तनहुँका संक्रमित ३ युवा भारतबाट सुनौली एउटै बसमा आएका थिए

समाधान संवाददाता २०७७ जेठ २३ गते १८:३६

राजन उपाध्याय
दुलेगौंडा, २३ जेठ

तनहुँमा शुक्रबार कोरोना संक्रमण पुष्टि भएका २ युवालाई शुक्लागण्डकी नगरपालिका–५, झरौटामा रहेको जिपी कोइराला राष्ट्रिय श्वास प्रश्वास उपचार केन्द्रको आइसोलेसन कक्षमा राखिएको छ ।

उनीहरुलाई एम्बुलेन्समार्फत दिउँसो रिसिङ गाउँपालिकाको क्वारेन्टाइनबाट ल्याइएको हो । उनीहरु जेठ ११ गते भारतबाट आइपुगेका थिए । रिसिङ गाउँपालिकाका स्थायी घर भएका उनीहरु वर्ष ३९ र ४० का रहेको स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । उनीहरु रिसिङ–१ झापुटारस्थित शुक्ला माविको क्वारेन्टिनमा रहेका थिए ।

Advertisement

बिहान गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठ उनीहरु बसेको क्वारेन्टिनमा पुगेका थिए । यसअघि जेठ १८ गते तनहुँमा पहिलो पटक संक्रमण पुष्टि भएका २८ वर्षीय युवालाई पनि सोही अस्पतालमा राखिएको छ ।

पहिलो संक्रमित युवा जेठ १० गते दमौली आएका थिए । उनलाई व्यास नगरपालिकाको आदिकवि भानुभक्त बहमुखी क्याम्पसको क्वारेन्टिनमा राखिएको थियो ।

Advertisement

शुक्रबार पुष्टि भएका २ युवा पनि भारतको नयाँदिल्लीबाट पहिलो स‌ंक्रमितसँगे सुनौलीसम्म एउटै बसमा आएका थिए । तर सुनौलीबाट दमौलीसम्म पहिलो संक्रमित पहिलेनै सीमा कटेर आए भने छुटेका भोलिपल्ट जेठ ११ गते आएका थिए । शुक्रबार २ जना थपिएसँगै जिपी अस्पतालमा सङ्क्रमितको संख्या ३ पुगेको छ ।


उनीहरुको अवस्था सामान्य रहेको अस्पतालका कार्यकारी निर्देशक डा. राम कुमार श्रेष्ठले जानकारी दिए ।सो अस्पतालमा १२ बेडको आसोलेसन बेड बनाइएको छ । रिसिङ गाउँपालिका भारतबाट आउनेको संख्या १ सय ८९ जना पुगेको गाउँपालिका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार रिसिङ–१ झापुटारको शुक्ला माविमा र सोहि वडाको अमर माविमा ९ जना, वडा नंं ३ को शान्ति माविमा ३१ जना, वडा नं. ४ को भिरकोट स्वास्थ्यचौकीमा २० जना, वडा नं. ६ गोठादीस्थित श्रृंग माविमा २४ जना र वडा नं. ८ को शिव सरस्वती माविमा २८ जना रहेका छन् ।

तपाईको प्रतिक्रिया