संसदीय पत्रकारलाई सम्मान र आर्थिक सहयोग

समाधान संवाददाता २०७५ फागुन २ गते ९:२६

समाधान संवाददाता

संसदीय पत्रकार मञ्च गण्डकीको नवनिर्वाचित कार्यसमितिलाई गण्डकी प्रदेश सभाकी उपसभामुख सिर्जना शर्मा र सदस्यहरुले बधाई ज्ञापन गर्दै सम्मान गरेका छन् । प्रदेश सभामै मंगलबार उपसभामुख शर्मा र प्रदेश सभा सदस्यहरु प्रभा कोइराला, गायत्री गुरुङ र मीना गुरुङले मञ्चका नवनिर्वाचित पदाधिकारी र सदस्यहरुलाई खादा र अबिर लगाई बधाई दिए ।

सोही अवसरमा उपसभामुख शर्मा र प्रदेश सभा सदस्य कोइराला र गुरुङद्वयले संसदीय पत्रकार मञ्चलाई संयुक्त रुपमा २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरे । उक्त रकमको चेक उपसभामुख शर्माले मञ्चका अध्यक्ष लालप्रसाद शर्मालाई हस्तान्तरण गरिन् ।

Advertisement

त्यस अवसरमा उपसभामुख शर्माले पत्रकारहरुको सुखदुखमा साथै रहने र पत्रकारलाई चाहिने सूचना उपलब्ध गराउने व्यवस्था मिलाउन योगदान गर्ने विश्वास दिलाइन् । मञ्चका अध्यक्ष शर्माले संघीयता कार्यान्वयनका लागि पत्रकारहरुले भूमिका निर्वाह गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले व्यावसायिक र मर्यादित पत्रकारिताको पक्षमा आफूहरु व्यवहारै उत्रने बताए । प्रदेश सभा सदस्य कोइराला र गुरुङद्वयले भर्खरै सुरु भएको संसदीय पत्रकारिताको विकासका लागि बिउस्वरुप आर्थिक सहयोग गरेको जनाए ।

संसदीय पत्रकार मञ्च गण्डकीको माघ २५ गते सम्पन्न पहिलो अधिवेशनले कान्तिपुर दैनिकका संवाददाता लालप्रसाद शर्माको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत निर्वाचित गरेको थियो । समितिको उपाध्यक्ष समाधान दैनिकका कार्यकारी सम्पादक भरत कोइराला, सचिव बाह्रखरी डटकमका पोखरा ब्युरो प्रमुख बिशन क्षेत्री, कोषाध्यक्ष नयाँपत्रिका दैनिकका संवाददाता रोहितराज पराजुली, सहसचिव सबैको आवाज साप्ताहिककी तारा चापागाईं दुबे छन् ।

Advertisement

सदस्यमा समाधान दैनिकका फोटो पत्रकार युवराज गुरुङ ‘युनिश’, हिमाल खबर पत्रिकाका संवाददाता युवराज श्रेष्ठ, गण्डकी टेलिभिजनकी संवाददाता उमा आलेमगर, एपीवान टिभीका पोखरा ब्युरोप्रमुख सागरराज तिमिल्सिना, आदर्श समाज दैनिकका संवाददाता प्रकाश ढकाल र नागरिक दैनिकका फोटो पत्रकार उमेश पुन छन् ।

तपाईको प्रतिक्रिया