—सम्पादकीय— सभामुख शिवमाया

मुलुकमा समावेशी लोकतन्त्र छ । राज्यका उच्च पदाधिकारीमा लैंगिक समावेशीकरणको ग्यारेन्टी संविधानले नै गरेको छ । राष्ट्रपति र उपराष्ट्रपतिमध्ये १ जना महिला हुनैपर्छ । सभामुख र उपसभामुखमध्ये १ जना महिला हुनैपर्छ । यही व्यवस्था अनुसार शिवमाया तुम्बाहाङ्फेले उपसभामुखको जिम्मेवारी पाइन् । लैंगिक सन्तुलन हुँदाहुँदै पनि संविधानमा सभामुखको अनुपस्थितिमा उपसभामुखले बैठकको अध्यक्षता गर्नेबाहेक व्यवस्था नहुनुचाहिँ आलोकाँचो लेखाइ भएको अहिले आएर भेउ हुँदैछ । खासमा उप भन्नेबित्तिकै मुख्यको अनुपस्थितिमा उसका सबै जिम्मेवारी निर्वाहको जिम्मेवारी हुनुपर्ने आम मान्यता र बुझाइ छ । तर महिलालाई उपमा थन्क्याउने र त्यसमा पनि अधिकारविहीन बनाउने प्रपञ्च पुरुषवादी हैकम अहिले आएर पटाक्षेप भयो । सभामुख र उपसभामुख लैंगिक हिसाबमा मात्रै नभई दलीय हिसाबमा पनि फरकफरक हुनुपर्ने पदमा पनि उप महिलै हुने आकलन गरी अधिकार कम गरिएको बुझ्न ठूलै दिमाग चाहिन्न ।
सभामुख कृष्णबहादुर महरा पदच्यूत भएपछि अब उक्त पदमा को आसिन हुने भन्ने ठूलो लडाइँ सत्तारुढ पार्टी नेकपाभित्र देखापरेको छ । स्वाभाविक रुपमै शिवमाया तुम्बाहाङ्फेलाई जिम्मेवारी दिन ठूलो पार्टीको ठूलो पदमा आसिन पुरुष नेताहरुलाई स्वीकार्य भएको छैन । फेरि पुरुष मानसिकता उनीहरुले देखाएका छन् । शिवमायाले दह्रो तर्क गरेकी छन्—महराले गरेको गल्तीको सजाय किन भोग्ने ? उपसभामुख अर्काे दललाई नदिने हो भने सभामुखमा नेकपाले हक पाउँदैन । त्यसैले शिवमायालाई राजीनामाको चर्काे दबाब नेकपाका पुरुष नेताहरुले दिइरहेका छन् । हो, राजीनामै गर्न लगाउने हो भने पनि उनलाई सभामुखको जिम्मेवारी सुम्पन किन कन्जस्याइँ ? उनी एक पढेलेखा महिला हुन् । जनजाति समुदायकी हक्की नेतृसँग कानुनको अध्ययन छ । विश्वविद्यालयमा प्राध्यापन गरेको अनुभव छ र कम्युनिस्ट पार्टीहरुले खोज्ने दलको सदस्यताको लामो इतिहास छ । उपसभामुख भएर पनि जिम्मेवारी निर्वाह गरिसकिन् ।
ठूलो पदमा ठूलाबडा नेताहरुले मात्रै ताक्ने र त्यो पनि पुरुषले मात्रै राख्ने हो भने महिलाको सशक्तीकरण कसरी र कहिले हुन्छ ? जनयुद्ध लड्दा महिला पनि बराबर भनेर लडाइँको मोर्चामा होमेर आएको कम्युनिस्ट पार्टीले महिलै भएकाले कमजोर ठान्ने भुल गर्नु आफैंमा बिडम्वना हो । यो त महिलालाई मुलुकका सर्वाेच्चमध्येका पदमा आसिन गराउने अवसर पनि हो नेकपालाई । जसले मुलुकभरका मात्रै होइन संसारभरकै महिलालाई हौसला हुन्छ । अर्काेतिर नेकपा तब त साँच्चीकै प्रगतिशली ठहरिन्छ ।
सभामुखको चयनको किचलो नेकपाभित्र गुटगत स्वार्थमा पनि रुमलिएको छ । साविक माओवादीबाट सभामुख बनेका महराको ठाउँमा माओवादी गुटको दाबी छँदैछ । साविक एमाले भने पूर्वसभामुख सुवास नेम्बाङ वा अरु कोही आफ्नै गुटको व्यक्तिलाई जिम्मेवारी दिन चाहन्छ । पार्टी एकीकरणको सबै प्रक्रिया टुंगियो भन्ने नेताहरुले अझै गुटकै भरमा जिम्मेवारी बाँडफाँड गर्ने हो भने उनीहरुको एकीकरणलाई वास्तविक एकीकरण नभई केवल गठबन्धनमात्रै हो भन्न सकिन्छ । यस्तै गरी अघि बढे यो पार्टी कहिल्यै एक हुन सक्दैन र विभाजनको खतरा सधैं भइरहन्छ । एउटी महिला पत्याउन नसक्ने र जिम्मेवारी दिन नसक्ने र घरझगडाका कारण अर्काे व्यक्ति टुंगो लगाउन नसक्ने अकर्मण्यताकै कारण संसद बैठक सारेको सार्यै गरेर नेकपाले भुलमाथि भुलमात्रै गरिरहेको छ ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया