कास्कीमा जाेर बिजाेर:५९ सवारी कारवाहीमा, ३ सय बढीलाई सम्झाइ बुझाइ

समाधान संवाददाता २०७७ जेठ ३१ गते १८:५६

समाधान संवाददाता

सरकारले खुकुलो बनाएको लकडाउनमा निजी सवारी सञ्चालन सम्बन्धी मापदण्ड कार्यान्वयनका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले शनिबारदेखि कारवाही थालेको छ ।

मापदण्ड पालनाका लागि अधिकांश सवारीलाई सम्झाइ बुझाइ गरेको भएपनि ५९ सवारी कारवाहीका लागि तानिएका छन् । कागजपत्र नियन्त्रणमा लिई कारवाहीको प्रक्रिया अघि बढाइएकाे कास्की ट्राफिकका प्रहरी नायब निरीक्षक पूर्णबहादुर अधिकारीले जानकारी दिए ।

Advertisement

शुक्रबारदेखि निजी सवारी सञ्चालनको मापदण्ड लागु गर्ने मातहतका ट्राफिक कार्यालयलाई सर्कुलर भएपनि पर्याप्त सचेतना दिने उद्देश्यले शनिबार ३ सय बढीलाई सम्झाइ बुझाइ गरेको सूचना शाखाले जनाएको छ ।

कास्कीका विभिन्न भेगमा सवारी जाँचका क्रममा प्रकृति हेरेर कारवाही गर्नुपर्ने नै भएका न्यून सवारीलाई मात्र कारवाहीका लागि प्रक्रियामा लगिएको प्रनानि अधिकारीको भनाई छ ।

Advertisement

सरकारले सार्वजनिक गरेको मापदण्डअनुसार जोर गते जोर नम्बरका सवारी र बिजोर गते बिजोर नम्बरका सवारी सञ्चालन गर्न पाइने नियम बनाइएको छ ।

मोटरसाइकलमा भने चालक मात्र सवार हुन पाउने मापदण्ड छ । एउटै मोटरसाइकलमा २ जना सवार र निजी सवारीमा जोर बिजोर पालना नगरेका सवारीलाई सम्झाइ बुझाइ गरिएको ट्राफिक प्रहरीले जनाएको छ ।

मोटरसाइकलमा १ जना मात्र चढ्ने नियम अव्यवहारिक भएको भन्दै तिव्र आलोचना भइरहेको छ । व्यवहारिक रुपमा कार्यान्वयन गर्न कठिन देखिने उक्त निर्णय पालना गराउन समेत ट्राफिकलाई समस्या परिरहेको एक ट्राफिक प्रहरीले बताए ।

मोटरसाइकलमा भने जोर बिजोर लागु गरिएको छैन । सार्वजनिक सवारी सञ्चालनको प्रतिबन्ध भने कायमै छ ।

तपाईको प्रतिक्रिया