अनि हाँसे भीमबहादुर

समाधान संवाददाता २०७६ चैत २० गते २३:१२

अनुप पौडेल,पोखरा

बिहिबार दिउँसो फेवाताल किनारको बाराही घाटमा मानिसहरुको चहलपहल देखिन्थ्यो । उनीहरु सबै तालमा डुङ्गा चलाउने चालक रहेछन् । कोरोना भाइरसले गर्दा हातमुख जोड्ने बाटो बन्द हुँदा सबैको मन पिरोलिएको छ ।

कहिलेबाट नियमित काममा फर्कन पाइन्छ भन्ने उनीहरुलाई थाहा छैन । उनीहरुमध्ये कति दिउँसो माछा मार्न ताल किनारमा आउँछन् कति दिनभर डेरामै बस्छन् ।

Advertisement

राहत सामाग्री वितरण गर्न तालमा डुङ्गा खियाएर जीविका चलाउने चालकलाई फेवा डुङ्गा व्यवसायी संगठनले बोलाएको थियो । राहत पाउनेमध्ये एक थिए सिन्धुलीका भीमबहादुर मगर ।

राहत हातमा नपर्दासम्म छेउको चौतारीमा बसिरहेका थिए उनी । ६ जना पछि राहत लिन आउन भन्दै उनको नाम आयो । पोखरा-६ का वडा सदस्य हरिकृष्ण पहारी, संगठनका अध्यक्ष बुद्धिबहादुर नेपालीलगायतले उनलाई राहतको झोला हातमा थमाए । झोला हातमा परेपछि उनी मुसुक्क हाँसे ।

Advertisement

७ वर्षदेखि फेवातालमा नियमित डुङ्गा चलाउँदै आएका मगरले कोरोना भाइरसका कारण भोग्नुपरेको दुःख साटे । उमेरले ५ को दशक पुग्नै आँटेका मगरको काँधमा परिवार धान्ने जिम्मा छ ।

अन्य बेला बिहानै काममा आउने गरेका उनी आजभोलि डेरामा दिन कटाउँछन् । पुख्र्यौली घर सिन्धुली भएका भीमबहादुरको परिवारमा श्रीमति र ३ सन्तान छन् ।

उनलाई गाउँ फर्किन मन नभएको होइन । तर, पोखरामा लामो समय बिताएकाले पनि पोखरालाई माया मारेर टाढाको गाउँ फर्किन चाहेनन् । उनीसँगै आएका कति साथी गाउँ फर्किसके । उनी भन्छन्, ‘फर्किने मन भएको हो तर एकैचोटी लकडाउन भयो । गाडी पनि पाइएन त्यसैले फर्किन सम्भव भएन ।’

भीमबहादुर मगर
भीमबहादुर मगर

संकटका बेला राहत पाउँदाको खुसी उनको मुहारमा प्रष्ट देखिन्थ्यो ।‘यहीँ काम गरेको हिसाबले समितिले राहत दिँदा खुसी छु । परिवारमा सदस्य धेरै छन् जसले गर्दा एक÷दुई दिन टरे पनि समितिले केही गरेजस्तै लागेको छ,’ उनले भने ।

पोखरा महानगरपालिकाले दिने भनेको राहतका लागि वडाले उनको नाम पनि पठाएको छ । ‘सरकारबाट दिने भनेर नाम टिपाएर लगेको छ त्यो अहिलेसम्म पाएको छैन । बस्ने ६ नम्बर वडामा भएकाले वडाले नाम लगेको छ,’ उनले सुनाए । फागुन महिनासम्म मासिक २५ हजारसम्म आम्दानी गर्ने गरेका उनको कमाई चैत महिनामा ठप्प छ ।

ओखलढुङ्गाका तेजबहादुर माझीको पनि समस्या उस्तै छ । भोलिदेखि के खाने होला भन्ने भइसकेका बेला फेवा डुङ्गा व्यवसायी संगठनले राहत सामाग्री थमायो । माझीले डुङ्गा चलाउन थालेको ८ वर्ष भइसक्यो ।

५५ वर्षका उनको परिवार गाउँमा छ । ‘काम बन्द भयो । के खाने होला भन्ने बेला भइसकेको थियो । अब हप्ता दिनलाई पुग्छ,’ उनले हँसिलो मुद्रामा सुनाए ।

डेढ सय चालकलाई राहत वितरण

संगठनले तालमा डुङ्गा चलाउने झन्डै डेढ सय चालकलाई बिहिबार राहत बाँडेको छ । दैनिकी चलाउन तालमा डुङ्गा चलाउनेबाहेक अन्य कुनै आधार नभएका सबैलाई अत्यावश्यक खाद्य सामाग्री वितरण गरिएको संगठनका अध्यक्ष बुद्धिबहादुर नेपालीले जानकारी दिए ।

‘कोरोना भाइरसले गर्दा तालमा दिनभर डुङ्गा चलाएर बेलुकाको छाक टार्ने समस्यामा परेका छन् । खानाको समस्या भयो भनेर ८ वटा घाटका चालकलाई राहत वितरण गरेका हौं,’ उनले भने ।

चालकहरुलाई ५ केजी चामल, १ केजी दाल, १ लिटर तेल र १ केजी नुन राहतस्वरुप दिइएको अध्यक्ष नेपालीले जानकारी दिए । कोरोना भाइरसबाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै संगठनले अनिश्चितकालका तालमा डुङ्गा संचालन गर्न रोक लगाएको छ ।

कोरोना भाइरसका कारण पछिल्लो समय पोखरामा पर्यटकको संख्या शून्यः प्राय छ । पर्यटकले भरिभराउ हुने पोखराका पर्यटकीय क्षेत्र लेकसाइडका होटल अहिले खाली छन् । कोरोनाले पर्यटक नभएपछि एकाधबाहेक सबै होटलले कर्मचारीलाई बिदा दिएका छन् ।

तपाईको प्रतिक्रिया