अज्ञात रोगले डुब्यो तन्जिङको कमाउने स्रोत

समाधान संवाददाता २०७७ पुष १४ गते ११:००

एसके थकाली, जोमसोम

उपल्लो मुस्ताङको लोमान्थाङ र लोघेकर दामोदरकुण्ड गाउँपालिकामा अज्ञात रोगले सयौं भेडा, च्याङ्ग्रा मरेका छन् । गत असोजदेखि यस प्रकारको अज्ञात रोग महामारीका रुपमा फैलिएको हो ।

उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड ३ घिलिङका पशुपालक तेन्जिङ गुरुङको गोठमा रहेका २ सय १२ चौपायामध्ये १ सय १६ भेडाच्याङ्ग्रा एकैसाथ मरेको वडाध्यक्ष सम्तेन धावा गुरुङले जानकारी दिए ।

Advertisement

अरु आर्थिक स्रोत नभएका तेन्जिङको जीविकोपार्जनमै यसले समस्या ल्याएको छ । गोठ नै रित्तो हुनेगरी पशुचौपाया मर्न थालेपछि अहिले उनको विलौना छ, ‘कमाई खाने स्रोत डुब्यो । कसरी जीविका चलाऊँ ।’

तेन्जिङका श्रीमतीसहित छोरा र छोरी छन् । श्रीमती सुस्त मनस्थितिकी छिन्, छोरा बेरोजगार छन् । छोरी कक्षा ५ मा पढ्छिन् ।

Advertisement

पशु सेवा प्राविधिकले जीवित रहेका ९६ वटा भेडा, च्याङग्रालाई उनकै गोठमा पुगेर उपचार गरेका छन् । घिलिङकै अर्का पशुपालक छेवाङ ढिन्डुक गुरुङको गोठमा रहेका २ सय ५ वटा च्याङग्रामध्ये ६० वटाभन्दा बढी मरेका छन् ।

लोघेकर दामोदरकुण्ड गाउँपालिका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले उपल्लो मुस्ताङमा माहामारीको रुपमा पशुचौपायामा अज्ञात रोग देखापरेको बताए । उनले अन्नपूर्ण संरक्षण क्षेत्रको उच्च लेकमा समेत वन्यजन्तुमा यस प्रकारको रोग देखापरेको खुलाए ।

पालिकाका पशुसेवा प्राविधिक चक्र विकले सबै वडामा पशु चौपायामा अज्ञात रोग देखा परेको र गाउँपालिकाकै समन्वयमा गण्डकी प्रदेश र कृषि ज्ञान केन्द्रबाट ३ जना पशु विज्ञ टोली आएर स्थलगत निरीक्षण गरेको बताए ।

बाँकी पशु चौपायाको सुरक्षाका लागि पिपिआर भ्याक्सिन र रोगले छोएका पशुचौपायालाई एन्टिबायोटिक खुवाइएको पशु सेवा प्राविधिक विकले उल्लेख गरे । गापाका ५ वटै वडामा पुगेर पशु चौपायालाई १५ हजार पिपिआर भ्याक्सिन लगाइएको छ ।

उपल्लो मुस्ताङीको मुख्य जीविकोपार्जनको माध्यम कृषि, पशुपालन र पर्यटन व्यवसाय हो । उपल्लो मुस्ताङका २ गापामा अधिकांश घरले भेडा, च्याङ्गा र याकचौरी पाल्ने गरिएको छ ।

लोघेकर गापाभित्रका प्रत्येक घरधुरीका कम्तीमा ३० पशु अज्ञात रोगले मरेका छन् । गापाका पशु प्राविधिक विकले हालसम्म २ सय ५० भन्दा बढी चौपाया रोगले मरेको बताए । तर, वडा १ को चराङ र मराङमा भने रोग देखिएको छैन ।

यसअघि लोमान्थाङ वडा १, २, ४ र ५ मा समेत अज्ञात रोग देखापरेको थियो । गापाका पशु प्राविधिक दिलीप पुर्जाका अनुसार गापाभित्रमा करिब ३ सय पशुचौपाया मरेका छन् ।

तपाईको प्रतिक्रिया