सुरु भयो गण्डकीको बर्खे अधिवेशन, स्वास्थ्यमा सुधारको फड्को मार्छाैंः मुख्यमन्त्री

समाधान संवाददाता २०७७ जेठ १२ गते ५:२०

पोखरा

गण्डकी प्रदेश सभाको बर्खे अधिवेशन आइतबार सुरु भएको छ । कोरोना भाइरसको महामारीका कारण सभाको अविधेशन पोखरा सभागृहमा सुरु भएको छ । नदीपुर पोखरास्थित प्रदेश सभा भवन साँघुरो भएका कारण सामाजिक दुरी कायम गर्न सभागृहमा प्रदेश सभा बसेको हो ।

आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रममा बजेट ल्याउने यो अधिवेशनको मुख्य उद्देश्य हो । संघ सरकारले १५ जेठमा बजेट ल्याइसकेपछि प्रदेशले नीति तथा कार्यक्रम ल्याउने छ । त्यसपछि असार १ मा प्रदेशको बजेट ल्याइने छ ।

Advertisement

अधिवेशनको पहिलो दिन सभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले कोभिड १९ सँगको लडाइँका ‘अवसर’मा स्वास्थ्य क्षेत्रमा सुधारको फड्को मार्ने बताए । उनले यसलाई स्वास्थ्य क्षेत्रको सुदृढीकरणको अवसर मानेर जिल्ला अस्पतालहरुको स्तरोन्नति गरिने सुनाए ।

‘प्रत्येक जिल्ला अस्पतालमा न्यूनतम पनि ५ बेडको आइसियु कक्ष निर्माण गर्ने व्यवस्था गरेका छौं’, कोभिड १९ विरुद्ध प्रदेशले गरेका काम सुनाउँदै मुख्यमन्त्री गुरुङले भने, ‘अन्तको बजेट कटौती गरेर भए पनि अस्पतालमा सुधार ल्याउँछौं । मैले त कोरोना भाइरसलाई एउटा अवसरका रुपमा पनि देखेको छु । सबै जिल्ला अस्पतालहरु अपग्रेड गरिँदैछ । तल्लो तहमा पुगेका अस्पताललाई पनि विकास गर्नु पर्नेछ । अहिलेले यस तर्फ ध्यान दिनु जरुरी छ ।’

Advertisement

उनले कोरोना भाइरसका कारण गण्डकी प्रदेशमा के कति नोक्सान भयो भन्ने आँकलन गर्नु अहिलेको मुख्य चुनौती भएको पनि बताए । ‘अहिलेसम्म १९ अर्ब नोक्शान भयो की भन्ने छ । अब जेठ र असार अझै बाँकी छ,’ मुख्यमन्त्री गुरुङले भने, ‘यसैलाई ध्यान दिएर सरकारको नीति तथा कार्यक्रम र बजेट बनाउनुपर्छ ।’

अर्थतन्त्रलाई विस्तारै ट्र्याकमा ल्याउने काम प्रदेश सरकारले गरिरहेको उनले सुनाए । अर्थतन्त्र चलायमान बनाउनकै लागि लकडाउनका बीच पनि सरकारी विकास आयोजना र निजी क्षेत्रका ठूलो योजना काम गर्ने वातावरण बनाएको उनको भनाइ थियो । बाहिरबाट मानिस प्रवेश नगर्ने र भित्रका पनि बाहिर नजाने गरी निश्चित आचार संहितामा बसेर काम गर्ने गरी निर्माण क्षेत्रमा लकडाउन खुकुलो पारेको मुख्यमन्त्रीले जानकारी गराए ।

मुख्यमन्त्री गुरुङले प्रदेश सरकारले कोरोना भाइरस रोग कोभिड १९ रोकथामका लागि चैत ७ गते नै नाकामा कडाइ थालेको र अहिलेसम्मका कामकै कारण गण्डकी ठूलो संक्रमणबाट बँचेको बताए । ‘हामी हात बाँधेर बसेको भए यस्तो हुँदैनथ्यो, ग्रिन जोन भन्न नमिलेको भए पनि ठूलो संक्रमणबाट प्रदेश बँचेको छ,’ उनले भने ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड १९ उपचार अस्पताल बनाएको, जिल्ला अस्पतालहरुमा आइसोलेसन वार्डहरु व्यवस्था गरेको, क्वारेन्टाइन बनाएको लगायत जानकारी उनले दिए ।

१ खर्ब १९ अर्ब विप्रेषण (रेमिटेन्स) आइरहेको गण्डकीमा चैत र वैशाखमा मात्रै १९ अर्ब जति विप्रेषण घटेको मुख्यमन्त्रीले उल्लेख गरे । आर्थिक वृद्धिदर ९ प्रतिशतको हाराहारीमा हुने अनुमान गरिएकोमा त्यो २ दशमलव ८६ प्रतिशतमा खुम्चिने विज्ञहरुको अध्ययन पनि मुख्यमन्त्रीले सुनाए ।

उनका अनुसार कोरोना भाइरस रोग रोकथामका लागि प्रदेश सरकारले खडा गरेको १५ करोडको राहत कोषमा स्वेच्छिक रुपमा ३ करोड १२ लाख ६ हजार रुपैयाँ सहयोग आएको छ । त्यसमध्ये ५÷७ करोड रुपैयाँ खर्च भइसकेको अझै १३ करोड चाहिने अनुमान गरिएको मुख्यमन्त्रीले बताए ।

महेन्द्र, जंगबहादुर र केपीको प्रशंसा

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले प्रदेश सभाको बर्खे अधिवेशनको सुरु दिन आइतबार मन्तव्यका क्रममा राजा महेन्द्र, जंगबहादुर र प्रधानमन्त्री केपी ओलीको प्रशंसा गरे ।

राजा महेन्द्र र प्रधानमन्त्री कीर्तिनिधि विष्टले २०२६ सालमा नेपालको उत्तरी सीमाबाट भारतीय सेनाको क्याम्प हटाएको प्रसंग ल्याउँदै उनीहरुको प्रशंसा मुख्यमन्त्रीले गरेका हुन् ।

राणा प्रधानमन्त्री जंगबहादुरले बाँके, बर्दिया, कैलाली र कञ्चनपुर फिर्ता ल्याउनुका साथै सीमामा पिल्लर गाडेको हुँदा इतिहासले सम्झेको मुख्यमन्त्रीको भनाइ थियो । त्यस्तै अहिले प्रधानमन्त्री केपी ओलीले राष्ट्रियताका पक्षमा देखाएको आँट र साहसको उनले प्रशंसा गरेका छन् ।

‘हिजोदेखि भारतले मिचमाच ग¥यो, कसैले बोल्ने हिम्मत गरेन, सम्मानीय प्रधानमन्त्री केपी शर्माज्यूले लिम्पियासम्मको भूमि हाम्रो हो भनेर हिम्मत गर्नुभाछ,’ उनले भने, ‘कूटनीति लडाइँ सुरु भयो अब ।’ नेपाल सरकारले गरेको निर्णयको प्रदेश सभाले स्वागत गर्नुपर्ने उनले बताए ।

प्रधानमन्त्री केपी ओलीले भारतसँग पौठेजोरी खेल्ने आँट गरेको उनको भनाइ थियो । ‘सत्य कुरा के हो भने इतिहासको यो जटिल जङ्सनमा उहाँले एउटा आँट गर्नुभयोे,’ मुख्यमन्त्रीले भने । इन्डियासँग पौठेजोरी खेल्न आँट ओलीले गरेको उनले सुनाए ।

‘मुख्तियार भीमसेन थापापछि नेपालमा कति प्रधानमन्त्री भए ? गन्नोस् त ३८ जना भयो कि ४० जना भयो ? पञ्चायतको छाड्दिऊँ, मनमोन अधिकारी एकपटक हुनुभयो । माधव नेपाल कतिपटक हुनुभयो, गिरिजाप्रसाद कतिपटक हुनुयो, शेरबहादुर देउवा कतिपटक हुनुभयो, बाबुराम भट्टराई कतिपटक हुनुभयो, प्रचण्ड कतिपटक हुुनुभयो ? हिसाब किताब छ नि हामीसँग तर बिरोलोको घाँटीमा घन्टी झुन्ड्याउने त सम्मानीय केपी शर्मा ओली नै हो नि, कसैले लुकाएर लुकाउन मिल्छ र ?’ उनले भने, ‘यो हिसाबले केपी ओली नेपालको एउटा सपूत हो । मेरो पार्टीको अध्यक्ष भएर भन्या हैन, प्रधानमन्त्री भएर पनि भन्या हैन ।’

मुख्यमन्त्रीले दुई देशको समान सार्वभौमिकताको आधारमा केपी ओलीले भारतसँगको सम्बन्ध कायम गर्न खोजेको हुँदा उनको कदमलाई परराष्ट्र नीतिका निम्ति ओली डक्ट्रिनको संज्ञा दिए । ‘यो त त्यही फुच्चे भुटानलाई पनि काम लाग्ने डक्ट्रिन, माल्दिभ्सलाई पनि काम लाग्ने डक्ट्रिन, बंगलादेशलाई पनि काम लाग्ने डक्ट्रिन,’ उनले भने ।

मुक्तिनाथको कृपाले जोगिएका छौं : नेता पोखरेल

कृष्णचन्द्र नेपाली पाेखरेल

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले कोभिड १९ रोकथाम र उपचारका लागि २

महिनाअगाडि जे अवस्था थियो अहिले पनि त्यस्तै रहेको बताए । कुनै अस्पताल विशेषलाई मात्र कोरोना उपचारको केन्द्र बनाउँदा कतिपय ठाउँमा विवाद आएको भन्दै उनले प्रत्येक जिल्लामा कोरोना उपचारका लागि अस्पताल जरुरी भइसकेको भनाइ राखे ।

गण्डकी र आसपासका जिल्लाका बिरामी समेत आएर उपचार गराउने पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोरोना डेडिकेटेड अस्पताल बनाएकोमा उनले असन्तुष्टि जनाए । उनले भने, ‘छिमेकी मुलुकको सिको गरेर हामीले छोटो अवधिमै सुविधा सम्पन्न अस्पताल बनाउनुपर्छ ।

विश्व नै कोरोनाको महामारीले आक्रान्त भएका बेला विवेकसम्मत तरिकाले काम गर्नुपर्ने दायित्व प्रदेश सरकारमा आएको उनले बताए । नेता पोखरेलले भने, ‘महामारी विरुद्ध लड्न पूर्वतयारी, लकडाउनको बेलाको राहत, क्वारेन्टाइनको व्यवस्था, कोभिड हस्पिटल स्वास्थ्य तथा सुरक्षा लगायत, अग्रपंक्तिमा खटेर काम गर्नेका लागि सुरक्षा सामग्री, परीक्षण सामग्री आपूर्तिका कामहरु उचित तरिकाबाट जति हुनुपर्ने थियो, त्यति भएका छैनन् ।’

उनले मुक्तिनाथको कृपाले आजसम्म हाम्रो प्रदेश त्यस्तो विकराल अवस्थामा आइनसकेको हुनाले हामी सबैको साख बचेको भनाइ राखे । उनले भने, ‘तर भयावह परिस्थितिको सम्भावना अझै टरेको छैन ।’

अहिले क्वारेन्टाइन भन्ने शब्द सुन्ने बित्तिकै मानिस डराउने अवस्था आउन थालेको भन्दै उनले यसका लागि सुविधासम्पन्न क्वारेन्टिाइन निर्माण गर्न सरकारलाई सुझाव दिए ।

श्रमिक, गरिब, बेरोजगार, किसानदेखि व्यवसायी गरी सबै तह तप्कालाई छुने गरी राहतको प्याकेज सार्वजनिक गर्न पनि उनले माग गरेका छन् । स्वास्थ्य सामग्री खरिदमा भ्रष्टाचारको गन्ध आउनु, सांसदहरु नै अपहरणमा संलग्न रहेका खबर आउनुले आफूहरुलाई दुखी तुल्याएको र यस्ता कार्यको आफ्नो दलले भत्र्सना गरेको उनले बताए ।

सुरुआतदेखि नै कांग्रेसले प्रदेश सरकारका कामकारवाहीप्रति सहयोग गर्दै आए पनि यसलाई कमजोरीका रुपमा लिएको नेता पोखरेलले बताए । बजेट निर्माणमा भएका गल्ती कमजोरी सच्याउन आग्रह गर्दा गर्दै पनि सुझाव नमानेको भन्दै आगामी बजेटमा बिना भेदभाव र माननीयको समान भूमिका देखिने गरी योजनाहरु समेट्न उनले आग्रह गरे ।

समितिको निर्देशन पालना भएन : थापा

कृष्ण थापा

जनमोर्चा नेपालका तर्फबाट प्रदेश सभा सदस्य कृष्ण थापाले प्रदेश सभामा सांसदको भूमिका कमजोर भएको बताए । उनले व्यंग्य गर्दै मन्त्री र मन्त्रालयको संख्या बढाए सांसदको संख्या पनि कम देखिने र मन्त्रीको काम पनि हुन्छ अब त्यसो गर्दा हुने सुझाव दिए ।

प्रदेश सभामा प्रदेश मामिला समिति सभापति समेत रहेका थापाले समितका निर्देशनप्रति सरकार गम्भीर नभएको भन्दै असन्तोष पोखे । गण्डकी प्रदेशका उत्तर र दक्षिणका २ नाका सञ्चालन गर्न आधार तयार गरी अगाडि बढ्न निर्देशन दिए पनि काम अगाडि नबढेको उनको भनाइ थियो ।

असमान रुपमा रहेको गण्डक सम्झौता खारेजका लागि संघ सरकारसँग समन्वय गर्न प्रदेश सरकारले पहल थाल्न पनि समितिले निर्देशन गरेको उनले स्मरण गराए । प्रदेशका सबै जिल्लाका जेलहरुको अवस्था असाध्यै दयनीय भएको अनुगमनका क्रममा पाइएको र सुधारका लागि सरकारलाई निर्देशन समेत दिइसकिएको उनले बताए ।

लकडाउनका बेला झनै समस्यामा परेका एकल महिला र अपांगता भएकाहरुको सुविधा कटौती गरेर संघ सरकारले राम्रो काम नगरेको भन्दै उनले यो निर्णय तत्काल सच्याउन आग्रह गरे ।

सांसद थापाले कोरोनाको महामारी नियन्त्रणका लागि पिसिआर परीक्षणको दायरा अझै फराकिलो बनाउन आग्रह गरे । कोभिड १९ कारण विदेशमा अलपत्र परेका नेपालीको उद्धारमा तत्काल ध्यान पु¥याउन जरुरी रहेको भन्दै उनले स्वास्थ्य सम्बन्धी कार्ययोजना बनाउनुपर्नेमा जोड दिए ।

३ तहका सरकारबीच समन्वय जरुरी : आचार्य

हरिशरण आचार्य

जनता समाजवादीका तर्फबाट प्रदेश सभा सदस्य हरिशरण आचार्यले कोरोनाका महामारी नियन्त्रणका लागि ३ तहका सरकारबीच समन्वयको अभाव खड्किएको बताए । स्थानीय तहले कोरोना नियन्त्रणका लागि गरेको काम उदाहरणीय रहेको भन्दै उनले यसलाई भविष्यका्े मार्गदर्शनका रुपमा लिनुपर्ने बताए ।

अहिले विदशमा रहेका लाखौं नेपाली स्वदेश फर्कन आतुर रहेको, कति दूतावासको शरणमा रहेको र कति सीमा नाकामा आएर अलपत्र पर्नु परेकोतर्फ ध्यानाकर्षण गर्दै उनले केन्द्र सरकारले स्वदेश ल्याउन वातावरण बनाउने र प्रदेशले समन्वय गर्नुपर्ने भनाइ राखे ।

कोरोनाले विकास निर्माणका काम अस्तव्यस्त भएको भन्दै उनले आर्थिक वर्षलाई नयाँ तरिकाले समीक्षा गरेर अगाडि बढ्न सरकारलाई सुझाव दिए । जनशक्तिको उचित व्यवस्थापन गरेर अब कार्यान्यननको वर्ष मनाउने बेला आएको उनले बताए ।

प्रदेश सभाको अर्को बैठक मंगलबार दिउँसो १ बजे बस्ने सभामुख नेत्रनाथ अधिकारीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया