साढे २ महिनापछि पाए माछापुच्छ्रेका पहिराे पीडितले राहत

समाधान संवाददाता २०७७ असोज २६ गते ७:५६

पाेखरा

गण्डकी प्रदेशकाे राजधानी पाेखरासँगै जाेडिएकाे माछापुच्छ्रे गाउँपालिकाका पहिराे पीडितले राहत पाउन झन्डै ३ महिना कुर्नु परेकाे छ ।

गत साउन २ गते बिहान गएको पहिरामा परी मृत्यु भएका माछापुच्छ्रे गाउँपालिका–८ खोराकोमुखका ३ जनाको परिवारलाई राहत स्वरुप आर्थिक सहयोग प्रदान गरिएको हाे ।

गाउँपालिका कार्यालयमा आइतबार आयोजित कार्यक्रममा गण्डकी प्रदेश सरकारबाट ५० हजार तथा तथा गाउँपालिकाबाट ५० हजार गरी मृतकका परिवारलाई जनही १ लाखका दरले राहत प्रदान गरिएको हो ।

Advertisement

आन्तरिक मामिला तथा कानुनमन्त्री हरिबहादुुर चुमान तथा गाउँपालिका अध्यक्ष कर्ण बहादुर गुरुङले पीडित परिवारलाई राहत रकम हस्तान्तरण गरे ।

खोराकोमुख पाखाका प्रेमराज विकको घर माथिबाट आएको पहिरामा पुरिएर उहाँका तीन छोराका दुई नाति १६ वर्षीय कुशल, १४ वर्षीय समिर तथा १६ वर्षीया नातिनी रेजिना विकको घटनास्थलमै मृत्यु भएको थियो ।

Advertisement

राहत वितरण कार्यक्रममा मन्त्री चुमानले यस वर्ष गण्डकी प्रदेशमा प्राकृतिक विपत्तिका घटनाहरु अघिल्ला वर्षका तुलनामा बढी घटेको बताउँदै विस्थापितहरुको पुर्नःस्थापना तथा पीडितहरुलाई राहत प्रदान गरिने बताए ।

संघीय सरकारसँगको सहकार्यमा विस्थापितहरुका लागि आवास निर्माण गरिने उनले बताए । मन्त्री चुमानका अनुसार मनसुन शुरु भएयता प्राकृतिक विपत्ति परेर गण्डकी प्रदेशमा १ सय २६ जनाको मृत्यु तथा २३ बेपत्ता छन् । विपत्तिमा परेर ८९ जना घाइते भएका छन् ।

गण्डकी प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले इञ्जिनियरिङ डिजाइन तथा नाप जाँच बिना खनिएका ग्रामीण सडकका कारणबाट वर्खायाममा जनधनको क्षति पुगेको बताए ।

यस वर्ष पहिरोमा परी कास्कीमा ३ महिला, २ पुरुष, ३ बालिका तथा ३ बालक गरी ११ जनाले ज्यान गुमाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

तपाईको प्रतिक्रिया