सेती किनारमा एकादशीको रौनक

पोखरा ।
हरिबोधिनी एकादशीमा पोखराको सेती नदी किनारको विभिन्न स्थानमा भक्तजनको ठूलै भीड देखियो । शनिबार बिहानैदेखि नदी किनारामा फूल तार्ने र पूजा गर्नेहरुको लर्को थियो । फूलैफूलको डोली । त्यसभित्र बेरिएको तोरण । त्यसलाई बोक्न बाजागाजा र भजनकीर्तनसहित मानिसको हुल ।
बाटोभरी नाचगान गर्दै आएको त्यो लाँवालस्कर सेती किनारमा पुगी विधिपूर्वक पूजा गर्नु अनि पुनः बाजागाजा र भजनकीर्तन तालमा नाचगान घर फर्कनेहरुले एकादशीको उल्लास दर्साएका थिए । सेती दिन किनारको गाईघाट, तुलसीघाट, नारायणथान मन्दिर, ढुंगेसाँघु लगायत क्षेत्रमा एकादशीको दिन भिड हुने गरे पनि रामघाट क्षेत्रमा बढि मात्रामा भक्तजनहरु पुग्ने गरेको नयाँबजार रामघाट क्षेत्र विकास समितिका अध्यक्ष रोशन मानन्धरले बताए ।
एकादशीका फूल तार्न डोली बोकेर धेरै मात्रामा भक्तजन सेती नदी किनार पुगेको थिए । त्यससँगै पूजापाठ गर्न, तुलसीको बिहे गर्न, स्नान गर्न र मेला हेर्न उतीकै संख्यामा रामघाट क्षेत्रमा मानिसहरु पुगेका थिए । मेला हेर्न कास्कीका विभिन्न स्थानसहित स्याङ्जा, पर्वत, तनहुँ लगायत छिमेकी जिल्लाहरुबाट दर्शनार्थीहरु सेती किनारमा पुगेको अध्यक्ष मानन्धरले बताए ।
‘सुरुमा पानी परेकाले भक्तजन धेरै आउनुहुन्न कि भन्ने लागेको थियो तर दिनमा मौसम राम्रै भएपछि हजारौं हजार आउनुभयो,’ उनले भने, ‘निकै हर्सोल्लासका साथ एकादशी मनाइयो । डोली तार्नेहरु पनि धेरै नै हुनुहुन्थो । केही तुलसीको बिहे गर्न, स्नान गर्न र मेला हेर्नका लागि मात्र पनि आउनुभएको थियो ।’
तुलसीघाटमा हुने तुलसी विवाह महोत्सवलाई हर्षोल्लास तथा व्यवस्थित रुपमा मनाउन यस धार्मिक क्षेत्र विकास समिति लगायत सामाजिक, संघ–संस्थाहरू र स्थानीय तह समेतको सहभागिता थियो । नयाँबजार मिसाः पुचः ले खानेपानी सहयोग गरेको उनले सुनाए । विभिन्न टोल विकास संस्था र आमा समूहसहित क्लबबाट स्वयम्सेवकको भूमिका सहयोग प्राप्त भएको उनले बताए ।
हिन्दू धर्ममा एकादशीलाई भगवान विष्णुको उपासना गर्ने पर्वको रुपमा लिइन्छ । हरेक एकादशीको दिनमा उपवास बसी भगवान् विष्णुको आराधना गरिन्छ । भगवान विष्णुको प्रतीकको रुपमा घरघरमा तुलसीको पूजा गरिन्छ । यसै दिन भगवान विष्णुको तुलसीरुपी लक्ष्मीसँग विवाह भएको मान्यताका आधारमा तुलसीको पुजा गर्ने चलन छ ।
ठूलो एकादशीसमेत भनिने हरिबोधनी एकादशीलाई एक वर्षभरमा पर्ने चौबिसवटा एकादशीमध्ये सबैभन्दा महत्वपूर्ण एकादशीको रुपमा लिइन्छ । असाढ शुक्ल एकादशीको दिनबाट भगवान विष्णु सागरमा सुत्ने र कात्तिक शुक्ल एकादशीको दिनमा उठ्ने जनविश्वास रहेको छ ।
असाढ शुक्ल एकादशीलाई हरिशयनी एकादशी र कात्र्तिक शुक्ल एकादशीलाई हरिबोधनी एकादशी भनिन्छ । हिन्दू धर्मग्रन्थमा तुलकी, पिपल, दूबो र शालिकग्रामलाई भगवान विष्णुको प्रतिकको रुपमा मानिन्छ । सोही अनुसार शनिबार हरिबोधिनी एकादशीका अवसरमा ठूला ठूला नदी किनारमा भक्तजनको घुइँचो देखिन्थ्यो ।








पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया