अब हेलमेटमा पनि गुणस्तर मापदण्ड, गुणस्तरीय हेलमेट बनाउने उद्याेगलाई एनएस चिन्ह

समाधान संवाददाता २०७५ फागुन १० गते १६:२७

समाधान संवाददाता, काठमाडाैं

नेपाल गुणस्तर तथा नापतौल विभागले हेलमेटको पनि गुणस्तर सम्बन्धी मापदण्ड बनाएको छ ।

सुरक्षाका लागि लगाइएको हेलमेट दुर्घटना हुँदा हेलमेट एकातिर र मान्छे अर्कातिर भई हेलमेटसमेत फुट्नाले चालकको ज्यानको जोखिम भएको पाइएपछि नेपाल गुणस्तर तथा नापतौल विभागले हेलमेटमा पनि गुणस्तर मापदण्ड बनाएको हो । दुई पाङ्ग्रे (बाइक, स्कुटर) सवारी साधन प्रयोग गर्दा हामी अनिवार्य रूपमा हेलमेटको प्रयोग गर्छौ । दुर्घटनाबाट बच्न हेलमेट अनिवार्य गरिएको छ । तर, यसअघि हेलमेटको गुणस्तरसम्बन्धी मापदण्ड भने बनाइएको थिएन ।

Advertisement

बजारमा पाइने कमसल खालका हेलमेटले दुर्घटना हुँदा सुरक्षा दिन सक्दैन । बजारमा अन्तराष्ट्रियस्तरका सुरक्षित हेलमेट पाइने भए पनि सामान्यतया नेपालीले सस्तो हेल्मेट प्रयोग गर्ने गरेको व्यापारीहरू बताउँछन् ।

सुरक्षाका लागि लगाइने हेलमेटले सुरक्षा नदिएपछि यसको मापदण्ड निर्धारण गरिएको नेपाल गुणस्तर तथा नापतौल विभागका गुणस्तर निर्धारण शाखा प्रमुख अनिल शाक्यले बताए । ‘ट्राफिक प्रहरीसँग दुर्घटनाका फुटेज ल्याएर हेर्दा हेलमेटले सुरक्षा नदिई प्रायः हेलमेट एकातिर मान्छे अर्कातिर भएको दृश्य भेटेपछि यसको मापदण्ड तयार गरिएको हो’, उनले भने ।

Advertisement

उनका अनुसार बाहिरी मेटेरियल के को हुने, केसिङ स्टक्चर कस्तो हुने, बाहिरको आवाज शून्य क्षमता कति हुने, लक लोड, भाइजरको  क्वालिटी कस्तो हुनपर्ने भन्ने कुरा मापदण्डमा तोकिएको छ । उनका अनुसार यो मापदण्ड स्वयच्छ्यात्मक हो । बाध्यात्मक होइन ।

यदि कुनै उद्योगीले यो मापदण्ड पुर्‍याएर हेलमेट बनाउँछन् भने त्यसलाई नेपाल गुणस्तर चिन्ह (एनएस) प्रदान गरिने छ । कुनै उद्योगीले मापदण्ड प्रयोग नगरी हेलमेट बनाउँछन् भने उनीहरूलाई कारबाही हुँदैन । तर, त्यस्ता हेलमेटले भने एनएस चिन्ह पाउँने छैनन् ।

यदि सरकारले यस मापदण्डलाई बाध्यात्मक बनाउने हो भने बजारमा न्यून गुणस्तरका हेलमेट बन्द हुने हेलमेट उद्योगी रामप्रसाद बस्याल बताउँछन् । नेपालमा थोरै मात्रामा हेलमेट उद्योग छन् । हेलमेट सम्बन्धी कुनै मापदण्ड नभएकाले उद्योगीहरूले आफ्नै तरिकाले बनाउँदै आएका छन् ।

महानगरीय ट्राफिक प्रहरी कार्यालय, यातायात व्यवस्था विभाग, उपभोक्ता अधिकार मञ्च, उद्योग वाणिज्य सङ्घ र विज्ञहरूको छलफलमा सो मापदण्ड तयार पारिएको विभागले जानकारी दिएको छ।

तपाईको प्रतिक्रिया