याकखर्क नजिक पुग्यो सडक

समाधान संवाददाता २०७७ माघ २८ गते १९:२२

कोरोना कहर तथा लकडाउनमा समेत मुस्ताङ—डोल्पा सडक विस्तार रोकिएन

एसके थकाली, जोमसोम

कर्णाली प्रदेशको हिमाली जिल्ला डोल्पा र गण्डकी प्रदेशको हिमाली जिल्ला मुस्ताङ जोड्ने सडक निर्माण याकखर्क नजिक पुगेको छ ।

Advertisement

भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गत सडक डिभिजन कार्यालयमार्फत कार्यान्वयनमा ल्याइएको उक्त सडक ४३ किमी सडक स्तरोन्नति भएको हो ।

सडक अहिले मुस्ताङ र डोल्पाको सीमानजिक पुगेको छ । मन्त्रालयले गण्डकी प्रदेशका मनाङ र मुस्ताङ तथा कर्णाली प्रदेशको डोल्पा र मुगु गरी ४ जिल्ला जोड्ने गरी चालु आर्थिक वर्ष २०७६/०७७ मा मुस्ताङको एक्लेभट्टीबाट डोल्पाको सीमाना याकखर्कसम्म ५ प्याकेजमा सडक स्तरोन्नति अघि बढाएको थियो । उपल्लो डोल्पा र मुस्ताङको सीमाना सम्म ११ मिटर चौडा सडक विस्तारका लागि सरकारले ११ करोड बजेट उपलब्ध गराएको थियो ।

Advertisement

मुस्ताङ र डोल्पासम्म सडक सञ्जाल जोड्नका लागि सुरुआती प्याकेज १ र २ को सडक स्तरोन्नतिको जिम्मा महादेव निर्माण सेवा, प्याकेज ३ र ४ को सडक स्तरोन्नतिको जिम्मा अमित बिल्डर्सले लिएका थिए । यस्तै, मुस्ताङ र डोल्पाको अन्तिम बस्ती साङ्तादेखि याक खर्क सीमानासम्म पुग्ने ९ किमी नयाँ ट्याक खोली सडक विस्तार गर्ने जिम्मा राधाकृष्ण एन्ड ब्रदर्स कन्ट्रक्सनले लिएको थियो ।

डोल्पा मुस्ताङ सडकका लागि ३ निर्माण कम्पनीले ५ प्याकेजमा सडकको काम गरेका थिए । जस अन्र्तगत पहिलो फेजको १ र २ प्याकेज १४ किमी सडकको २ करोड, दोस्रो फेजको ३ र ४ प्याकेज १७ किमी सडकको २ करोड, तेस्रो फेजको ५ औं प्याकेज ९ किमी साङ्तादेखि नयाँ ट्याक ओपनसहितको सडक विस्तारमा ७ करोड बजेट थियो ।

कोरोना कहर तथा लकडाउनको अवस्थामा समेत मुस्ताङ—डोल्पा सडक विस्तारको काम रोकिएको थिएन । सडक डिभिजन कार्यालय बाग्लुङका सबइन्जिनियर सगुनकुमार सार्कीले गत वर्ष विनियोजित ११ करोड बजेटमा ५ प्याकेजको सडक विस्तार पूरा भएको बताए । उनले ३ निर्माण कम्पनीले ४३ किमी सडक निर्माण गरी कार्यालयलाई हस्तान्तरण भइसकेको जानकारी दिए ।

निकै जोखिमयुक्त मुस्ताङ डोल्पा सडक समुन्द्री सतहदेखि ४ हजार ५ सय मिटर उचाईबाट सडक स्तरोन्नति गरिएको सार्कीले उल्लेख गरे ।

नेपालको उत्तरी हिमाली क्षेत्र र पश्चिम नेपालका विभिन्न जिल्लालाई सडक कनेक्टिभिटीले महत्वपूर्ण मानिएको मुस्ताङ डोल्पा सडकको थप नयाँ ट्याक खोल्न चालु वर्ष भौतिक पूर्वाधार मन्त्रालयले बजेट बिनियोजन नगरेको सबइन्जिनियर सार्कीको भनाइ छ । ‘सीमानासम्म सडक पु¥याउन अब केही किमीमात्र बाँकी छ,’ उनले भने ‘बजेट बिनियोजन नभएकाले काम भएको छैन ।’

मुस्ताङ डोल्पा सडक निर्माणको काम पूरा भएमा उत्तरी डोल्पाको हिमाली क्षेत्रका बासिन्दालाई मुस्ताङबाट खाद्यान्न तथा मालसामान ढुवानी गर्न सहज हुनेछ ।

यसअघि उपल्लो डोल्पाका स्थानीयलाई मुस्ताङ आउजाउ गर्न हप्तौ दिन लाग्ने गरेकोमा सडकको काम पूरा भई यातायात सञ्चालनमा आए एकै दिन मुस्ताङ आउन र जान सक्ने छन् ।

सडक नहुँदा उपल्लो डोल्पाका बासिन्दाले याकचौरी र घोडा, खच्चडको सहयोगमा हप्तौ लगाएर मालसामान ढुवानी गर्नुपर्न बाध्यता छ ।

तपाईको प्रतिक्रिया