मुक्तिनाथको कर्जा मिनाहासँगै नगदै फिर्ता योजना

समाधान संवाददाता, पाेखरा
मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकको सेवा तथा सुविधालाई ध्यान दिँदै साँवा ब्याज नै फिर्ता दिने योजना ल्याएको छ । बैंकबाट ऋण लिएका ग्राहकको मृत्युपश्चात मृतकका आफन्तलाई बाँकी कर्जा मिनाहा गर्दै विगतमा बैंकलाई भुक्तानी भएको साँवा ब्याजसमेत फिर्ता हुने नयाँ कर्जा योजना बैंकले ल्याएको हो ।
नयाँ योजना अन्तर्गत बैंकबाट सामूहिक जमानी वा व्यक्तिगत जमानतमा बिनाधितो कर्जा लिएका ग्राहकको उक्त अवधिभित्र मृत्यु भएमा बाँकी रहेको रकम मिनाहा भई सो अवधिमा भुक्तान गरेको सम्पूर्ण रकम मृतकको परिवारलाई फिर्ता हुनेछ ।
नयाँ योजना अन्तर्गत पोखरा १८ लामागाउँका गीता विकले साना तथा लघु बैंंकिङ कार्यक्रम अन्तर्गत शाखा कार्यालय चिप्लेढुंगाबाट १ लाख ऋण लिएकोमध्ये भुक्तान गरिसकेको साँवा र ब्याज बापतको रकम ९२ हजार २ सय ५२ रुपैयाँ र काजकिरिया खर्च ५ हजारसमेत गरी ९७ हजार २ सय ५२ गीताका श्रीमान कुलबहादुर विकलाई प्रदान गरिएको साना तथा लघु बैंकिङ प्रमुख विष्णु गौतमले जानकारी दिए । नगद प्रदान सभामा विकले तिर्न बाँकी कर्जा १६ हजार ८ सय ९३ रुपैयाँसमेत मिनाहा गरिएको गौतमले जानकारी दिए ।
गीताका पति कुलबहादुरलाई पोखरा क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रबन्धक बाबुराम ढकालले कर्जा मिनाहा गरिएको घोषणा गरेका थिए । मुक्तिनाथ विकास बैंकले बचत र कर्जाको कारोबारसँगै सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सेवा, सुविधा प्रदान गर्दै आएको छ । पोखरा अनुगमन अधिकृत नगेन्द्रराज पौडलेले बैंकले ग्रामीण भेगमा घरदैलोमार्फत बैंकिङ सेवा सुविधा दिनेमात्र नभई सामाजिक सेवासमेत प्रभावकारी ढंगले गर्दै आएको उनले बताए ।
तपाईको प्रतिक्रिया