संंविधान सभाले बिर्सेको दायित्वः प्रदेश राजधानी र नामांकन

भरत कोइराला
संविधासभाले २०७२ असोज ३ मा जारी संविधान राजनीतिक दलहरुकै भाषामा झन्डै ७ दसकको आन्दोलनपछिको महत्वपूर्ण उपलब्धि हो । संविधान जारी भइसकेपछि मधेशी दलले उठाएका विरोधका आवाज एकातिर छन् । जसलाई मधेस केन्द्रित दलहरुले सत्ता चढ्ने भर्याङ बनाएका छन् । संविधान जारी भइरहँदा दलहरु चुकेको र त्यतिबेलाको सरकारले आँट गर्न नसकेको विषय हो, प्रदेशको नाम र राजधानीको नामकरण । त्यतिबेलै एउटा खतरा मोलेर आँट गरेको भए अहिले प्रदेश सरकार र प्रदेश सभाले त्यसका बारेमा टाउको दुखाउनै पर्ने थिएन । ३ वटा प्रदेश सामान्य विरोधका बीच प्रदेशको नामकरण गर्दै राजधानी तोके । कर्णाली, सुदूरपश्चिम, गण्डकी यो काममा पहिलो पंक्तिमा देखिए । पछि आएर प्रदेश नम्बर १ ले पनि विराटनगरलाई राजधानी तोक्यो । यति हुँदा हुँदै पनि सुदूरपश्चिम र विराटनगरको राजधानीका बारेमा मतान्तर कायमै छ । सुदूरपश्चिममा कैलालीको गोदावरी तोकिएको छ । तर त्यहाँ प्रदेशका कुनै संरचना बनाउने सुरसारै छैन । प्रदेश नम्बर १ मा ‘प्रदेशका कार्यालय बृहत् विराटनगरमा समेट्ने’ वाक्यांशले विरोधका स्वरलाई मत्थर पारिएको छ ।
प्रदेश नम्बर १ ले राजधानीको टुंगो लगाए पनि २, ३ र ५ लाई यो विषय निकै पेचिलो बनेको छ । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले त मुखै फोरेर नाम र राजधानी तोकिदिन आफ्नो पार्टी गुहारे । प्रदेश नम्बर ३ को हकमा नेकपाले निर्णय गरिदियो नाम वागमती र सदरमुकाम हेटौंडा भनेर । अहिले नेकपाकै प्रभावशाली नेताहरु दलको यो निर्णयविरुद्ध उत्रिएका छन् । उनीहरु विरोधमा उत्रनुका २ प्रमुख कारण हुनसक्छन् । पहिलो मुख्यमन्त्री डोरमणि पौडेलको ‘रवाफ’ कम भएको देखाउन । दोस्रो, प्रदेश सभाबाट निर्णय नै भइहालेछ भने पनि हामीले विरोध त गरेकै थियौं नि भन्न । आखिर प्रदेश सभामा पार्टीको ह्विप मान्न अहिले विरोधमा उत्रिएका सांसदहरु बाध्य नै हुन्छन् । प्रदेश संसदको कार्यव्यवस्था परामर्श समितिले पुस २१ मा प्रस्ताव पेस गर्ने र २२ गते संसदमा नाम र राजधानीका बारेमा मतदान हुने निर्णय गरिसकेको छ ।
२ साताअघि प्रदेश सभाको अनुभव साट्न पूर्वतिर निस्केको गण्डकी प्रदेश सभाका सभामुख नेत्रनाथ अधिकारी नेतृत्वको टोलीले १, २ र ३ नम्बर प्रदेशका सरकार प्रमुख, सभामुखसँग भेटघाट ग¥यो । त्यतिबेला धेरैजसो प्रदेशसभा सदस्यको गण्डकीलाई प्रश्न थियो कि प्रदेशको राजधानी र नामकरण कसरी सहजै सम्भव भयो भन्ने । प्रश्न स्वाभाविक थियो । तर त्यो प्रश्नभित्र ती प्रदेशका पीडा प्रष्टै झल्किन्थ्यो । संविधानसभाले आफूले पार लगाउन नसकेको विषय प्रदेश सभाको टाउकोमा थोपरिदिएको छ । यता निर्णय गरे उताका रिसाउने, उता निर्णय गरे यताका रिसाउने । हुन त गण्डकीको नामकरण उनीहरुले सोचेजस्तो सहजै त भएको थिएन । प्रदेश सभाले राजधानी र नाम सिफारिसका लागि समितिले नै बनाएर सबै जिल्लामा मत संकलन गरेको थियो । केही विरोधका आवाज निस्केकै थिए । गण्डकी नाम राख्नु पर्छ भनेर प्रदेशसभामा जिकीर गरेकै कारण आर्थिक मामिला तथा योजना मन्त्रीलाई पहिचान मेटाउन खोजेको भन्दै तमुहरुको संस्थाले ‘बहिस्कार’ को निर्णय नै गरेको थियो । गण्डकीको महत्वबारे लेखेकै र बोलेकै कारण विद्वान जगमान गुरुङलाई पनि उक्त संस्थाले ‘बहिस्कार’ नै गरेको थियो । अन्ततः ६० सदस्यमध्ये तत्कालीन नयाँशक्तिका २ बाहेक सबैले गण्डकीकै पक्षमा मत हालेका थिए । राजधानी पोखराको हकमा भने कुनै विवाद आएन ।
प्रदेश नम्बर १ को नामबारे दल, जातीय समुदाय र भूगोलका आधारमा फरक मत आएका छन् र पनि छिटै निर्णय गरिने विश्वासमा छ प्रदेश सभा । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारी भन्छन्, ‘निर्णय गरेर पार लगाउन गाह्रो छ र पनि हिउँदे अधिवेशनबाट यसको छिनोफानो लगाउँछौं ।’ नामांकनका विषयमा प्रदेशसभाले प्रस्ताव आह्वान गर्ने र सकेसम्म सहमतीय आधारमा नै निर्णय गरिने उनको विस्वास छ । प्रदेश नम्बर १ को नामका लागि सगरमाथा, कोसी, किराँत, विराट र कोचिला नाम चर्चामा छन् । मुख्यमन्त्री शेरधन राई संविधानसभाले टुंग्याउन नसकेर प्रदेशको थाप्लोमा भिराइदिएको भारी जसरी भए पनि बिसाउनै पर्ने बाध्यता रहेको सुनाउँछन् ।
प्रदेश नम्बर २ मा जनकपुर र वीरगन्जलाई राजधानी बनाउनुपर्ने २ थरी आवाज आइरहेका छन् । जसै प्रदेशको राजधानीका विषयमा जनकपुरको प्रदेश सभा हलमा छलफल हुन्छ, उसै वीरगन्जमा आगजनी र ढुंगामुढा सुरु हुन्छ । कांग्रेसले जनकपुर राजधानी हुनुपर्छ भनेको छ । समाजवादी र राष्ट्रिय जनता पार्टीका बहुल सदस्यले जनकपुर उपमहानगरपालिका क्षेत्रभित्र भनेको छ । नेकपाका अध्यक्ष प्रचण्ड परिक्रममा रोड कमला (धनुषा), ढल्केबर मटिहानी (महोत्तरी) समेट्ने गरी राजधानी बनाउनुपर्ने पक्षमा देखिएका छन् । उता वीरगन्ज वरपरका सांसदले भने वीरगन्ज, पोखरिया, जीतपुर निजगढ, सिम्रौनगढ छुनेगरी राजधानी हुनुपर्ने अडानमा छन् । तर प्रदेशसभा र दलहरुको भित्री आशय चाहिँ जनकपुर नै राजधानी बनाउने नै छ । जनकपुर राजधानी तोकिएपछि वीरगञ्जमा सबैभन्दा बढी पुत्ला आफ्नै जल्नेमा मुख्यमन्त्री लालबाबु रावत चिन्तित छन् । गण्डकी प्रदेशको प्रतिनिधिमण्डलसँगको भेटमा उनले भनेका थिए, ‘म आफै वीरगन्जबाट निर्वाचित हुँ, निर्णय वीरगन्जको पक्षमा आएन भने मेरै पुत्ला धेरै जल्नेछ ।’
सत्ताधारी समाजवादी पार्टी र राजपाले मधेश प्रदेश नाम राख्नुपर्ने प्रस्ताव सदनमा दर्ता नै गराइसकेका छन् । नेकपाले जानकी र कांग्रेसले मिथिला भोजपुरा नाम प्रस्ताव गरेका छन् । कांग्रेसमध्येकै केही सांसदले मध्य मधेस भनेर लबिङ पनि गरिरहेका छन् । नाम र राजधानीको टुंगो लगाउन सके विकासका लागि एकोहोरो रुपमा लाग्न सहज हुन्छ । तर प्रदेश २ को हकमा समस्या भिन्न खाले छ । ६ वटै प्रदेशमा प्रदेशभाको पाँचौं अधिवेशन सुरु भइसक्दा २ मा अझै तेस्रो अधिवेशन टुंगिएको छैन । अघिल्लो आर्थिक वर्षमा सांसद विकास कोषमार्फत भएका योजनाको फरफारक नहुँदा संसद चल्न सकेको छैन । सत्तापक्षकै सांसदसमेत बैठक अवरोध गर्न लागीपरेका छन् । यही कारण २ नम्बरको नामकरण र राजधानी टुंगो लाग्न अझै केही महिना कुर्नुपर्ने छ ।
प्रदेश नम्बर ३ को अस्थायी राजधानी हेटौंडालाई नै स्थायी राजधानी बनाउन नेकपाले निर्णय नै गरेपछि कांग्रेस संसदीय दलको बैठकले फितलो निर्णय लिएको छ । पुस २२ गते हुने चुनावमा संसदीय दलको ह्विप जारी नगर्ने निर्णय उसको छ । कांग्रेसका सांसदले पक्ष वा विपक्ष जता पनि मत हाल्न सक्ने छन् । नेकपाका सांसदलाई पनि ह्विप मान्न जरुरी नभएको कांग्रेसको तर्क छ । १ सय १० सदस्यीय प्रदेश सभामा कांग्रेसका २२ सांसद छन् । सिन्धुपाल्चोक, दोलखा, रामेछाप, सिन्धुली, नुवाकोट, धादिङतिरका सांसदले हेटौंडामा रुचि नदेखाउनु स्वाभाविकै हो । अनि काठमाडौं उपत्यकाका ३ जिल्लाका सांसद पनि उपत्यका बाहिर जान चाहँदैनन् । तर संघीय राजधानी काठमाडौंमै भएका कारण उपत्यका ३ जिल्लामा प्रदेश राजधानी राख्नुपर्छ भन्नु तर्कसंगत नै छैन । प्रदेश ३ मा नेमकिपा, विवेकशील, समाजवादी पार्टीको पनि उपस्थिति छ । नेमकिपाले नेकपालाई नै सघाउने देखिएको छ भने, विवकशील र समाजवादी पर्ख र हेर को स्थितिमा छ ।
प्रदेशका मुख्यमन्त्री र सभामुख र सांसदहरु आफ्नो राजनीतिक भविष्य नबिग्रियोस भन्नका लागि दोषको भारी आफू बोक्न चाहान्नन् । यही दोषबाट मुक्त हुन कसैले संघीय सरकार त कसैले पार्टी नेतृत्वलाई गुहारेका हुन् । विकासका सपना देखाएर मख्ख पार्ने नेता आफ्ना कार्यकर्तालाई नामांकन र राजधानीका विषयमा बुझाउन तम्तयारै देखिएनन् । अहिले धेरैजसो अधिकार स्थानीय तहमा गएको अवस्थामा प्रदेश सरकारले संयोजनकारी भूमिका मात्र खेल्ने हो । विकासे योजना वा अन्य कुनै सरकारी कामका लागि प्रदेश सरकार धाइरहनु पर्दैन । त्यसको आवश्यकता परिपूर्ति स्थानीय तहले नै गरिदिएका हुन्छन् । यस्तो अवस्थामा प्रदेशको राजधानी कहाँ राख्ने भन्ने विषयलाई राजनीतिक रुपमा उचाल्नु हुँदैन । स्थापित सहरमै राजधानी बसाउनुपर्छ भन्ने परम्परागत मान्यता त्याग्नुपर्छ । जसरी सुदूरपश्चिममा गोदावरीलाई राजधानी तोकियो त्यसरी नै अन्य प्रदेशले पनि त्यही सिको गर्दा नयाँ ठाउँको विकास हुन्छ ।







सर्वोदय माविको ७४औं वार्षिकोत्सव
पोखरा विमानस्थलको २ अर्ब बेरुजु ठेकेदारकै भुक्तानीबाट कट्टा हुने
जेलबाट छुटेकै दिन पतिद्वारा पत्नीको हत्या
आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया