एबिसीको उद्धार केन्द्रको औचित्य

अन्नपूर्ण फेरो मात्र होइन यस आसपासका थुप्रै क्षेत्र पर्यटकको मनै लोभ्याउने खालका छन् । खासगरी साहसिक पर्यटनका लागि यो क्षेत्र प्रख्यात छ । त्यही भएर त दिनहुँ माछापुच्छ्रे र अन्नपूर्ण आधार शिविरतिर जाने पर्यटकको लर्को नै लाग्छ । संसारकै उत्कृष्ट मानिने अन्नपूर्ण पदयात्रामा पर्यटकको चापमात्रै बढेको छैन, अंगभंग तथा परिवारका सदस्य गुमाउने दुखदायी घटना पनि भइरहेका छन् ।
प्राकृतिक विपत्ति रोक्न सकिँदैन । मौसमका बारेमा पूर्वानुमान लगाउन सकिने थुप्रै उपकरण बनेका छन् । तर नेपालको पर्यटकीय क्षेत्रमा यस्ता खालका प्रविधि प्रयोग हुन नसक्दा दुखद घटनाको सामना गर्नु परेको छ । जुन घटना अहिले फेरि भयो । हिमाली क्षेत्रमा हिउँ पर्नु स्वभाविक हो । तर त्यो हिउँबाट कसरी जोगिने भन्ने पूर्वानुमान गर्न नसक्दा अन्नपूर्ण पदमार्ग क्षेत्रमा बर्सेनि यस्ता घटना हुने गरेका छन् । यो सामग्री तयार हुने बेलासम्म अन्नपूर्ण आधार शिविर क्षेत्रमा कोरियाली ४ र नेपाली ३ गरी ७ जना सम्पर्कविहीन छन् । तर जहाँ घटना भएको हो, त्यो ठाउँमा अझै पनि उद्धारकर्ता पुग्न सकेका छैनन् ।
कात्तिकको पहिलो साता पोखरामा ठूलै कार्यक्रम भयो । कोरियन टेलिकमको सहयोगमा गण्डकी प्रदेश, नेपाल पर्वतारोहण संघ र हुम हुङ्गिल हुमिन फाउन्डेनको सहयोगमा अन्नपूर्ण उद्धार केन्द्रको उद्घाटन गण्डकीका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गरेका थिए । अन्नपूर्ण बेसक्याम्प क्षेत्रमा जाने पर्यटक दुर्घटनामा परे बेलैमा उद्धार हुने भनेर प्रचार पनि गरियो । उद्धार केन्द्रले विशिष्ट किसिमको ड्रोनको प्रयोग गर्ने, इन्फारेड क्यामरामा ड्रोनबाट जीवित मानिस पत्ता लगाउने प्रविधि प्रयोग हुने भनिएको थियो । ‘ड्रोनमा सेन्सरसहित क्यामरा जडान हुन्छ र त्यसले मानिस जीवित रहेको संकेत दिनेछ र तत्काल उद्धार गर्न सकिनेछ,’ भनिएको थियो त्यतिबेला । पछिल्लो दुर्घटनाको ४ दिन बितिसक्यो उक्त उद्धार केन्द्रबाट के काम भयो कहिँकसैले केही थाहा पाएका छैनन् । पर्वतारोहण तथा पदयात्रामा आइपर्ने विपत र त्यसको जोखिम न्यूनीकरण गर्न अन्नपूर्ण क्षेत्रमा स्थापना गरिएको उद्धार केन्द्रकै औचित्यमाथि प्रश्न चिह्न खडा भएको छ ।
नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा घोषणा गरेको छ । केन्द्रसहित ७ वटै प्रदेशमा पनि भव्य समारोह भयो । तर आएका पर्यटकको सुरक्षाप्रति भने सरकारी निकायको ध्यानै पुगेन । अन्नपूर्णसहित हिमाली क्षेत्रमा भएको यो पहिलो घटना होइन् । यस्ता घटना हुनसक्छन् भनेर पूर्वानुमान गर्नतिर कसैले चासो नदिने अनि प्रचारका नाममा उद्धार केन्द्रको नाम फिजाउने काम भइरहेको छ यहाँ । देशी विदेशी पर्यटकलाई नेपालको पर्यटन क्षेत्र सुरक्षित छ । दुर्घटना भइसकेपछि उद्धारका लागि कुनै बिलम्ब हुँदैन भन्ने प्रत्याभूति दिन सक्नुपर्छ । तर त्यतातिर सरकारी र निजी क्षेत्रको ध्यानै पुगेको छैन । भ्रमण वर्षको सुरुमै भएको दुर्घटनाले सरकारलाई ठूलो पाठ पढाएको छ । यो पाठबाट ज्ञान लिएर आगामी दिनमा अपनाउनुपर्ने उपायका बारेमा पर्यटनसम्बद्ध क्षेत्र सचेत हुनुपर्छ । पर्यटक उद्धारका नाममा बदनामी कमाएको नेपालको पर्यटन क्षेत्र साँच्चै उद्धारमा सहभागी भएर सकारात्मक सन्देश प्रवाह गर्ने बेला पनि यही हो ।







आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया