मुस्ताङमा वर्षको पहिलो हिमपात, डाँडाकाँडा सेताम्मे

समाधान संवाददाता २०७७ मंसिर १ गते १४:४३

एसके थकाली, जोमसोम

मुस्ताङमा हिमपात सुरु भएको छ । सोमबार बिहानैदेखि मुस्ताङको उत्तरीक्षेत्रको लोमान्थाङ गाउँपालिका र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा वर्षको पहिलो हिउँ परेको छ ।

यस्तै मुस्ताङको वारागुङ मुक्तिक्षेत्र—१ मा अवस्थित प्रसिद्ध धार्मिकस्थल मुक्तिक्षेत्र तथा आसपासका गाउँहरुमा समेत हिमपात भएको छ । गत वर्ष उपल्लो मुस्ताङमा कार्तिकमा हिउँ परेको थियो भने यसवर्ष कार्तिकको अन्तिममा परेको हो ।

Advertisement

लोमान्थाङ—४ छोसेर स्थित नेचुङमा रहेको सशस्त्र प्रहरी बलको बिओपि ईञ्चार्ज सशस्त्र प्रहरी निरीक्षक सुजन रानाभाटले उपल्लो मुस्ताङको सीमावर्ती क्षेत्रमा बिहानैदेखि बाक्लो हिउँ पर्न सुरु गरेको जानकारी दिए ।

उपल्लो मुस्ताङको लोमान्थाङ गाउँपालिका अन्र्तगतका छोसेर, कोरला, छोनुप, समजुङ, चुमजुङ, नाम्डो र लोमान्थाङ लगायतका आसपासका गाउँहरुमा हिमपात जारी रहेको उनले बताए । उपल्लो मुस्ताङमा हिमपात भएसँगै स्थानीयको जनजीवन कष्टकर बनेको छ ।

Advertisement

उपल्लो मुस्ताङमा हिमपात भएपछि त्यस आसपास डाँडाकाँडा, गाउँबस्तीसमेत हिउँले सेताम्मे बनेका छन् । केही दिनअघि हिउँ नपरेपनि अत्यधिक मात्रामा चिसो बढेको उपल्लो मुस्ताङमा हिमपातसंगै खोलानाला, धारा र घरका सेफ्टी टयांकी जमेको थियो ।

उपल्लो मुस्ताङमा हिमपात भएसँगै तापक्रम माइनस २० डिग्रीमा झरेको छ । स्थानीय किसानले पालेका याकचौरी, भेडाच्याङ्ग्रा र घोडाखच्चड लगायत पशुचौपायालाई हिमपातले असर पु-याएको छ । बिओपि इञ्चार्ज रानाभाटले हिमपात २४ घण्टा समेत कायम रहेमा २ फिट बढी हिउँ पर्ने दाबी गरे ।

खेतीपाती सकेर घुम्ती व्यापार गर्न बेंसी झर्ने गरेका उपल्लो मुस्ताङीहरु कोरोनाका कारण यस वर्ष हिमपातसँगै गाउँमा कठ्यांग्रिएर बस्न बाध्य छन् ।

हिमाली जिल्ला मुस्ताङको उत्तरीक्षेत्रका जनताको स्थानीय जनजिवन कष्टकर बनेपनि स्थानीयबासी हिउँ परेपछि खुसीको रौनक छाएको छ ।

हिमपातले कृषि र पर्यटनक्षेत्रमा सहयोग पुग्ने भएका स्थानीयमा खुसीयाली छाएको हो । हिउँले खेतीयोग्य जमिनमा सिचाइँको काम गर्ने र हिमपातले सिन्चित खेतीयोग्य जमिनमा लगाएको अन्नबलीमा लाग्ने विभिन्न प्रकोपलाई न्यूनिकरण गर्ने भएकाले स्थानीय किसानका लागि हिउँ बरदान सावित हुन्छ ।

लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले हिमपात भएसँगै स्थानीयको दैनिकीमा समेत प्रतिकुल असर पुगेको बताए ।

उनका अनुसार गाउँपालिकाको चराङ, मराङ, घमी, ढि, सुर्खाङ, यारा, घारा, घिलिङ र ढाक्मर लगायत गाउँहरुमा बाक्लो हिमपात भएको छ । अध्यक्ष बिष्टले हिमपात भएसँगै पालिकाका स्थानीय जनतालाई हिमपातबाट सुरक्षित रहन समेत सुझाएका छन् ।

मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउपालिका—१ को प्रसिद्ध धार्मिक स्थल मुक्तिनाथक्षेत्रमा सोमबार बिहानैदेखि हिउँ पर्न सुरु गरेको झारकोट स्वास्थ्य चौकीका अहेब सुवास अधिकारीले जानकारी दिए ।

अहेब अधिकारीले मुक्तिनाथक्षेत्रमा ५ सेन्टिमिटर हिउँ परेको बताए । मुस्ताङको तल्लोक्षेत्र घरपझोङ गाउँपालिकाका लेकमा समेत आंशिक हिउँ परेको छ । तल्लो क्षेत्रमा हिउसँगै सामान्य वर्षा भएको जोमसोमका स्थानीय अजित थकालीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया