कास्कीमा १२ हजार गाडी भित्रिए, १४ हजार बाहिरिए

समाधान संवाददाता २०७७ जेठ २ गते ९:१९

अनुप पौडेल, पोखरा

लकडाउनको अवधिमा साढे १२ हजार गाडी कास्की भित्रिएका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले उपलब्ध गराएको तथ्यांकअनुसार चैत ११ गतेदेखि वैशाख ३१ गतेसम्म सानाठूला गरी १२ हजार ७ सय १८ सवारी साधन जिल्ला भित्रिएका हुन् ।

ती सवारीमा ३२ हजार ६ सय २४ जना जिल्ला भित्रिएको कास्की प्रहरी प्रमुख एसपी दानबहादुर कार्कीले जानकारी दिए । ‘यही अवधिमा १४ हजार ५ सय १५ सवारी जिल्ला बाहिर गएका छन् । ती सवारी चढेर ४८ हजार ८ सय १७ जनाले कास्की छोडेका छन्,’ बिहीबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा उनले भने ।

Advertisement

अत्यावश्यक सामग्री लिएर ४२ सय ९४ सवारी लकडाउनको अवधिमा कास्की प्रवेश गरेका छन् । त्यसमध्ये ४२ सय १३ वटा मालवहाक सवारी, ५२ वटा पेट्रोलियम पदार्थ बोक्ने ट्यांकर र २२ वटा ग्यास बुलेट रहेको प्रहरीको तथ्यांक छ ।

कास्की प्रशासनले सबै पास खारेज गरेको छ । प्रशासनले मृत्यु संस्कारमा सहभागी हुनु परे वा बिरामी परेर जिल्ला बाहिर जानपरे अनलाइन पास लिन भनेको छ ।

Advertisement

पूर्वतर्फ कोत्रे, पश्चिमतर्फ कुभिन्डे र उत्तरतर्फ नयाँपुल कास्की छोड्ने र भित्रिने नाका हुन् । प्रहरीसँग सवारीबाट जिल्ला आवतजावत गर्नेको तथ्यांक भए पनि चोरबाटो हुँदै कति जना कास्की आए भन्ने कुनै तथ्यांक छैन । एसपी कार्कीले भने, ‘पास लिएर जिल्ला आवतजावत गर्नेको तथ्यांक हामीसँग छ । चोर बाटो हुँदै जिल्ला भित्रिएका छन् भन्ने सत्य हो । तर, कति आए भन्न गाह्रो छ ।’

लकडाउन उल्लंघन गर्ने ३ सय ४३ सवारीलाई यो अवधिमा कारबाही गरिएको छ । त्यसमा २ सय ८६ दुई पाङ्ग्रे र ५७ चार पाङ्ग्रे सवारी छन् । लकडाउनको अवधिमा प्रशासनबाट जारी पास दुरुपयोग गर्ने २ सय ७३ सवारी साधनका धनीलाई कारबाही गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख सन्तोष रोकाले जानकारी दिए ।

त्यसमा म्याद सकिएको पासको प्रयोग गर्नेदेखि अरुको पासमा सवारी चलाउनेसम्म छन् । पास भएका तर लाइसेन्स नभएकालाई पनि प्रहरीले कारबाही गरिएको छ ।

‘एउटाको नाममा जारी भएको पास अर्कोले चलाएको पनि देखियो । पास जारी भएको ठाउँभन्दा अन्यत्र गएको पनि देखियो,’ उनले भने, ‘त्यस्ता सवारीको हकमा ५ सयदेखि १५ सय रुपैयाँसम्म जरिवाना गरेका छौं ।’

कास्की छिर्ने सबै नाकामा जाँचलाई कडा पारिएको उनले बताए । ‘टन्न खाद्यान्न र ग्यास लिएर आएको छ भने त्यसलाई पास आवश्यक छैन । ती सवारीमा मान्छे ओसारेको पाए कारबाही हुन्छ । त्यस्ता अत्यावश्यक सामान ढुवानी गर्नेसँग पास खोज्दा अरुले पनि दुरुपयोग गर्न सक्छन्,’ ट्राफिक प्रहरी प्रमुख रोकाले भने ।

जिल्ला प्रशासन कार्यालय कास्कीले बुधबार मध्यरातबाट लागु हुने गरी सबै पास खारेज गरेको छ । प्रशासनले मृत्यु संस्कारमा सहभागी हुनु परे वा बिरामी परेर जिल्ला बाहिर जानपरे अनलाइन पास लिन भनेको छ ।

लकडाउनको पहिलो र दोस्रो महिनामा कुन मुद्दा कति ?

लकडाउनको दोस्रो महिना वैशाखमा कास्कीमा ८५ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो महिना सबै गरेर ६७ मुद्दा दर्ता भएको थियो । लकडाउनको दोस्रो महिना वैशाखमा कास्कीमा १५ जनाविरुद्ध चोरी मुद्दा दर्ता गरिएको छ । विभिन्न ९ चोरीका घटनामा संलग्न १५ जनालाई पक्राउ गरेर मुदा दर्ता गरिएको हो । पक्राउ पर्ने सबैजना पुरुष हुन् । कास्कीमा लकडाउनको पहिलो महिना चैतमा एउटा पनि चोरीका घटना भएका थिएनन् ।

फागुनमा भने ५ जनाविरुद्ध चोरी मुद्दा दर्ता गरिएको थियो । ती मुद्दामा ५ जना पुरुष पक्राउ परेका थिए । माघ महिनामा १० चोरीका घटनामा संलग्न १७ जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा १४ पुरुष र ३ महिला थिए ।

वैशाख महिनामा २१ जना फरार प्रतिवादी पक्राउ परेका छन् । विभिन्न समयमा अदालतको कैद सजाय सुनाए पनि फरार रहेका उनीहरुलाई १ लाख १८ हजार २ सय ५० रुपैयाँ जरिवाना असुल गरी ११ वर्ष ११ महिना १६ दिन कैद सजाय सुनाइएको छ । गएको महिना ४ जना फरार प्रतिवादी पक्राउ परेकोमा ६ हजार ८ सय रुपैयाँ जरिवाना र १ महिना कैद तोकिएको थियो ।

ट्रफिक नियम उल्लंघन गर्ने ४ सय सवारीलाई ट्राफिक प्रहरीले वैशाख महिनामा कारबाही गरेको छ । त्यसबाट ३ लाख २७ हजार राजश्व संकलन भएको ट्राफिक प्रहरीले जनाएको छ । चैत महिनामा १६ सय सवारीलाई कारबाही गरिएकोमा १२ लाख ७९ हजार ५ सय रुपैयाँ राजश्व संकलन भएको थियो ।

चैत महिनामा कास्कीमा ६ वटा लागूऔषधसम्बन्धी मुद्धामा १३ जना पक्राउ परेका थिए । वैशाख महिनामा त्यो संख्यामा ५० प्रतिशतले कमी आएको छ । वैशाखमा ३ वटा मुद्दा दर्ता भएकोमा ५ जना पक्राउ परेका छन् ।

वैशाख महिनामा सबैभन्दा धेरै सार्वजनिक हितविरुद्धको तथा अभद्र व्यवहारसम्बन्धि २२ मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ । गत महिना यही शीर्षकमा २४ मुद्दा दर्ता गरिएको थियो । चैत र वैशाखमा समान १०/१० जनाले झुन्डिएर आत्महत्या गरेका छन् ।

यीबाहेक जवरजस्ती करणी उद्योग, जातीय छुवाछुत, जुवातासलगायत विभिन्न शीर्षकमा ४१ वटा मुद्दा दर्ता भएको कास्की प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया