प्रदेश सरकार नयाँ अभ्यास हो

समाधान संवाददाता २०७५ फागुन ४ गते ११:५४

मुलुकमा संघीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्था सुरु भएको १ वर्ष बितिसकेको छ । यसैको जगमा मुलुकमा संघ, प्रदेश र स्थानीय गरी ३ तहका सरकार बने । मुलुकले ७ वटा प्रदेश सरकार पाएकोे छ । गण्डकी प्रदेशले कार्यभार सम्हालेको पहिलो वर्ष पूरा भएको छ । यसबीचमा प्रदेशले के–कस्तो उपलब्धि हासिल गरे ? संघीयताप्रति जनताको विश्वास कत्तिको जगाएको छ ? यस्तै विषयमा केन्द्रित रहेर मुस्ताङ प्रदेश ‘क’ बाट निर्वाचित प्रदेशसभाका सदस्य माननीय ईन्द्रधारा विष्टसँग समाधानकर्मी सुन्दरकुमार थकालीले गरेको कुराकानीः

माननीयज्यू, गण्डकी प्रदेशको १ वर्षीय कार्यकाललाई यहाँले कस्तो रुपमा लिनु भएको छ ?
मेरो प्रदेश सभा कार्यकालको अनुभव भन्नुपर्दा मैले र सबै प्रदेश सभाका सदस्यले १ ऐतिहासिक बिल्कुलै नयाँ व्यवस्थालाई व्यवस्थापन गर्न आएको जस्तो लाग्छ । साथै यस ऐतिहासिक व्यवस्थालाई व्यवस्थित ढंगले अघि बढाउनुपर्ने जिम्मेवारी हामी माझ थपिएको छ ।

चुनावको बेला जनतालाई दिएका आश्वासन कत्तिको पूरा गरे जस्तो लाग्छ ?
जनतालाई दिएको आश्वासनप्रति म दृढ छु र सोहीअनुसार लागिपरेका छौ । जनताले हामीप्रति गरेको विश्वासलाई खेर जान दिने छैनौ । मैले जनताको घरदैलौमा जे गर्छु भनेको थिए ती कुराहरु बिस्तारै सुरुआत हुँदैछन् । कतिपय कामहरु समयलाई साथमा लिएर पूरा गर्ने भएकोले केही ढिलाइ भएको हो ।

Advertisement

प्रदेश सभा सदस्यको मुख्य काम ऐन कानुन बनाउने हो । यो जिम्मेवारी कत्तिको पूरा गरेको छु भन्ने लाग्छ ?
हाम्रो जिम्मेवारी भनेकै नीति निर्माण, ऐन–कानुन तथा विधेयक पास गर्नु हो । आफू लगायत साथीहरु निर्वाचित भइसकेपछि १ वर्षीय कार्यकालमा करिब २५ वटा विधयेक पास भए भने केही विधयेक विधान समितिमा छलफल अघि बढेको छ । अन्य २ वटा विधयेक संसद्मा पेस गरिसकेको अवस्था छ । यसलाई मूल्यांकन गर्ने हो भने प्रदेशको गतिविधि सन्तोषजनक नै मान्नुपर्छ ।

प्रदेश सरकारले केवल नीति निर्माण, ऐन–कानुन तथा विधयेक पास गर्नमा नै १ वर्ष खर्चियो ? जनता कहिलेसम्म प्रदेश सरकारको कामबाट सन्तुष्ट रहन सक्लान् त ?
नीति र ऐन–निर्माण कानुन निर्माण सँगसँगै विकास पूर्वाधारका कामहरु क्रमिक रुपमा अघि बढ्ेका छन् । काम गर्ने समयअवधि प्रशस्तै छ । कुनै पनि परिवर्तन जादुको छडी जस्तो हुँदैन । समय लाग्छ । हामी त्यसमा अहोरात्र लागिपरेका छौ । म जनतालाई विश्वस्तपार्ने चाहन्छु कि संघीय शासन प्रणाली एकदमै सुन्दर व्यवस्था हो । जनताले दिएको जिम्मेवारी किमार्थ भुल्न सक्दिन । हामीले जनताको भारी बोकेका छौ, यो भारीलाई गन्तव्यमा पुर्‍याएरै छाड्छौ ।

Advertisement

केन्द्र शक्तिशाली, स्थानीय तह पनि अधिकार सम्पन्न तर प्रदेश चाहिँ अधिकारविहीन भयो भन्ने छ नि ?
यो सोचाइ बिल्कुलै गलत हो । संविधानले संघीय व्यवस्था अनुसार ३ तहको सरकार बनेको छ । त्यही अनुरुप प्रादेशिक सरकार पनि १ हो । केन्द्रीय सरकार विगत २ सय वर्षदेखि स्थायी रुपमा चल्दै आएको छ भने स्थानीय तह पनि सोहीअनुसार अघि बढ्दै आएको हो । तर, प्रदेश सरकार बिल्कुलै नयाँ अभ्यास हो । यसमा शून्य अवस्थाबाट काम गर्नुपर्ने भएकोले मानिसलाई खुल्दुली लाग्नु स्वभाविकै हो । तर प्रदेश सरकार यी समस्यालाई चिर्दै अघि बढ्ने कुरामा पूर्णविश्वस्त दिलाउँछु ।

प्रदेश सरकारले जिल्लामा खोलेका कार्यालयमा कर्मचारीविहीन अवस्था छ । जसका कारण जनताले सेवाप्राप्त गर्न नसक्ने अवस्था छ । यो अन्योल कहिलेसम्म रहँला ?
प्रदेश सरकारमार्फत् जिल्लामा खोलिएका कार्यालय हेर्दा विद्यमान अवस्थामा कर्मचारीको संख्या न्यून भएको तथ्य सही हो । यी समस्याको व्यवस्थापन हँुदैछ । हामी छिटोेभन्दा छिटो कर्मचारी व्यवस्थापनको समस्या सुल्झाउन अघि बढिरहेका छौं । दुखको कुरा यही हो, मुस्ताङ दुर्गम जिल्ला भएकोले कर्मचारी जान नमान्ने अवस्था छ । मैलेले प्रदेश सरकारसँग दुर्गम जिल्लामा १ वर्ष बढी बिताएका कर्मचारीलाई ठोस नीति बढाएर सरुवा–बढुवाको माग गरेको छु ।

संघीयता कार्यान्वयनका लागि अहिले भइरहेको प्रयास तपार्इंलाई कस्तो लाग्छ ?
संघीयता कार्यान्वयनका प्रयासहरु नेपालको सन्र्दभमा महत्वपूर्ण छन् । अमेरिका जस्तो समृद्ध देशमा पनि संघीयता कार्यान्वन हुन ७२ वर्ष लाग्यो, हामी त सिक्दैछौ । १ वर्षको काम हेर्दा हामीले धेरै ठूलो फड्को मारेको जस्तो लाग्छ । संघीयता कार्यान्वयन र प्रदेशको भूमिका गहकिलो बनाउन विधेयकको भूमिका महत्वपूर्ण हुन्छ ।

प्रदेश सभा सदस्यको हैसियतले जनतालाई कसरी आशावादी बनाउनु हुन्छ ?
संदस्यको हैसियतले म जनतालाई के भन्न चाहन्छु भने, दाजुभाइ, दिदीबहिनी तथा विभिन्न जातजाती, समुदाय सबै क्षेत्रको समावेशी प्रतिनिधित्व हुनेगरी प्रदेश सभा गठन भएको हो । यस व्यवस्थामा सबैको समान अस्तित्व रहनेगरी नीति, ऐन र विधेयक पास हुन्छन् । हामी जनतालाई प्रदेश सरकारले गर्ने कामको अनुभूति दिलाउन प्रयत्नशील छौ ।

१ वर्षीय कार्यकालमा तपाईंहरु मार्फत् जिल्लाको समग्र विकासका लागि के–कस्ता काम गुर्नभयो ? अनि कस्ता–कस्ता योजना तपाईंहरुको पहलमा सुरु हुँदैछन् ?
१ वर्षीय कार्यकालमा मुस्ताङको समग्र विकासको कुरा गर्दा प्रदेशको ठूलो रकम सिँचाइ, पुलपुलेसा, पहिरो नियन्त्रण, कालीगण्डकी नदी नियन्त्रण र मोटरबाटो निर्माणमा बजेट विनियोजन भएको छ । कृषि, पर्यटन लगायत धेरै क्षेत्रमा विनियोजित नीति–खाकाहरु हँुदै छन् । अबका दिनहरुमा जिल्लाको धार्मिक, सांस्कृतिक पर्यटन, खेल पर्यटन र आर्थिक विकासका लागि हामी लागिपरेका छौं । त्यस्तै, मुस्ताङको ५ वटै स्थानीय तहमा स्याउ जोन घोषणा भइसकेको र सोही अनूरुप कार्यक्रम लागु हुँदैछन् ।

प्रदेश सरकारले निकट भविष्यमा कोरलादेखि सुस्ता त्रिवेणी उत्तर–दक्षिण नाकासँगै कोरलानाकालाई विश्वकै ठूलो भू–बन्दरगाहको रुपमा विकास गर्ने लक्ष्यका साथ काम अघि बढेका छन् । उपल्लो मुस्ताङको चराङमा विमानस्थल निर्माण गर्दै दामोदर कुण्डलाई हिन्दू धर्मको पर्यटन विकासमा जोड्ने, उपल्लो मुस्ताङमा ट्रान्सलेसन स्टेन निर्माण गर्दे दूरदराजका गाउँमा विद्युतीकरण गर्ने र सामुदायिक शिक्षा क्षेत्रलाई आधुनिकीकरण गर्दै विकास गर्ने योजना हामीले तयार गरेका छौं ।

अन्तत्यमा केही सोध्न छुटेका भए बताइदिनुस् न ।
हामी संघीय व्यवस्थाको प्रारम्भिक अध्यायमा छौ । सुरुआतको पहिलो मोडमा आफूलाई ‘क’ अक्षर लेख्ने शुभ मौका जनताले प्रदान गरेका छन् । हामी यस मानेमा जनताप्रति अत्यन्तै आभार प्र्रकट गर्दछौ । जनताको भरोसालाई आत्मसाथ गर्दै अबका दिनमा ‘ख’, ‘ग’ र ‘घ’ लेख्ने अभ्यासलाई अगाडि बढाउँदै समृद्ध मुस्ताङको भविष्य उज्वल बनाउने दिशातर्फ लाग्ने विश्वास दिलाउन चाहन्छौ ।

तपाईको प्रतिक्रिया