कास्कीमा डेंगीबाट ५ सय प्रभावित

समाधान संवाददाता २०८२ कार्तिक १३ गते ११:४७

पोखरा ।
लामखुट्टेको टोकाइबाट सर्ने डेंगी रोगको संक्रमणबाट कास्कीमा ५ सय जना संक्रमित भएका छन् । कास्कीमा गत वर्ष ९ हजार ८ मानिस संक्रमित भएको जिल्ला स्वास्थ्य कार्यालय कास्कीका प्रमुख रामबहादुर नेपालीले जानकारी दिए ।


कास्कीमा सन २०२३ मा ३ हजार ६९ जना व्यक्ति संक्रमित भएका थिए । सन २०२२ मा कास्कीमा १ हजार ३ सय ४७ जना व्यक्ति डेंगीबाट संक्रमित भएको जनस्वास्थ्य कार्यालयको तथ्यांकमा उल्लेख छ । नेपाल रेडक्रस सोसाइटी कास्कीले बुधबार आयोजना गरेको डेंगी रोग संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरोकारवालाबीचको समन्वयात्मक कार्यक्रममा उनले यो वर्ष समुदाय स्तरमा प्रभावकारी कार्यक्रम भएकाले डेंगीको संक्रमणलाई रोकथाम तथा नियन्त्रण सम्भव भएको उनले जानकारी दिए ।


उनले गत वर्ष कास्की देशभरीमा डेंगीबाट सबभन्दा बढी प्रभावित जिल्ला भएको स्मरण गरे । ‘कास्कीमा गत वर्ष ९ हजार ८ सय जना संक्रमित भए । डेंगी संक्रमणबाट ६ जनाको मृत्यु भयो,’ उनले भने, ‘उच्च स्तरको भेला बैठक गरियो । तर समुदाय स्तरमा चुस्त, दुरुस्त कार्यक्रम लैजान सकिएन ।’ उनले सामान्यतया जेठ महिनाबाट डेंगी संक्रमण सुरुवात भएर साउन भदौ महिनामा बढी हुने जानकारी दिए ।

Advertisement


उनले डेंगी संक्रमणलाई शून्यमा झार्न नसके पनि सुरुवातमा प्रभावकारी काम गरे न्यूनीकरण गर्न सकिने बताए । उनले सामूहिक प्रयासमा समुदाय स्तरमा प्रभावकारी कार्यक्रम गरेको कारण यो वर्ष डेंगी संक्रमितको संख्या ५ सय नकटेको जानकारी दिए । उनले अहिले लामखुट्टेको बासस्थानको पहिचान गरी लार्भाको खोज नष्ट अभियानलाई प्रभावकारी रुपमा गरेर अर्को वर्ष संक्रमण अझै फैलने नदिने बताए ।


कार्यक्रममा पोखरा महानगरपालिका स्वास्थ्य महाशाखाका जनस्वास्थ्य निरीक्षक राजेन्द्र रेग्मीले विश्व स्वास्थ्य संगठनले डेंगीलाई महामारीको रुपमा फैलने रोगमध्ये १० नम्बरमा राखेको जानकारी दिए । जाडोमा पनि डेंगीको संक्रमण बढनु स्वास्थ्य क्षेत्रको चुनौती भएको उल्लेख गर्दै उनले डेंगी संक्रमणको दृष्टिले १२ महिना नै जोखिममा रहेको बताए । उनले अहिले पनि श्रम क्षेत्र र वडा तहमा नियमित कार्यक्रम गर्नुपर्ने उल्लेख गरे ।

Advertisement


उनले काममा दोहोरोपन हुन नदिएर सरोकारवाला निकायले कार्यक्षेत्र विभाजन गरेर सचेतनामूलक कार्यक्रम गर्नुपर्ने प्रस्ताव गरे । नेपाल रेडक्रस सोसाइटी कास्की सभापति उर्मिला खड्का भण्डारीले ब्रिटिस रेडक्रस तथा नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा रेडक्रस कास्की जिल्ला शाखाले डेंगु रोकथाम तथा प्रतिकार्यका लागि विशेष अभियान सञ्चालन गरिरहेको जानकारी दिइन् । उनले ठूलो सञ्जाल रहेको रेडक्रसले ५ पालिकाका ४८ उपशाखामार्फत समुदाय स्तरमा डेंगी रोग संक्रमण रोकथाम नियन्त्रणका लागि सचेतनामूलक कार्यक्रम गरेको उल्लेख गरिन् ।


खड्काले रेडक्रस कास्कीमा १५ हजार स्वयंसेवक रहेको बताइन् । रेडक्रसले स्वास्थ्य क्षेत्रको संकट र महामारीमा समेत काम गर्ने जानकारी दिँदै उनले कोभिड १९ तथा डेंगी रोगको संक्रमण लगायतका मानवीय विपत्तीको अवधिमा सेवाको क्षेत्रमा काम गरेको उल्लेख गरिन् ।

यो वर्ष समुदाय स्तरमा प्रभावकारी कार्यक्रम भएकाले डेंगीको संक्रमण नियन्त्रणमा


रेडक्रस कास्की उपसभापति रमा कोइराला न्यौपानेले टोल विकास संस्था, आमा समूहलाई केन्द्रीत गरी सामूहिक रुपमा कार्यक्रम गरेको जानकारी दिइन् । रेडक्रस कास्कीमा मन्त्री सन्तोष अधिकारीले रेडक्रस कास्कीले गत वैशाख महिनादेखि डेंगी संक्रमण फैलाउने लामखुट्टेको खोज र नष्ट अभियान गरेको बताए ।


रेडक्रस कास्की कोषाध्यक्ष मोहनसिंह खड्काले सरोकारवाला निकायले एकीकृत ढंगले कार्यक्रम गरे बढी प्रभावकारी हुने दाबी गरे । कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी कास्कीका डेंगी रोकथाम तथा प्रतिकार्य कार्यक्रमका फोकल पर्सन नवराज भण्डारीले वर्षातको सुरुवात र तापक्रमको बृद्धिले डेंगी संक्रमण बढेको बताए । सामाजिक सञ्जालको प्रयोग, स्थानीय समुदायको अपनत्वमा तथा विद्यालय स्तर गरेको कार्यक्रम अत्यन्तै प्रभावकारी भएको उल्लेख गरे । उनले डेंगी संक्रमण फैलाउने लामखुट्टेको लार्भा खोज र नष्ट गर्नु नै डेंगी रोकथामको मुख्य उपाय भएको जनाए ।


कार्यक्रममा अन्नपूर्ण गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत चिरञ्जीवी बराल, रेडियो नेपाल प्रादेशिक प्रशारण कार्यालयका प्रमुख शान्ति गुरुङ, मादी गाउँपालिकाका लेखा अधिकृत भोजराज ढकाल, गैसस महासंघ कास्की उपाध्यक्ष इन्दिरा पौडेल, इन्सेक गण्डकी प्रदेशका संयोजक गणेश भण्डारी, रेडक्रस कास्कीका जिल्ला कार्यसमितिका सदस्य बबिता सुवेदी, कार्यालय प्रमुख कृष्णप्रसाद कोइराला, सहरी स्वास्थ्य केन्द्र पोखरा ८का प्रतिनिधि सुनिता गिरी, महिला स्वास्थ्य स्वंयसेवी भीमा पौडेल लगायतले डेंगी रोग रोकथाम तथा नियन्त्रणका लागि लामखुट्टेको लार्भा खोज र नष्ट अभियानलाई प्रभावकारी बनाउनुपर्ने बताए ।

तपाईको प्रतिक्रिया