उपचुनावको सबक

आमचुनावपछि करिब मध्यान्तरमा उपचुनाव भएको छ । धेरै चलचित्रको मध्यान्तरमा हुने अप्रत्याशित घटनाले कथामा नयाँ मोड ल्याउँछ । २०७४ को आमचुनावको मध्येमा भएको यो उपचुनावले पनि दलहरुलाई पुरानो विरासतको भर नपर्न र जनतालाई कमजोर नआँक्न सजग गराएको छ । मंसिर १४ गते भएको चुनावको परीणामसमेत सार्वजनिक भइसकेको छ । उपचुनाव सामान्य अवस्थामा गरिँदैन । विशेष अवस्थामा हुने उपचुनावको महत्व पनि विशेष र फरक हुन्छ भन्ने तथ्यलाई यो उपचुनावले फेरि पुष्टि गरिदिएको छ ।
५२ स्थानमा भएको चुनावको सबै नतिजा सार्वजनिक भइसकेको छ । चुनावी परिणाम दलहरुका लागि अप्रत्यासित देखियो । यो निर्वाचनको परिणामले सत्ता समीकरणमा कुनै बदलाव नआए पनि दलहरुलाई कार्य प्रणाली सच्याउने, जनतासम्म पुग्ने र आफ्ना एजेन्डाहरुलाई स्थापित गराउने मौका भने मिलेको छ । अर्काे अर्थमा यसले दलहरु र स्वतन्त्र उम्मेदवारहरुलाई पनि सबक सिकाएको छ । ५२ स्थानमा भएको चुनावमा यसअघि ४४ स्थानमा चुनाव जितेको नेकपा ३१ स्थानमा खुम्चियो । वामपन्थीको बर्चस्व रहेको धरान र भक्तपुरमा चुनाव जितेर कांग्रेसले राहत महसुस गरेको छ । कांग्रेसले १३, राष्ट्रिय जनमोर्चाले १, समाजवादी पार्टी नेपालले ४ र राजपाले ३ स्थानमा चुनाव जिते ।
चितवन, धरान र भक्तपुरका चुनावी परिणामले राजनीतिक वृत्तमा विशेष चर्चा पाएको छ । चितवनमा एकीकरण नहुँदै साबिक एमालेले जितेको वडाध्यक्ष माओवादी केन्द्रसँग एकीकरणपछि पनि नेकपाले गुमाएको छ । यसअघि फराकिलो अन्तरले चुनाव जितेको नेकपाले भक्तपुरको प्रदेशसभामा धक्का खाएको छ । यसअघिको आमचुनावका बागीलाई उम्मेदवार बनाएको नेकपाभित्र अझै भावनात्मक रुपमा एकता भई नसकेको यसले एकातिर देखाएको छ भने जनतामा लोकप्रिय नभएकालाई उम्मेदवार बनाउन नहुने शिक्षा पनि दिएको छ । लोकतान्त्रिक इतिहासमा धरान सधै वाम बर्चश्व भएको स्थानका रुपमा परिचित भयो । यसपालि भने कांग्रेसका तीलक राईले इतिहासमा नयाँ मोड सिर्जना गरे । नेकपा उम्मेदवार प्रकाश राईलाई फराकिलो मतान्तरले तीलकले हराए ।
२०१५ को पहिलो नगर चुनावमा धरान नगर प्रमुख जित्ने केदारनाथ खनाल वामपन्थी थिए । पञ्चायत कालका नगर प्रधानपञ्च जित्ने सूर्यप्रसाद उपाध्याय पनि वामपन्थी पृष्ठभूमिकै थिए । लोकतन्त्र आएपछि पनि सधै धरानको नेतृत्व वामपन्थीहरुले नै गरे । साबिक एमाले एक्लैले मेयर, उपमेयर जितेको धरानमा एकीकरणपछि पनि नेकपा उम्मेद्वारले हार व्यहोर्नु परेको छ । धरानको व्यवस्थित विकास, निर्माण गर्न नसक्नु र आश्वासनमात्र बाड्नु हारको एउटा कारक मानिएको छ भने नेकपाभित्रकै किचलोले पनि कांग्रेसको विजयलाई सहज बनाएको देखिन्छ । सुकुम्बासीको बाक्लो बसोबास रहेको धरानमा वामपन्थीले पटक पटक आश्वासन बाँडे तर उनीहरुलाई जग्गा दिलाउन सकेनन् । एकै ठाउँमा ३, ४ पटक बसपार्क शिलान्यास गरियो तर बसपार्क बन्ने अझै सुर छैन ।
कास्की २ मा नेकपाबाट विद्या भट्टराई विजयी भइन् । पति रवीन्द्रकै हाराहारी मतान्तरले विजयी विद्याले अब रवीन्द्रका सपनासँगसँगै कास्केली र नेपालीको सपना साकार पर्ने दायित्व निर्वाह गर्नुपर्छ । जनताले छुद्र टिप्पणीहरुलाई रुचाएनन् । वृद्धप्रति लक्षित प्रचण्डको टिप्पणी होस् कि कारकिरिया नगरेको भनी विद्या भट्टराई लक्षित चुनावी नारा, जनताले तिनलाई अस्वीकृत गरिदिए । केही अपवाद छाडेर, नेकपा र कांग्रेसबाहेक अधिकांश दल र स्वतन्त्र उम्मेदवारले धेरै ठाउँमा जमानतसम्म जोगाउन सकेनन् । राजनीति लहडमात्र नभएर जनसेवा, समर्पण र लक्ष्य प्राप्तिको मार्गचित्र पनि हो । घटनाक्रमले दिएको शिक्षा यही हो, शिक्षा ग्रहण गर्नेहरु शक्तिशाली हुन्छन्, नगर्नेहरु हराउँछन् ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया