यसरी बन्छ खेर जाने स्याउ र खुर्पानीको ब्रान्डी

समाधान संवाददाता २०७७ कार्तिक २५ गते ८:१०

एसके थकाली, जोमसोम

शीतोष्ण वागवानी विकास केन्द्र मार्फाले खेर जाने र कमसल स्याउ खुर्पानी प्रशोधन गरी धमाधम ब्रान्डी उत्पादन गरेको छ ।

केन्द्रले फार्ममा फल्ने स्याउ, खुर्पानी र आरुबखडा लगायत फलफूल प्रशोधन गरी ब्रान्डी, वाइन, जाम, साइडर, सुकुटी बनाएर बजारमा पु¥याएको छ ।

Advertisement

केन्द्रका वरिष्ठ वागवानी विकास अधिकृत वसन्तकुमार श्रेष्ठले फार्ममा बर्सेनि विभिन्न फलफूलको प्रशोधन गरी मदिराजन्य पेय पदार्थ लगायत सामग्री उत्पादन गरेको बताए ।

वरिष्ठ अधिकृत श्रेष्ठका अनुसार केन्द्रले बर्सेनि ३० देखि ४० टनसम्म स्याउ उत्पादन गरेको बताए । तीमध्ये बी र सीग्रेड लगायत कम गुणस्तरका आधाजसो स्याउ प्रशोधन गरी ब्रान्डी तयार गरिन्छ ।

Advertisement

अधिकृत श्रेष्ठले फार्ममा उत्पादन गरिएको ब्रान्डी, वाइन, साइडर, जाम, सुकुटी लगायत सामग्री स्थानीय व्यवसायी तथा मुस्ताङ घुम्न आउने पर्यटकलाई बिक्री गर्ने उल्लेख गरे ।

केन्द्रले यस वर्ष स्याउ र खुर्पानीको २ हजार ८ सय लिटर ब्रान्डी बनाउने लक्ष्य लिएको डिस्टिलरी इकाईका कर्मचारी नीलबहादुर पुर्जाले जानकारी दिए ।

पुर्जाले बगैंचाको बोटबाट टिपेको स्याउ सुरुआतमा पानीमा पखाल्ने बताए । उनका अनुसार पखालेर सफा गरिएको स्याउलाई काठको मुंग्रोेले थिलो पारिन्छ । थिलो पारिएको स्याउको छोक्रालाई चिसो पानीमा डुबाइन्छ ।

पानीमा डुबाएको स्याउको छोक्रामा रहेको बीउ थिग्रन्छ र छोक्रा तैरिन्छ । तैरिएको छोक्रा ड्रममा राखिन्छ । थेग्रिएको बिउलाई रुटस्टक बेर्ना तयार गर्न बीउका रुपमा उपयोग गर्ने सकिने पुर्जाले जनाए ।

ड्रममा ४० केजी स्याउको छोक्रा, २० केजी चिनी वा १५ केजी सख्खर मिश्रण गर्नुपर्छ । ड्रममा राखिएको कच्चा पदार्थमा कम्तीमा २४ घन्टापछि २ सय ५० ग्राम मर्चा मिसाएर ड्रमको बिर्को राम्ररी बन्द गर्नुपर्छ ।

स्याउको छोक्रा, सख्खर वा चिनी र मर्चा मिश्रण गरिएको ब्रान्डीका लागि कच्चा पदार्थ गर्मीयाममा २ हप्ता र जाडोयाममा २ देखि ३ महिनासम्म राखेपछि ब्रान्डी उत्पादन गर्न योग्य हुन्छ ।

केन्द्रका सूचना अधिकारी एवं बाली संरक्षण अधिकृत किरण परियारले २ महिनासम्म बन्द गरी राखिएको स्याउको छोक्रासहितको कच्चा पदार्थ (जाँड)लाई डिस्टिलरी अर्थात् भट्टीमा राख्नु पर्ने बताए ।

भट्टीमा राखेको कच्चा पदार्थलाई तलबाट आगो बालेर तताउने उल्लेख गर्दै उनले त्यहाँबाट उत्पन्न हुने बाफ र पानीको तरलपदार्थ विभिन्न माध्यमबाट अलग्गिएर ब्रान्डी बन्ने उनले बताए ।

सडक सञ्जाल नहुँदा केन्द्रको फार्ममा उत्पादित फलफूल सजिलै बिक्री गर्न समस्या थियो । सरकारले केन्द्रमा फलफूल प्रशोधन केन्द्र स्थापना गरेपछि भने बजारीकरण सजिलो भएको छ ।

केन्द्रले दिएको फलफूल प्रशोधन तालिम र प्रविधि विस्तारका कारण मार्फाका स्थानीय ६ जनाले मदिराजन्य ब्रान्डी उत्पादन कारखाना खोलेका छन् ।

मुस्ताङको बगैंचामा फलेका सबै स्याउ गुणस्तरका कारण बजारमा सजिलै बिक्री हुँदैनन् ।

वागवानी विकास केन्द्रले स्याउ ब्रान्डीको प्रतिलिटर ५ सय र साइडर र वाइनको प्रतिलिटर ४ सय रुपैयाँमा बिक्री गर्दै आएको छ ।

स्याउका अलवा केन्द्रले फलफूल तथा ताजा तरकारी उत्पादन तथा बिक्री गर्छ ।

बीउबिजन तथा नर्सरी उत्पादन, फलफूल प्रशोधन र स्थानीय किसानलाई फलफूल तथा तरकारी उत्पादनका लागि क्षमता विकास, बगैंचा सुधार कार्यक्रम केन्द्रले गर्दै आएको छ ।

केन्द्रले विभिन्न बालीहरुमा लाग्ने रोगको प्रकोप नियन्त्रण लगायत स्थानीयस्तरमा किसानलाई सहजीकरण गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया