मणिपालका संक्रमितलाई क्षेत्रीय अस्पतालमा सारियो

समाधान संवाददाता २०७७ जेठ ३० गते ११:२३

पोखरा

कोरोना भाइरस पुष्टि भएका मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत बिरामी पर्वतको कुश्मा ३ का ३५ वर्षे पुरुष पश्चिमाञ्चल क्षेत्रीय अस्पताल सारिएका छन् ।

मोटरसाइकल दुर्घटनाका ती बिरामीमा कोरोना संक्रमण पुष्टि भएको भन्ने शुक्रबार सार्वजनिक भएको थियो । गण्डकी प्रदेशको स्वास्थ्य निर्देशनालयका निर्देशक विनोदविन्दु शर्माले शुक्रबार पर्वतका तीसहित कोरोना संक्रमित प्रदेशको संख्या शुक्रबार सार्वजनिक गरेका थिए ।

Advertisement

ती बिरामीको टाउकोमा समेत चोट छ । उनको अप्रेसन गर्नुअघि लिइएको स्वाबको परीक्षण रिपोर्ट पोजेटिभ आएको प्रदेश स्वास्थ्य निर्देशनालयका आपतकालीन कार्य सञ्चालक केन्द्रका संयोजक नवराज शर्माले जनाए । ‘अहिले हरेक बिरामीको अप्रेसन गर्नुअघि स्वाब लिएर कोरोना परीक्षण गर्ने गरिएको छ’, उनले भने ।

पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई सरकारले कोरोनाको डेडिकेटेड अस्पताल तोकेको छ । त्यसैले नै मणिपालमा कोरोना पुष्टि भएका बिरामीलाई क्षेत्रीयमा सारिएको शर्माले जानकारी दिए । संक्रमित ती बिरामीलाई आइसोलेसनमा राखेर उपचार सुरु गरिएको छ । कुश्मा नगरपालिका ३ का बासिन्दा ३५ वर्षे ती पुरुषलाई कोरोना भाइरसको संक्रमण कसरी भयो भन्नेचाहिँ खुलेको छैन ।

Advertisement

यो पनि – बाइक दुर्घटना भएपछि उपचार गर्न पोखरा आएका थिए कुश्माका संक्रमित

पछिल्लो तथ्यांक अनुसार शुक्रबारमात्रै प्रदेशमा कोरोना पुष्टि भएकाको संख्या थप ३७ भएको छ । यीसहित गण्डकीमा कोरोना संक्रमित १ सय ८८ जना पुगेका छन् । मनाङ र मुस्ताङबाहेक बाँकी सबै ९ जिल्लामा कोरोना संक्रमित भेटिएका छन् ।

शुक्रबार संक्रमण पुष्टि भएकामध्ये स्याङ्जाका २२, पर्वतका १३, तनहुँ र नवलपुरका १÷१ जना हुन् । अहिलेसम्म गण्डकीमा ११ जना संक्रमित निको भएर घर फर्किएका छन् । संक्रमितमध्ये स्याङ्जाका १ जनाको मृत्यु भएको छ ।

तपाईको प्रतिक्रिया