रिभानमा मोटरेबल पुल निर्माण सुरु

समाधान संवाददाता २०७७ कार्तिक २६ गते ११:०४

समाधान संवाददाता, पोखरा

माछापुच्छ्रे गाउँपालिका ५ स्थित रिभानमा मोटरेबल पुल निर्माण सुरु भएको छ । गण्डकी प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मार्फत ४० मिटर लम्बाइ र ८.४० मिटर चौडाइको मोटरेबल पुल निर्माण मंगलबार सुरु भएको हो ।

गण्डकी प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री रामशरण बस्नेतले पुल शिलान्यास गरे । आगामी ११ महिनाभित्र उक्त पुल निर्माण पूरा गर्ने लक्ष्य छ ।

Advertisement

मन्त्री बस्नेतले पुलको गुणस्तरमा ध्यान दिन निर्माण कम्पनी इन्द्रेणी फेवा जेभी पोखरालाई आग्रह गरे । ५ करोड ९८ लाख ३० हजार रुपैयाँको लागतमा पुल निर्माण हुन लागेको हो ।

गण्डकी प्रदेश सांसद रामजीप्रसाद बराल (जीवन) को विशेष पहलमा उक्त पुल निर्माण हुन लागेको मन्त्री बस्नेतले जनाए ।

Advertisement

आवश्यकताको आधारमा झोलुंगेले पुल र २ सयवटा मोटरेबल पुल आगामी दुई वर्षभित्र निर्माण गर्ने प्रदेश सरकारको लक्ष्य रहेको उनले सुनाए । गण्डकी प्रदेशका सबै गाउँमा यस वर्ष आधारभूत खानेपानीको पहुँच पु¥याउने मन्त्री बस्नेतले दाबी गरे ।

गण्डकी प्रदेश सांसद रामजीप्रसाद बराल (जीवन) ले प्रदेश सरकार गठन भएपश्चात जनतालाई सरकारको अनुभूति हुने गरी माछापुच्छ्रे गाउँपालिकामा समेत केही काम भएको दाबी गरे ।

सांसद बरालले मर्दी खोलाले स्थानीयलाई धेरैपटक दुःख दिने र पोखरामा जाने पानीसमेत दूषित हुने हुँदा त्यसको समाधानका लागि पोखरामा लगिएको पानीको मुहान ३ किलोमिटर माथिल्लो भेगमा सार्नुपर्ने खाँचो औंल्याए ।

सर्भे भएका दुईवटा पुलसहित, रिभान खहरे मोटरेबल पुल, डाँडागाउँ भेडाबारी पुल र रातोपानीको पुल निर्माण भए समग्र माछापुच्छ्रे गाउँपालिको केन्द्रसँग जोड्ने सहज वातावरण बन्ने जसले विकासका ढोका खुला हुने सांसद बरालले दाबी गरे ।

माछापुच्छ्रे गाउँपालिकाका अध्यक्ष कर्णबहादुर गुरुङले प्रदेश सरकारको कुनै पनि योजना सम्पन्न गर्न स्थानीय सरकारले आवश्यक पहल कदमी गर्ने जनाए ।

रिभानको मोटरेबल पुल हाल निर्माण हुन लागेको उक्त स्थलमा २०७४ साल साउनमा आएको बाढी तथा पहिरोले कल्भर्टसहित बगाउँदा ११ घर परिवार विस्थापित भएको उनले स्मरणसमेत गराए ।

माछापुच्छ«े गाँउपालिका वडा नम्बर ५ का वडा अध्यक्ष जुमबहादुर गुरुङले उक्त पुल निर्माण भएसँगै माछापुच्छ्रे, ५, ८ र ९ वडाका करिब ६ हजारजना भन्दा बढी जनता लाभान्वित हुने विश्वास व्यक्त गरे ।

पूर्वाधार विकास कार्यालय कास्कीका डिभिजन प्रमुख दिनेश घिमिरेले रिभान मोटरेबल पुल तोकिएको २०७८ असोज ३० गतेभित्र सम्पन्न गर्ने गरी पहल गर्ने बताए । माछापुच्छ्रे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमानसिंह गुरुङले कोरोनाको कारण हाल धेरै योजनाहरुलाई असर पार्न थालेको बताए ।

तपाईको प्रतिक्रिया