चितुवा पीडित परिवारलाई राहत

समाधान संवाददाता २०७६ पुष २२ गते १३:५१

कृष्ण न्यौपाने
दमौली

चितुवाको आक्रमणबाट ज्यान गुमाएका भानु नगरपालिकाका २ बालकका परिवारलाई डिभिजन वन कार्यालय तनहुँले राहत उपलब्ध गराएको छ । चितुवाको आक्रमणबाट मृत्यु भएका भानु १ जामुनेगैह्राका ३ वर्षीय आशीष बानियाँ र भानु २ फुस्रेटारका ७ वर्षीय रीतिक रोकाको परिवारलाई वन कार्यालयले ९ लाख ५० हजारका दरले उपलब्ध गराएको हो ।

कार्यालयले घटना लगत्तै किरिया खर्च बापत ५०÷५० हजार पीडित परिवारलाई प्रदान गरेको थियो । बानियाँको असोज २१ गते र रोकाको कात्तिक ११ गते चितुवाको आक्रमणबाट मृत्यु भएको थियो ।

Advertisement

भानु नगरपालिकाका प्रमुख उदयराज गौली, प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित र डिभिजन वन कार्यालयका प्रमुख केदार बरालले राहत रकम सोमबार बानियाँका बुबा विष्णुबहादुर बानियाँ र रोकाका आमा सिर्जना रोकालाई प्रदान गरे । भानु नगरपालिकाका प्रमुख गौलीले मानिसको जीवन पैसासँग तुलना गर्न नमिल्ने भए पनि राहत रकमले पीडित परिवारलाई केही सहयोग पुग्ने बताए ।

डेढ वर्षको अवधिमा भानु नगरपालिकामा मात्रै ६ जना बालबालिकाको मृत्यु चितुवा आक्रमणबाट भइसकेको छ । ‘हाल भानुमा चितुवाको आक्रमण रोकिए पनि ढुक्कसँग बस्ने अवस्था छैन,’ गौलीले भने ।

Advertisement

डिभिजन वन प्रमुख बरालले विपद्को अवस्थामा राज्य जनताको साथमा छ भन्ने अनुभूति दिलाउन राहत रकम उपलब्ध गराइएको जानकारी दिए । भानु नगरपालिकामा चितुवाको आक्रमणबाट मृत्यु भएका सबै बालबालिकाका परिवारलाई राहत स्वरुप १०÷१० लाख प्रदान गरिएको छ ।

वनजंगलमा पाइने चितुवाको आहारा नष्ट हुँदै गएपछि चितुवाले मानिसलाई आक्रमण गर्न थालेको डिभिजन वन कार्यालयका प्राविधिकको भनाइ छ ।

तपाईको प्रतिक्रिया