कप्तानी रुविना क्षेत्रीले सम्हालेकी छिन् ।

साग महिला क्रिकेटमा नेपालसहित बंगलादेश, श्रीलंका र माल्दिभ्स ४ राष्ट्रले भाग लिएका छन् । ४ देशलेमात्रै भाग लिएपछि खेल राउन्ड रोबिन लिगका आधारमा हुनेछ । क्रिकेटको बादशाह मानिने पाकिस्तान र भारत दुवै राष्ट्र सागमा भाग नलिएपछि नेपालले जितको आश राखेको छ ।

Advertisement

माल्दिभ्ससँगको खेल नेपाली टोलीका लागि समूहमा सबैभन्दा सहज हुने अनुमान छ । तर, माल्दिभ्ससँग यसअघि नेपाली महिला टोलीले कुनै पनि खेल नखेलेकाले ‘भाग्य जाँच’का रुपमा पनि यो खेललाई लिइएको छ । नेपाली टोलीका प्रशिक्षक जगत टमाटा पनि माल्दिभ्ससँगको खेल सहज नै हुने बताउँछन् । भन्छन्, ‘उनीहरुको यसअघिका खेल हेर्दा पहिलो खेल नेपालकै पोल्टामा पर्ने अनुमान गरेका छौं ।’

सागमा सहभागी ४ देशमध्ये श्रीलंका र बंगलादेश टेस्ट मान्यता पाएका राष्ट्र हुन् । प्रशिक्षक टमाटा श्रीलंका र बंगलादेशसँग पनि राम्रो खेल्ने देखाउने पक्षमा छन् । ‘ती दुवै राष्ट्र टेस्ट मान्यता पाएका देश हुन् । नेपाल र माल्दिभ्स एसोसियट मात्र हौं,’ उनले भने, ‘तर, हामीले सकभर घरेलु मैदानको फाइदा उठाउँदै राम्रो खेल्ने पक्षमा छौं । हारजितको कुरा त छँदै छ ।’ उनले खेल जित्नका लागि राम्रो स्ट्रेन्थसाथ मैदानमा मैदानमा उत्रिने बताए ।

Advertisement

सागमा सहभागी हुन ४ वटै राष्ट्र पोखरा आइसकेका छन् । पोखरा आएका टोलीमध्ये बंगलादेश र श्रीलंकाका खेलाडीहरुले आइतबार दिउँसो नदीपुरस्थित प्रदेश सभा भवन पछाडि र माल्दिभ्सका खेलाडीले पोखरा क्रिकेट ग्राउन्डमा अभ्यास गरेका थिए ।

‘भारत र पाकिस्तान नआउनु खेलाडीका लागि दूर्भाग्य’
क्रिकेटको क्षेत्रमा भारत र पाकिस्तान दुवै बादशाह मानिन्छन् । यसपटकको सागमा ती दुवै देश सहभागी छैनन् । दुवै देश सहभागी नभएकाले खेलमा केही सहज हुने सबैको अनुमान छ । तर, नेपाली टिमका प्रशिक्षक जगत टमाटा भारत र पाकिस्तान दुवै सहभागी नुहुनु नेपाली खेलाडीका लागि भने ‘घाटा’ मान्छन् ।

‘दुवै राम्रा खेल्ने देश हुन् । उनीहरु सागमा सहभागी नभएर खेलाडीलाई फाइदा होइन घाटा पुगेको छ,’ प्रशिक्षक टमाटा भन्छन्, ‘उनीहरुसँग नेपाली खेलाडीले आमनेसामने भएर खेल्नु नेपाली खेलाडीलाई राम्रो एक्स्पोजर हुन्थ्यो ।’ उनी भारत र पाकिस्तान पनि सहभागी भएको भए नेपाली खेलाडीलाई पनि सुनौलो मौका हुने बताउँछन् ।

तयारी पूरा
साग महिला क्रिकेट प्रतियोगिता पोखरास्थित क्रिकेट रंगशालामा हुने छ । खेलको उद्घाटन बिहान ११ बजे गण्डकी प्रदेश योजना तथा आर्थिक मामिला मन्त्री किरण गुरुङले गर्ने कार्यक्रम छ । क्रिकेट ग्राउन्डमा १ हजार दर्शक अट्ने अस्थायी प्यारापिटसमेत तयार भइसकेको कास्की जिल्ला क्रिकेट संघ अध्यक्ष सञ्जयकान्त सिग्देलले जानकारी दिए । ‘साग महिला क्रिकेटकै लागि चेन्जिङ रुम, हेल्थ डेस्क आदि सबै तयार भइसकेका छन्,’ उनले भने ।

प्रतियोगिता अन्तर्गत मंगलबार श्रीलंका र बंगलादेश भिड्नेछन् । बुधबार हुने २ खेलमा बंगलादेश र नेपाल तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिष्पर्धा हुनेछ । राउन्ड रोबिन लिगमा शीर्षस्थानमा आउने २ टिमले पदकका लागि पुनः प्रतिष्पर्धा गर्नेछन् ।

कोको छन् साग नेपाली महिला टिममा ?
रुविना क्षेत्री (कप्तान), सीता रानामगर (उपकप्तान), इन्दु बर्मा, काजल श्रेष्ठ, करुणा भण्डारी, अप्सरी बेगम, सोनु खड्का, सरस्वती चौधरी, ममता चौधरी, अञ्जली चन्द, सरीता मगर, शान्ति खतिवडा, रोमा थापा, डली भट्ट र कविता कुँवर ।

वैकल्पिक खेलाडीः ज्योति पाण्डे, संगीता राई र अस्मिना कर्माचार्य ।

तपाईको प्रतिक्रिया