स्वर्ण जितें तर, खुसी जितिनँः ट्रायथोलन स्वर्ण विजेता हिमाल टमाटा

समाधान संवाददाता २०७६ मंसिर १९ गते ११:४६

तस्बिरः युनिश गुरुङ

विकास रोकामगर
पोखरा

सागमा खेलाडी हिमाल टमाटाले नेपाललाई दुआथोलनबाट स्वर्ण पदक दिलाए । यो खुसी उनको अनुहारमा पनि देखिनुपर्ने हो । तर, त्यो देखिँदैन । उनी भन्छन्, ‘मैले स्वर्ण पदक जितें । तर, खुसी जित्न सकिनँ ।’

Advertisement

टमाटाले जारी सागमा पाएको सफलता ६ महिना अघिबाटै देखेका थिए । उना उत्तिकै आत्मविश्वास पनि थियो । त्यति नै बेला पनि उनले संकल्प गरेका थिए, ‘नेपालका लागि १ स्वर्ण त पक्का जितेर ल्याइदिन्छु ।’

नेपाल आर्मीका जागिरे टमाटाले सुरुमा आर्मीकै साइकलले अभ्यास गरे । त्यो साइकलले पनि उनमा जितको आत्मविश्वास बढाइदिएकै थियो । जब १ महिनाअघि सागकै लागि बन्द प्रशिक्षणमा उत्रिए, ‘हातमा लाग्यो थोत्रो साइकल !’ तर, पनि हार मानेनन् । जितको सपना देखिरहे ।

Advertisement

साइकल थोत्रो भएर के भो त ? हिमालको अन्तरात्मामा जितको भोक थियो । त्यही भोकले नै जित्ने विश्वास कायम राख्न सघायो । अभ्यासमा तल्लीन हुँदा नै महिनाबाट विस्तारै २९, २८, ….. हुँदै साग सुरु हुने मिति उनको अघिल्तिर उभियो । तर, उनीसँग सागका लागि न पोशाक थियो, न त साइकल ।

‘सुरुमा पदक जित्छु भन्ने शतप्रतिशत विश्वास थियो । तर, नेपाल सरकारले कुनै पनि पूर्वाधार र आवश्यक सामग्री उपलब्ध नगराइदिएपछि त जित्छु भन्ने आशै मरेर गयो,’ समाधानसँग कुराकानी गर्दै टमाटाले भने, ‘इक्वेप्मेन्टबिना जित्छु भन्नु पनि मूर्खता नै थियो ।’

प्रतियोगिता नजिकिँदै गयो । खेल सामग्री, नयाँ साइकल, पोशाकको आश्वासन आइरह्यो । तर, भनेको समयमा नआउँदा उनीभित्रको विश्वास पनि विस्तारै सेलाउँदै गयो । अन्तिममा हार मान्ने अवस्थामा पुगे उनी । ‘साइकल पुरानै जबर्जस्ती ठेल्नुपर्ने अवस्थामा थियो । खेल आइसक्दा पनि लगाउने पोशाक पाएका थिएनौं । त्यसपछि त आशै म¥यो,’ उनले भने ।

नयाँ साइकल आएन । तर, खेलमा लगाउने पोशाक आयो, खेलको अघिल्लो दिन । बोरामा कोच्चिएर आएको ‘कस्ट्युम’ नियाले । तर, त्यो कस्ट्युम दुआथोलनका लागि थिएन । उनी भन्छन्, ‘पोशाक आएर के गर्नु ? खेल अनुसारको क्वालिटीको नआएपछि नलगाउने निर्णय लिएँ ।’

खेलको समय तालिका बिहानै तय भएको थियो । आएको कपडा गुणस्तरबाहिरको भएपछि आधा रातसम्म प्रतियोगितामा के कपडा लगाउने ठेगान थिएन । खेलभन्दा बाहिर रहेका १ जना साथीसँग कपडा ‘सापट’ मागे उनले । अर्को दिन साथीकै खेल पोशाकमा ठाँटिएर प्रतिष्पर्धामा होमिए ।

मागेकै कपडाले टमाटाले स्वर्ण पदक जिते । तर, उनी सन्तुष्ट भएनन् । ‘देशमा यति ठूलो इभेन्ट आयोजना गरिएको छ । पहिलो प्राथमिकतामा खेलाडीलाई पार्नुपथ्र्यो । तर, त्यो देखिएन,’ भन्छन्, ‘खेलमा जति शरीरले साथ दिन्छ । त्योभन्दा बढी सहयोग र साथ इक्विप्मेन्टले दिन्छ भन्ने उनीहरुले बुझून् ।’

राज्यले खेलकुदमा गरेको लगानी सम्बन्धित व्यक्तिसम्म नपुगेको हिमालको दुखेसो छ । ‘ट्रेनिङको समयमा जति आशावादी थिएँ, हौसला ममा थियो । खेलको अन्तिम घडीमा आएर सबै सकियो,’ उनले गुनासो पोखे, ‘राज्यले गरेका छौं, गर्र्छौं भन्यो । तर, सधैं आशमात्रै देखाइरह्यो ।’

तपाईको प्रतिक्रिया