१२ सय मुस्ताङी जिल्ला फर्किए

समाधान संवाददाता २०७७ वैशाख १६ गते १७:१५

एसके थकाली, जोमसोम

कोरोना भाइरस कोभिड –१९ रोकथामका लागि सरकारले लगाएको लक डाउनका कारण अलपत्र परेका मुस्ताङीहरु शनिबारदेखि घर फर्किएका छन् ।

म्याग्दी र मुस्ताङको सीमावर्ती क्षेत्र घाँसा प्रहरी चेक पोष्टले मंगलबार बिहानसम्म १२ सय ३ जना मुस्ताङी जिल्ला फर्किएको जनाएको छ । जसमध्ये चालकको संख्या ८३ जना छ । शनिबार २ दिन सरकारले लक डाउन केही खुकुलो पारेको थियो भने जिल्ला स्तरीय बैठकमा समेत सांसद, स्थानीय तह, प्रशासन र सुरक्षा निकायबीच अलपत्र मुस्ताङीलाई उद्दार गर्ने सहमति बनेको थियो ।

Advertisement

स्थानीय तहको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, पालिका, वडा र गाउँ मुखियाको रोहबर जिल्ला फर्किनेको सूची संकलन गरी स्थानीय प्रशासनलाई बुझाएपछि उद्दार कार्य सुरु भएको थियो । लक डाउनको अवस्थामा जिल्ला फर्किने संख्या बढ्न सक्ने जनाइएको छ । पछिल्लो प्राप्त जानकारी अनुसार पोखरा र काठमाडाैंबाट थप ५ बस मुस्ताङी जिल्ला आउँदै गरेको घाँसा प्रहरी चेक पोष्टले जनाएको छ ।

चेक पोष्टले जनाएअनुसार ३ दिनको फेरोमा ३४ वटा बस, जीप १५, ट्याक्सी १, एम्बुलेन्स १ र मोटरसाइकल ५ वटा मुस्ताङ भित्रिएको हो । जसमा ६ सय ९९ पुरुष र ५ सय ७ जना महिला छन् ।

Advertisement

बाटोमा आउँदै गरेको थप बसमा करिब १ सय २० जना मुस्ताङी रहेको चेक पोष्टले जनाएको छ । सरकारले सोमबारदेखि लकडाउन कडाई गर्न ७७ वटै जिल्लालाई परिपत्र पठाए पनि पोखरा र काठमाडाैं लगायतका स्थानबाट हिँडेका मुस्ताङीलाई जिल्ला फर्काउन स्थानीय प्रशासनले सहजीकरण गरेको जिल्ला प्रशासन कार्यालय मुस्ताङले बताएको छ ।

जिल्ला फर्किएकालाई भित्र्याएर नाका सिल गर्ने योजना रहेको प्रजिअ वेदप्रकाश अर्यालले जानकारी दिए । बुधबारदेखि अतिआवश्यकीय सेवा बाहेक नाकामा आउजाउलाई कडाई गर्ने प्रजिअ अर्यालले बताए । यता, मुस्ताङ फर्किएका सबैलाई जिल्लाका स्थानीय तहले सरकारी क्वारेन्टाइनमा नराखी घर घरमा पठाएको छ ।

केही स्थानीय तहले समाजघर, गुम्बा स्कुल र सामुदायिक स्कुलमा राखेको पाइएको छ । जिल्ला फर्किनेलाई क्वारेन्टाइनमा नराखी घर घर पठाएपछि पालिकाले व्यवस्था गरेको सरकारी क्वारेन्टाइन रित्तै हुन पुगेको हो । स्थानीय तह र विभिन्न गाउँ समाजले लाखौ‌ं रुपैयाँ खर्चिएर क्वारेन्टाइन निर्माण गरे पनि जिल्ला आउनेलाई होम क्वारेन्टानमा बस्न अनुरोध गरिएको थियो ।

नयाँ अनुहारलाई होम क्वारेन्टाइनमा बस्न लगाएपछि जिल्ला रहेका सर्वसाधारणलाई कोरोना त्रास बढेको हो । स्थानीय तहले क्वारेन्टाइन क्षमता कम भएको जनाउँदै जिल्ला फर्किएकालाई घर घरमा पठाएको हो । घर फर्किएकाको स्थानीय गाउँ मुखिया कोभिड–१९ संकट व्यवस्थापन केन्द्र, लगायतकाले अनुगमन गर्ने भनिए पनि अनुगमन फितलो भएको नाम नबताउने शर्तमा उपल्लो मुस्ताङका एक युवाले जानकारी दिए ।

सरकारी मापदण्ड अनुसार १ जिल्लाबाट अर्को जिल्ला प्रबेश गर्नेलाई अनिवार्य १४ दिन क्वारेन्टाइन बस्नु पर्ने प्रावधान बनाइए पनि स्थानीय तहले नियम मिचेर ७ दिन मात्रै होम क्वारेन्टाईनमा बस्न लगाएका हुन् । होम क्वारेन्टाइनमा राखिएपछि स्वास्थ्य परीक्षण तथा होम क्वारेन्टाइन निगरानी गर्न अप्ठ्यारो पर्ने ती युवाले बताए ।

स्थानीय प्रशासनले गाउँ मुखिया, जनप्रतिनिधि र नेपाली सेना, सशस्त्र र नेपाल प्रहरीले अनुगमन गर्ने र नियम उल्लंघन गरे क्वारेन्टाइनमा राख्ने बताएको थियो । होम क्वारेन्टाइनमा राख्ने शर्तमा जिल्ला ल्याइएका केही व्यक्तिहरु खुलेआम गाउँ घुमफिर गर्न थालेको जनाइएको छ ।

विश्वव्यापी माहामारीको रुपमा फैलिएको कोरोना भाइरस रोकथाम गर्न मुस्ताङका ५ वटै गाउपालिका १६ स्थानमा ९६ बेडको क्वारेन्टाइन बनेको थियो भने थासाङको लेते र जोमसोममा ८ बेडको आइसोलेसन कक्षको व्यवस्था गरिएको थियो ।

तपाईको प्रतिक्रिया